लुइभेलमा सम्पन्न बीएसके च्याम्पियन्स कप–२०२५: राइजिङ स्टार र बेलडाँगी–१ विजयी

लुइभेल, केन्टकी

भूटानी समाज केन्टुकीद्वारा आयोजित बहुप्रतीक्षित बीएसके च्याम्पियन्स कप–२०२५ आज लुइभेलमा भव्य रूपमा सम्पन्न भएको छ। अगस्ट १ देखि तीन दिनसम्म चलेको यस प्रतियोगिताले युवा तथा वयस्क वर्गका खेलाडीहरूलाई अन्तरराज्यीय / पूर्व–शिविर स्तरीय प्रतिस्पर्धा गर्ने उत्कृष्ट अवसर प्रदान गर्‍यो।

युवा समूहको फाइनल खेलमा लुइभेल राइजिङ स्टार ले सिनसिनाटी साम्बालाई १–० गोलले पराजित गर्दै उपाधि जित्न सफल भयो। वयस्क (३० वर्षमाथिको) समूहमा बेलडाँगी–१ ले खुदुनाबारीलाई २–० ले पराजित गर्दै च्याम्पियनको उपाधि हात पार्‍यो।

ट्रफीसहित युवा समूहतर्फ विजेतालाई $१०,००० र उपविजेतालाई $५,०००, वयस्क समूह (अन्तर–शिविर) तर्फ विजेतालाई $७,००० र उपविजेतालाई $४,००० नगद पुरस्कार प्रदान गरिएको थियो।

प्रतियोगितामा युवातर्फ १० टिम र वयस्कतर्फ ८ टिमले सहभागिता जनाएका थिए। लिग चरण र नक–आउट चरण पार गर्दै फाइनलसम्म पुगेका टिमहरूबीचका खेलहरू अत्यन्त रोमाञ्चक र दर्शनीय रहे।

उद्घाटन सत्रमा लुइभेल नगरका मेयर ग्रेग ग्रीन्बर्ग ले उपस्थिति जनाउँदै यस किसिमका प्रतियोगिताले समुदायमा सकारात्मक ऊर्जा थप्ने विश्वास व्यक्त गरे। केन्टुकी राज्यका सांसद डेनियल ग्रस्बर्ग ले दोस्रो दिनको खेलमा सहभागी भई खेलाडीहरूलाई हौसला प्रदान गरे र आगामी दिनमा सहयोग गर्ने वचनसमेत दिए।

कार्यक्रमका आयोजक तथा भूटानी समाज केन्टुकीका अध्यक्ष भीम कोइरालाका अनुसार सम्पूर्ण प्रतियोगिता कुनै चोटपटक वा अप्रिय घटना विना सफल र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भयो। उनले खेलप्रेमी, शुभेच्छुक, आर्थिक सहयोगी तथा केन्टुकीवासी सम्पूर्ण समुदायप्रति आभार व्यक्त गरे।

स्वयंसेवक र संयोजकहरूलाई विशेष धन्यवाद दिँदै अध्यक्ष कोइरालाले टेक आचार्य, लीला मिश्र, बुद्ध सुवेदी, मित्र सुवेदी, प्रज्वल पौड्याल, पदम पौडेल, साथै बीएसके बोर्डका निर्देशकहरू जमुना खरेल (पौड्याल), शिव दाहाल, इन्द्र क्षेत्री, बम घिसिङ, शुभम तामाङ, कपिल खरेल, टोम न्यौपाने, भरत फुयल र खेल संयोजनकर्ता अमृत रेग्मी प्रति विशेष आभार व्यक्त गरे।

समापन समारोहमा, दुई टिमको फाइनलसँगै कोलम्बस र लुइभेल महिला टिमबीच मैत्रीपूर्ण खेल पनि आयोजना गरिएको थियो, जसमा लुइभेल महिला टिम विजयी हुँदै ट्रफी हात पार्न सफल भयो।

समापन समारोहको सञ्चालन बीएसकेका सचिव शिव दाहाल र पूर्व खेलाडी तथा गोलनेपालका एम्बासडर जितु बस्नेतले गरेका थिए। सो अवसरमा भूटानी समाज केन्टुकीका पूर्वअध्यक्ष जीवन बिष्ट र फ्रिडम हेल्थ सर्भिसेसका प्रतिनिधि श्री टीका अधिकारीले खेलकुदको सामाजिक महत्वमाथि प्रकाश पार्दै भूटानी समाज केन्टुकीद्वारा गरिँदै आएको सामाजिक उत्थानको प्रयासको प्रसंसा गरे।

यति ठूलो खेल आयोजना गरी विभिन्न ठाउँहरूबाट फुटबल टिमहरूको सहभागिता सुनिश्चित गर्दै खेलाडीहरूलाई प्रतिस्पर्धाको अवसर प्रदान गरिएकोमा क्लब तथा खेलाडीहरूले बीएसकेप्रति कृतज्ञता प्रकट गर्दै यस्ता प्रतियोगिता भविष्यमा पनि निरन्तर जारी राख्नुपर्नेमा जोड दिएका थिए।

यस भव्य प्रतियोगिताले खेलाडीहरूलाई अवसर प्रदान गर्नुका साथै दर्शकहरूलाई भरपुर मनोरञ्जन दिएको थियो। खेल केवल भौतिक रूपमा मात्र नभई बीएसकेको आधिकारिक फेसबुक पेज तथा गोलनेपाल मार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो। हजारौँ दर्शकहरू मैदानमा उपस्थित थिए भने करिब २० हजारभन्दा बढी दर्शकहरूले भर्चुअल माध्यमबाट प्रतियोगिता अवलोकन गरेका थिए।

यस खेलकूद महोत्सवले मनोरञ्जनको अतिरिक्त सामाजिक एकता, खेलाडीहरूबीचको पुनर्मिलन गर्नुका साथै नव–पुस्ताका लागि प्रेरणाको स्रोत भएको सहभागीहरूले बताएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार