
ह्यारिसबर्ग, अक्टोबर २९ — ह्यारिसबर्गस्थित भूटानी समुदाय (BCH) का अध्यक्षले अमेरिकन रेडक्रसको टोलीसँग आज बिहान फलदायी बैठक गरेका छन्। BCH ले आफ्नो फेसबुक पेजमार्फत जानकारी दिँदै भनिएको छ, “आज बिहान अमेरिकन रेडक्रसको टोलीसँग एक अत्यन्तै उत्पादक बैठक भयो। बैठकमा विपद् व्यवस्थापन, आगलागी तथा अन्य आकस्मिक घटनाबाट प्रभावित परिवारहरूलाई तुरुन्त सहयोग पुर्याउने उपाय, र समुदायको सहनशीलता सुदृढ पार्ने तयारी रणनीतिहरू बारेमा विस्तृत छलफल भयो।”
बैठकमा अन्तर्राष्ट्रिय रेडक्रस समिति (ICRC) को भूमिकाबारे पनि चर्चा भयो, जसले सीमापारि छुट्टिएका परिवारहरूलाई पुनर्मिलन गराउने, तथा विदेशमा कैदमा परेकाहरूलाई सहयोग गर्ने काम गर्दै आएको छ।
त्यस्तै, निर्वासन र नागरिकता विहीन अवस्थाबाट पीडित परिवारहरूले सामना गरिरहेका मानवीय चुनौतीहरू तथा त्यसमा कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा पनि विचार–विमर्श गरिएको अध्यक्षले जानकारी दिएका छन्।
अध्यक्षले अमेरिकन रेडक्रस टोलीप्रति आभार प्रकट गर्दै भनेका छन्, “शरणार्थी शिविरमा रहँदा रेडक्रसले गरेको मानवीय सहयोग कहिल्यै बिर्सन सकिँदैन। रेडक्रसले भूटानी शरणार्थीहरूलाई नेपालका शिविरहरूमा खानेपानी, स्वास्थ्यसेवा, रक्तदान कार्यक्रम, परिवार पुनर्मिलन सेवा तथा आपतकालीन राहत सामग्री उपलब्ध गराउँदै अमूल्य योगदान दिएको थियो। आज पनि उनीहरूको सहकार्य र मानवताप्रतिको प्रतिबद्धता अत्यन्तै प्रेरणादायी छ।”

195 पटक हेरिएको 

