शिविर देखि अमेरिका सम्मको सजीत तामाङको खेल यात्रा: कराँतेदेखि ‘गुर्खा कम्ब्याट स्पोर्ट्स’सम्म

कोलम्बस — मोरङको पथरी शनिश्चरे भुटानी शरणार्थी शिविरबाट खेल जीवन प्रारम्भ गरेका सजीत तामाङले कराँते र किकबक्सिङको माध्यमबाट नेपालको शरणार्थी शिविरदेखि अमेरिकासम्मको प्रेरणादायी खेल यात्रा तय गरेका छन्।

सजीतले सन् १९९६ मा कराँते सिक्न सुरु गरे र शरणार्थी शिविरमै तालिम लिँदै नेपाल र भारतका विभिन्न प्रतियोगितामा सहभागिता जनाए। सन् १९९८ मा किकबक्सिङ सुरु गरेका उनले नेपाल र भारतमा आयोजित अन्तर्राष्ट्रिय कराँते तथा किकबक्सिङ प्रतियोगितामा १२ वटा स्वर्ण पदक जिते। अन्तर्राष्ट्रिय इनभिटेशन कराँते तथा किकबक्सिङ प्रतियोगितामा पहिलो स्थान हासिल गरेका उनले मात्र १७ वर्षको उमेरमा नै पथरी शरणार्थी शिविरमा कराँते कक्षा सञ्चालन गर्दै ८० जना विद्यार्थीलाई प्रशिक्षण दिएका थिए।

सन् २०१२ मा अमेरिका पुगेपछि उनले २०१७ मा साउथ डाकोटा, सिउक्स फल्समा कराँते र किकबक्सिङ कक्षा सुरु गरे। सोही वर्ष साउथ क्यारोलिनामा भएको अमेरिकी राष्ट्रिय खेल प्रतियोगितामा उनका चार विद्यार्थीले सहभागिता जनाए, जसमा पहिलो पटक नेपाली समुदायका कराँते खेलाडीले राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गरेका थिए।

उनको पहिलो किकबक्सिङ फाइट २०१७ मा आयोवामा भयो। त्यसयता उनले केज फाइट गर्दै निरन्तर प्रतिस्पर्धा गरिरहेका छन्। २०२१ मा अमेरिकी राष्ट्रिय किकबक्सिङ प्रतियोगितामा समेत भाग लिएका उनले अहिलेसम्म रिङ र केज गरी १५ वटा फाइट पूरा गरिसकेका छन्।

हाल उनी कोलम्बसमा गुर्खा कम्ब्याट स्पोर्ट्स फाइट प्रोमोशन सञ्चालन गर्दै २०२३ मा बक्सिङ र मुवाथाई रिङ फाइटको आयोजना गरिसकेका छन्। उनको टोलीले मुवाथाई र किकबक्सिङ प्रतियोगितामा समेत सहभागिता जनाएको छ।

सजीत हाल बक्सिङ, मुवाथाई र किकबक्सिङ प्रशिक्षण दिँदै आएका छन्। उनको योजना नेपाली समुदायका युवालाई कम्ब्याट खेल प्रशिक्षणमार्फत तन्दुरुस्त जीवनशैली अपनाउन प्रेरित गर्ने र समुदायलाई स्वस्थ र सकारात्मक बाटोमा अघि बढाउन योगदान गर्ने रहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार