कार्यवाहक राजदूत आरणले भने– नेपाली मूलका व्यक्तिहरुलाई नेपालले पहिचान दिनुपर्छ

न्यूयोर्क । अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरदराज आरणले संसारभर छरिएका नेपाली मूलका व्यक्तिहरुलाई नेपालले नेपालीको परिचय दिनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ। अमेरिकाको पेन्सिलभेनिया राज्यको कार्लाइल शहरमा शनिबार साँझ आयोजित एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) को राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै राजदूत आरणले नेपाली जातिले नेपालको निर्माण र समृद्धिमा ठूलो योगदान दिन सक्ने बताउँदै त्यसका लागि नेपालले आफ्ना मूल र सन्तानको पहिचान सुनिश्चित गर्न जरुरी रहेको धारणा राख्नुभयो।

कार्यक्रममा एएनओका केन्द्रीय अध्यक्ष डिल्ली अधिकारीले नेपाल सरकारसँग आफ्ना सन्तान र पुस्तौँअघि नेपालबाट बाहिरिएका नेपाली मूलका व्यक्तिहरुलाई नेपाली प्रतिनिधिको रूपमा औपचारिक पहिचान दिनुपर्ने आग्रह गर्नुभएको थियो। उहाँले विदेशी भएर होइन, नेपालकै सन्तान भएर नेपालको विकासमा योगदान दिन चाहने नेपाली मूलका मानिसहरूलाई सरकारले चिन्नुपर्ने आवश्यकता औंल्याउनुभयो। अध्यक्ष अधिकारीको भनाइपछि राजदूत आरणले अमेरिकामा रहेका नेपाली मूलका समुदायहरूको मागलाई नेपाल सरकारसम्म पुर्याउने र यस विषयमा राजदूतावासले छलफल गर्न तयार रहेको जानकारी दिनुभयो।

कार्यक्रममा ओहायो राज्यका लागि नेपालका अवैतनिक वाणिज्यदूत तथा एएनओका केन्द्रीय सचिवालय सदस्य डा. दामोदर पौडेलले एएनओको अभियानले नेपाली मूलका मानिसहरूलाई नेपालसँग जोड्ने कार्यलाई तीव्रता दिएको बताउनुभयो। त्यस्तै एएनओ बोर्ड अफ ट्रष्टी सदस्य ओमराज गुरुङले आफूहरूले नेपाली भूमिमै शरणार्थी जीवन बिताउँदा पनि नेपाली पन, संस्कार र संस्कृतिको पुस्तान्तरण गर्दै आएको उल्लेख गर्नुभयो।

एएनओका महासचिव चूडामणि भट्टराईले डा. भुवन गौतमको अध्यक्षतामा २१ सदस्यीय अमेरिकी राष्ट्रिय समिति गठन भएको घोषणा गर्नुभयो। नवगठित समितिमा उपाध्यक्षमा डा. सन्जु महतो, सचिवमा विवेक पौडेल, सहसचिवमा चन्द्र पराजुली, कोषाध्यक्षमा तृष्णा चिमोरिया, सहायक कोषाध्यक्षमा सब्या विष्ट र प्रवक्तामा केशब आचार्य रहेका छन्। समितिका सदस्यहरूमा सुवोध घिमिरे, पुनम दुलाल, रनसिंह मगर, गण्डकी पुत्र, दीपकजंग विश्वकर्मा, डा. जोन मगर, डा. ऋषि बस्ताकोटी, गंगा बस्नेत, युवकरत्न तुलाधर, राम श्रेष्ठ, श्रृष्टि राई, मनोज जोशी, टीबी गुरुङ र निशा गुरुङ रहेका छन्।

त्यसैगरी नेशनल डेलिगेट कमिटीमा उपेन्द्र लुईटेल, रुपेश उप्रेती, केशब पौडेल, मेलिना मोक्तान, मन न्यौपाने, मुस्कान बालाम्पाकी मगर, तमन्ना गुरुङ, विकास घले, नबीन भट्टराई, अभिशेष थापा, रेनु न्यौपाने, माधव पोख्रेल, लक्ष्मी संग्रौला र घनश्याम रसाइली चयन भएका छन्।

नवनिर्वाचित अध्यक्ष डा. भुवन गौतमले संगैका साथीहरू गैरआवासीय नेपाली भएर नेपाल जान पाउने तर आफू विदेशी भएर भिसा लिएर जानुपर्ने बाध्यता रहेको बताउँदै नेपाली मूलका व्यक्तिहरूलाई नेपालसँग औपचारिक रूपमा जोड्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

कार्यक्रममा इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशनका विद्यार्थीहरूले नेपाली संस्कृति झल्कने गायन र नृत्य प्रस्तुति दिएका थिए। सो अवसरमा स्थानीय नेपालीहरूको ठूलो उपस्थिति रहेको थियो। साथै स्वतारा टाउनसिपकी नवनिर्वाचित कमिस्नर नेपाली मूलकी विनिता पुरी राईलाई सम्मान गरिएको थियो। कार्यक्रममा सहभागीहरूले नेपाली मूलका मानिसहरूको पहिचान गरी उनीहरूलाई परिचयपत्र उपलब्ध गराउने मागसहितको स्मरणपत्र कार्यवाहक राजदूत आरणलाई हस्तान्तरण गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार