‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ मार्फत नेपाली संस्कृति विश्वभर चम्किंदै

काठमाडौं — नेपाली गीत–सङ्गीत र नृत्यकलाको सुगन्ध अब विश्वभर फैलिन थालेको छ। संस्कृति तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले नेपाल टेलिभिजनमा प्रशारण भइरहेको रियालिटी शोहरू ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ लाई नेपाली संस्कृतिको दायरा विश्वभर फैलाउने अमूल्य माध्यमको रूपमा प्रशंसा गर्नुभएको छ।

संस्कृति मन्त्रालयको सभा हलमा टप १० प्रतिभाहरूसँग अन्तर्क्रिया गर्दै मन्त्री पाण्डेले यी रियालिटी शोहरू नेपाली पहिचान र पर्यटन प्रवर्द्धनमा सशक्त माध्यम बनेको बताउनुभयो। उहाँले भन्नुभयो, “गीत, सङ्गीत र नृत्यकलाको माध्यमबाट नेपालीपन फैलाउने यस प्रयासले विदेशमा रहेका नेपालीलाई एउटै माला र मनले जोडेको छ।”

मन्त्री पाण्डेले खासगरी थाइल्यान्डमा नेपाली समुदायको प्रतिनिधित्व गर्दै ‘मेरो डान्स युनिभर्स’ सिजन १ की विजेता खुसी कार्की सँगको सम्झनालाई उल्लेख गर्दै इन्ट्रा फाउन्डेसन द्वारा सञ्चालित यो अभियानको खुलेर प्रशंसा गर्नुभयो। “अमेरिकामा बसेका भुटानी नेपालीहरूद्वारा नेपाली संस्कृतिको संरक्षण र प्रवर्द्धनमा यत्रो योगदान हुनु आफैँमा गर्वको विषय हो,” उहाँले भन्नुभयो।

कार्यक्रममा म्यान्मार, कतार, सिक्किम र नेपालका प्रतिभाहरूले आफ्नो मिठास बोकेको प्रस्तुति मार्फत अतिथिहरूको मन जितेका थिए। यसबीच म्यान्मारबाट शोमा सहभागी भएका सातौं पुस्ताका नेपाली अस्मिता न्यौपाने को नेपाल आगमन र सहभागिता विशेष उत्साहको विषय बन्यो।

कार्यकारी निर्देशक चूडामणि भट्टराईका अनुसार, ६० देशका नेपाली प्रतिभालाई एउटै मञ्चमा प्रस्तुत गर्दै नेपाली सांस्कृतिक पहिचानलाई विश्वभर फैलाउने उद्देश्य इन्ट्रा फाउन्डेसनको रहेको छ। “अन्टार्कटिकाबाहेक हरेक महादेशमा हामी पुगेका छौं,” भट्टराईले गर्वका साथ भन्नुभयो।

इन्ट्रा फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीको परिकल्पनामा बनेका यी कार्यक्रमहरू हाल सिजन–२ अन्तर्गत उत्कृष्ट ८ मा प्रवेश गरिसकेका छन्।

यी रियालिटी शोहरूको ग्राण्ड फिनाले आउँदो भदौ ७ गते ललितपुरको गोदावरीमा भव्य रूपमा आयोजना हुने छ। विजेतालाई जनही १–१ करोड, दोस्रो हुनेलाई ३०–३० लाख, तेस्रो हुनेलाई १०–१० लाख, र उत्कृष्ट १० मा पर्ने सबैलाई ३ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने छ।

सांस्कृतिक धरोहरलाई अन्तर्राष्ट्रिय मञ्चमा लैजान खोजिएको यो अद्वितीय प्रयासले नेपाली मौलिकतालाई अझ उच्च बनाउँदै लाने विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार