
कुयाहोगा फल्स, ओहायो — नोभेम्बर १, २०२५:
ओहायोमा पहिलोपटक ‘सनसाइन टेक्वान्डो ओपन टुर्नामेन्ट २०२५’ आयोजना हुँदैछ, जसको मुख्य आयोजना सनसाइन केयर फाउण्डेशनले गरेको हो । यो प्रतियोगिता सनसाइन टेक्वान्डो एकेडेमीको सहआयोजनामा हुने भएको छ । खेलकुद मार्फत युवामा अनुशासन, आत्मविश्वास र व्यक्तिगत विकास प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको यो प्रतियोगिता ओहायोको टेक्वान्डो इतिहासमा एक महत्वपूर्ण माइलस्टोनका रूपमा हेरिएको छ ।

प्रतियोगिता नोभेम्बर १, २०२५ मा इमिडियो एन्ड सन्स बैंक्वेट सेन्टर, ४८ ई बाथ रोड, कुयाहोगा फल्स, ओहायो ४४२२३ मा हुनेछ । कार्यक्रम बिहान ८ बजे बाट सुरु हुनेछ । यस प्रतियोगितामा सहभागीहरूले ओलम्पिक शैलीको स्प्यारिङ, WT परम्परागत पूम्से र बोर्ड ब्रेकिङ जस्ता इभेन्टहरूमा प्रतिस्पर्धा गर्ने अवसर पाउने छन् ।

यो प्रतियोगितामा १५ विद्यालयका खेलाडीहरू सहभागी हुँदैछन् र ३०० भन्दा बढी विद्यार्थीहरू विभिन्न विधामा प्रतिस्पर्धा गर्ने छन् । यसले केवल खेलकुद प्रतिस्पर्धा मात्र नभई समुदायमा आपसी सहयोग, मित्रता र खेलभावनाको विकास गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।

सनसाइन केयर फाउण्डेशन एक गैर–नाफामूलक ५०१(c)(3) संस्था हो, जसले खेलकुद र शिक्षामार्फत युवाहरूको सशक्तिकरणका लागि निरन्तर काम गर्दै आएको छ । संस्थाको नेतृत्वमा कौशिला खनाल (अध्यक्ष), सोम आचार्य (सचिव), आर.बी. खड्का (कोषाध्यक्ष) रहेका छन् भने सरिता बस्नेत, बिष्णु भुजेल, बिनोद गुरुङ र मधु कर्माचार्य बोर्ड सदस्यका रूपमा संलग्न छन् ।

कार्यक्रमले ओहायो तथा वरपरका तेक्वान्डो खेलाडी, परिवार र खेलप्रेमीहरूलाई एकै स्थानमा ल्याउने अवसर प्रदान गर्नेछ । आयोजकहरूले यो प्रतियोगिताबाट समुदायमा एकता, अनुशासन र खेलप्रतिको लगाव अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन् ।

थप जानकारीका लागि इच्छुक व्यक्तिहरूले आयोजकहरूलाई ६०२–२४५–३४०३, ६१४–६४१–५१२०, ६१४–२६४–४५९२ वा ४८०–३७६–६३७८ मा सम्पर्क गर्न सक्नेछन् ।

छिटो दर्ता शुल्क प्रति इभेन्ट ८० डलर तोकिएको छ भने थप इभेन्टका लागि १० डलर अतिरिक्त लाग्नेछ । प्रशिक्षक, रेफ्री र प्रतियोगीहरूले फाउण्डेशनको वेबसाइट
https://usasunshinecarefoundation.org/register मार्फत दर्ता गर्न सक्नेछन् ।


207 पटक हेरिएको 

