अमेरिका भ्रमणमा कलाकारमाथि असम्मानजनक व्यवहारको आरोप, गायिका एलिना चौहानको असन्तुष्टि

अमेरिका,चर्चित गायिका एलिना चौहानले अमेरिका भ्रमणका क्रममा आयोजकबाट कलाकारमाथि असम्मानजनक व्यवहार भएको भन्दै असन्तुष्टि जनाएकी छिन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले लेखेकी छिन् —

“जस्तो छ, त्यस्तै भन्छु — यो टुर मेरो लागि ठूलो सिकाइ बन्यो। कलाकारलाई सम्मान होइन, नोकरझैँ व्यवहार गरियो। कसैले कैदीझैँ महसुस गर्‍यो, कसैले अपमान सहनु पर्‍यो।”

“आयोजक भनेको कलाकारको संरक्षक हो, मालिक होइन।”

एलिनाको यो टिप्पणी हाल अमेरिकामा सञ्चालन भइरहेको ‘अब गाउँछ अमेरिका’ नामक सांगीतिक कार्यक्रममा लक्षित गरिएको हो।

यसअघि सोही कार्यक्रममा सहभागी अर्की गायिका कला लम्सालले पनि आयोजक विनोद अधिकारीमाथि गम्भीर आरोप लगाएकी थिइन्। उनका अनुसार, अमेरिका भ्रमणका क्रममा बिरामी भएपछि अधिकारीले सहयोग गर्नुको सट्टा दुर्व्यवहार र धम्की दिएका थिए।

लम्सालले उपचारमा ४–५ महिना लाग्ने भएपछि नेपाल फर्किने निर्णय गरेकी थिइन्। तर, बिरामी अवस्थामै आफूलाई ह्वीलचेयरमा राखेर पठाइएको र बिजनेस क्लासको टिकटको अनुरोधसमेत अस्वीकृत गरिएको उनको भनाइ छ।

यसअघि पनि केही हास्य कलाकारहरूले आयोजक अधिकारीले आफूहरूलाई जेलबन्दीझैँ व्यवहार गरेको आरोप सार्वजनिक गरेका थिए।

‘अब गाउँछ अमेरिका’ कार्यक्रममा कलाकारहरू कला लम्साल, बद्री पंगेनी, प्रताप दास र एलिना चौहान सहभागी भएका थिए।

कलाकारहरूले सार्वजनिक रूपमा व्यक्त गरेको असन्तुष्टिले विदेशी कार्यक्रममा कलाकारप्रतिको व्यवहारबारे गम्भीर प्रश्न उठाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार