
ह्यारिसबर्ग, पेन्सिलभेनिया—समुदायभित्र आपसी सहकार्य, सांस्कृतिक एकता र मानसिक स्वास्थ्यसम्बन्धी सहयोगी वातावरण निर्माण गर्ने उद्देश्यका साथ बुद्ध खारी फाउन्डेशनले आइतबार ग्रेटर ह्यारिसबर्ग क्षेत्रमा भव्य धन्यवाद–भोज तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। फाउन्डेशनले यसपटक नौ संस्थालाई निमन्त्रणा गरेको थियो भने तीमध्ये छ संस्थाका प्रतिनिधिहरू प्रत्यक्ष उपस्थित भई सम्मानपत्र ग्रहण गरेका थिए। समारोहले धार्मिक र सांस्कृतिक संस्थाहरूले समुदायका मानिसहरूलाई एकआपसमा जोड्दै उनीहरूको मानसिक स्वास्थ्य संरक्षणमा पुर्याउँदै आएको योगदानलाई कदर गर्ने अवसर प्रदान गर्यो।

फाउन्डेशनका अध्यक्ष टीका दुंगानाले संस्थाहरूले समुदायमा सकारात्मक वातावरण निर्माण गर्दै मानिसहरूलाई तनावबाट जोगाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउँदै उनीहरूको त्यही समर्पण र सेवाभावको सम्मानस्वरूप प्रशंसा–पत्र प्रदान गरिएको स्पष्ट पारे। उनले ह्यारिसबर्गमा यस्तो कार्यक्रम पहिलोपटक औपचारिक रूपमा आयोजना गरिएको उल्लेख गर्दै यो पहल भविष्यमा अझ फराकिलो स्वीकृति र सहकार्यको आधार बन्ने विश्वास व्यक्त गरे।

समारोहमा स्वाटारा टाउनसिपका कमिश्नर टम कोनली तथा लोवरप्याक्सटन टाउनसिपकी सुपरभाइजर–इलेक्ट म्याडम क्यटीको उपस्थितिले कार्यक्रमलाई थप महत्व दिएको थियो। साथै विभिन्न धार्मिक र सांस्कृतिक संस्थाबाट आएका प्रतिनिधिहरूले आफ्नो संस्थाले समुदायका लागि गरिरहेको सामाजिक, सांस्कृतिक र धार्मिक योगदानबारे संक्षिप्त धारणा राख्दै फाउन्डेशनले गरेको सम्मानप्रति आभार प्रकट गरे।

हिन्दु रिलिजन एण्ड कल्चर (OHRC) का अध्यक्ष प्रेम खनाल, ग्लोबल भूटानी हिन्दु अर्गनाइजेशन (GBHO) का अध्यक्ष नारद अधिकारी, श्रीवैष्णव परिषद् ह्यारिसबर्गका उपाध्यक्ष नेत्र भण्डारी, गुरुङ कम्युनिटी इन ह्यारिसबर्गका अध्यक्ष रेजिन गुरुङ, युनिभर्सल मानव धर्मका प्रतिनिधि निक्की गुरुङ र भूटानीज बुद्धिष्ट अर्गनाइजेशनका प्रतिनिधि दोर्जी तामाङलगायतका उपस्थित प्रतिनिधिहरूले आफ्नो संस्थालाई प्रदान गरिएको सम्मानपत्र ग्रहण गरेका थिए। उपस्थित हुन नसकेका भूटानी कम्युनिटी इन ह्यारिसबर्ग (BCH), किरात अर्गनाइजेशन र इमानियोल नेपाली चर्चलाई फाउन्डेशनले अर्को उपयुक्त अवसरमा सम्मानपत्र हस्तान्तरण गर्ने जनाएको छ।
यसै अवसरमा फाउन्डेशनले आफ्नै स्वयंसेवकहरूलाई पनि विशेष रूपमा सम्मान गरेको थियो। फाउन्डेशनका अनुसार स्वयंसेवकहरूको निस्वार्थ सेवा, समय र समर्पणले संस्थाको गतिविधि सञ्चालनमा मुलाधारको भूमिका खेलेको छ। धन्यवाद–भोज तथा सम्मान कार्यक्रममा सहभागी समुदाय, स्वयंसेवक र प्रतिनिधिहरूले एकआपसमा विचार आदानप्रदान गर्दै आगामी वर्षमा अझ सुनियोजित कार्यक्रमहरू मार्फत समुदायको मानसिक, सामाजिक र सांस्कृतिक उत्थानमा सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमको समापनमा फाउन्डेशनका अध्यक्ष टीका दुंगानाले ह्यारिसबर्ग क्षेत्रका सबै धर्म, संस्कृति र संगठनबीच एकता, सद्भाव र सहयोगको भावना अझ मजबूत बन्ने आशा व्यक्त गर्दै समुदायको उज्ज्वल भविष्यका लागि फाउन्डेशन निरन्तर सक्रिय रहने स्पष्ट पारे।

303 पटक हेरिएको 

