
रेनोल्ड्सबर्ग, ओहायो — समुदायका शिक्षाविद् र सामाजिक व्यक्तित्व कमल सुबेदीले आउँदो सन् २०२५ नोभेम्बरमा हुने निर्वाचनमा रेनोल्ड्सबर्ग सिटी काउन्सिल (At-Large Seat) का लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

सन् २०१४ देखि रेनोल्ड्सबर्गमा बस्दै आएका सुबेदीले विविध समुदायको सेवा गर्ने गहिरो प्रतिबद्धतासहित राजनीतिक यात्राको सुरुवात गरेका हुन्। उनका अनुसार, सहरको दिगो विकास, पारदर्शी शासन र नागरिक सहभागिता सुनिश्चित गर्नु नै उनको मुख्य लक्ष्य हो।

पेशाले भौतिकशास्त्र र खगोलशास्त्रका व्याख्याता रहेका कमल सुबेदी हाल कोलम्बस स्टेट कम्युनिटी कलेजमा कार्यरत छन्। यसअघि उनले GE Appliances, Bowling Green State University, र Catholic Charities जस्ता संस्थाहरूसँग काम गरेका थिए। यी अनुभवहरूले उनलाई समुदाय सेवा, शिक्षा र सामाजिक आवश्यकताहरू बुझ्न गहिरो दृष्टिकोण प्रदान गरेको उनको भनाइ छ।

उनको अभियानले रेनोल्ड्सबर्गलाई एकता, समानता र विकासको मार्गमा अघि बढाउने लक्ष्य राखेको छ। सुबेदीका अनुसार, सहरमा बसोबास गर्ने हरेक समुदायका आवाजहरूलाई समान महत्व दिई स्थानीय शासनलाई अझ नजिक र जिम्मेवार बनाउने समय आएको छ।

उनले सार्वजनिक सेवाहरू सुदृढ बनाउने, पूर्वाधारमा लगानी बढाउने, साना व्यवसायलाई प्रोत्साहन दिने र सबै वर्गका नागरिकका लागि समान अवसर सुनिश्चित गर्ने वाचा गरेका छन्। साथै, उनले सरकार र जनताबीचको विश्वासलाई पुनःस्थापित गर्दै नागरिक सहभागिता र जवाफदेहितामा आधारित शासन प्रणाली निर्माण गर्ने दृष्टि प्रस्तुत गरेका छन्।

स्थानीय राजनीतिक वृतमा उनको उम्मेदवारीले उत्साह ल्याएको छ। रेनोल्ड्सबर्ग रिपब्लिकन पार्टीले उनको समर्थनमा विशेष निधि संकलन कार्यक्रम आयोजना गरी समर्थन जनाइसकेको छ। उनका समर्थकहरू उनी शिक्षित, इमानदार र समुदायप्रति समर्पित नेताको रूपमा सहरका लागि प्रभावकारी नेतृत्व साबित हुने विश्वास व्यक्त गर्छन्।

आगामी दिनहरूमा सुबेदीले घरदैलो कार्यक्रम, सार्वजनिक अन्तर्क्रिया र सामुदायिक छलफलमार्फत नागरिकहरूसँग प्रत्यक्ष संवाद गर्ने तयारी गरिरहेका छन्।

यदि विजयी भए, उनले आफ्नो शैक्षिक अनुभव र नागरिक दृष्टिकोणलाई प्रयोग गर्दै रेनोल्ड्सबर्ग सहरलाई पारदर्शी, समावेशी र दिगो विकासको नमूना सहर बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।सहभागिता, पारदर्शिता र उत्तरदायित्वमा आधारित नेतृत्वका लागि, अबको विकल्प कमल सुबेदी।


582 पटक हेरिएको 

