
लुइभिल, केन्टकी — भुटानी समाज केन्टकी (बी.एस.के.) लुइभिलको फुटबल समुदायसँगको सहकार्यमा ऐतिहासिक फुटबल प्रतियोगिता २०२५ को आयोजना गर्ने घोषणा गरेको छ। अगस्ट १, २ र ३ तारिखमा हुने यो विशेष प्रतियोगिता लुइभिल शहर र सम्पूर्ण भुटानी समुदायका लागि अत्यन्त महत्वपूर्ण र ऐतिहासिक हुने विश्वास भुटानी समाज केन्टकी (BSK) का अध्यक्ष भीम कोइरालाले जानकारी दिनु भएको छ।

“सेफ ड्राइभ, सेभ लाइफ”, “सुरक्षित सवारी चलाऔं, जीवन बचाऔं” भन्ने मूल नाराका साथ आयोजना हुने प्रतियोगिताको उद्देश्य सडक सुरक्षाका सन्देशहरू जनसमुदायमा फैलाउनुका साथै खेलभावना, एकता र समुदायमा सकारात्मक ऊर्जा प्रवाह गर्नु रहेको छ। खेलकुदको माध्यमबाट युवाहरूलाई सक्रिय बनाउने, प्रतिभालाई उजागर गर्ने र खेलप्रतिको लगाव बढाउने यो कार्यक्रमले दीर्घकालीन रूपमा समाजमा सशक्त प्रभाव पार्ने अपेक्षा गरिएको छ।
प्रतियोगिता लुइभिल रेडजिन स्टार र केन्टकी फुटबल क्लबको सहकार्यमा हुनेछ। दुई प्रमुख समूहमा खेल सञ्चालन हुने छ— इन्टर-स्टेट युथ (३० वर्षमुनिका युवा समूह) र इन्टर-क्याम्प एडल्ट ३०+ (३० वर्षभन्दा माथिका वयस्क खेलाडीहरूको समूह रहने छ। इन्टर-स्टेट युथ समूहमा १२ टोलीहरूको सहभागिता रहनेछ भने इन्टर-क्याम्प एडल्ट समूहमा ७ टोली सहभागी हुनेछन्।
इन्टर-स्टेट युथ प्रतियोगितामा सहभागी प्रत्येक राज्यबाट तीन खेलाडीसम्म मात्र समावेश गर्न पाइनेछ, जसले खेललाई प्रतिस्पर्धात्मक र सन्तुलित बनाउने विश्वास आयोजकले लिएको छ। इन्टर-क्याम्प एडल्ट समूह भने अमेरिका भरिका सबै पूर्व भुटानी शरणार्थी क्याम्पबाट आएका खेलाडीहरूका लागि खुला रहनेछ।
विजेता टोलीले १०,००० अमेरिकी डलर बराबरको नगद पुरस्कार, ट्रफी र पदक प्राप्त गर्नेछन् भने उपविजेता टोलीले ५,००० अमेरिकी डलर बराबरको नगद पुरस्कार, ट्रफी र पदक प्राप्त गर्नेछन्। प्रतियोगिता लिग-कम-नकआउट प्रणालीमा संचालन हुनेछ, जसले दर्शकहरूलाई रोमाञ्चक खेलको अनुभव दिनेछ। नकआउट चरणपछि विशेष पुरस्कार वितरण कार्यक्रम पनि हुनेछ, जसमा उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र गोलकर्तालाई विशेष सम्मान प्रदान गरिनेछ।
समापन समारोहमा लुइभिल महानगरका प्रतिनिधिहरू, भुटानी समाज केन्टकीका अध्यक्ष तथा पदाधिकारीहरू, रेडजिन स्टार र केन्टकी फुटबल क्लबका प्रतिनिधिहरू, पूर्व विशिष्ट खेलाडीहरू र समुदायका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहनेछ। आयोजकले यो प्रतियोगिता खेलकुदमा युवाहरूको सक्रियता बढाउने, उज्वल भविष्य निर्माणमा प्रेरणा दिने र समाजमा आपसी सद्भाव तथा भाईचाराको सम्बन्ध थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।फुटबल प्रतियोगिताको लागि खेल तालिका (Fixture-out) भने यहि आगामी जुलाई २७, आइतबार राति ९:०० बजे हुने भएको छ।
लुइभिल तथा अन्य शहरमा बसोबास गर्ने सम्पूर्ण भुटानी समुदायका सदस्यहरू, खेलप्रेमीहरू र शुभेच्छुकहरूलाई यो ऐतिहासिक अवसरमा सहभागी भई, खेलको रमाइलो अनुभूति लिन, आफ्नो समुदायको साथ र समर्थन देखाउन आयोजकले हार्दिक आमन्त्रण गरेको छ।