
मोरङ — झापा र मोरङमा रहेका भुटानी शरणार्थीहरूको समस्याहरू समाधानका लागि पथरी शनिश्चरे शिविरका सचिव करण राई काठमाडौं प्रस्थान गर्नुभएको छ।
हाल भुटानी शरणार्थीहरू कानुनी रूपमा लगाइएका अनावश्यक प्रतिबन्धहरू — जस्तै वडा कार्यालयमा विवाह दर्ता, जन्म दर्ता, र दैनिक जीवनका अन्य प्रशासनिक प्रक्रिया — का कारण निकै कठिनाइमा परिरहेका छन्। यी समस्याहरूको समाधानका लागि राई प्रत्यक्ष पीडितहरूलाई समेत साथ लिएर दोस्रो पटक काठमाडौं प्रस्थान गर्नुभएको हो।
नक्कली भुटानी शरणार्थी प्रकरणपछि करिब ६ हजार ५ सय वास्तविक शरणार्थीहरू बिना कारण प्रशासनिक समस्यामा परेका छन्।
काठमाडौं यात्राका क्रममा सचिव राईले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेट गरी आफ्नो गृह जिल्लाका शरणार्थीहरूको वर्तमान अवस्था र भोगाइबारे जानकारी गराउँदै, समस्या समाधानका लागि आवश्यक पहल गर्न अनुरोध गर्नुभएको छ।
भेटका क्रममा अध्यक्ष लिङ्देनले आफू उक्त विषयमा अवगत रहेको बताउँदै, सांस्कृतिक, सामाजिक र जातीय दृष्टिले नेपाली मूलका शरणार्थीहरूलाई नागरिकता दिएर भए पनि दीर्घकालीन समाधान गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
उहाँले थप्दै भन्नुभयो, “नेपाली जातिलाई अमेरिका, अष्ट्रेलिया लगायतका देशहरूले पनि नागरिकता दिइरहेका छन्, त्यसैले नेपालले पनि नागरिकता प्रदान गर्दा कुनै आपत्ति नहुने हो,” भन्दै तत्काल समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो।

987 पटक हेरिएको 

