बालखैमा दिल बस्यो गौथलीको अभूतपूर्व सफलतापछि यसको दोस्रो श्रृंखला ‘बालखैमा दिल बस्यो गौथली २’ सार्वजनिक गरिएको छ। पहिलो भागलाई ६ करोडभन्दा बढी पटक हेरिएको जनाउँदै निर्माण टोलीले दर्शकको माया र मागअनुसार भाग २ बजारमा ल्याएको हो।
यसपटक पनि गीतमा बालगायक निश्चल अधिकारीको मन छुने स्वर, दीपक शर्माको शब्द तथा संगीत सृजना रहेको छ। गीतको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ नरेन्द्र वियोगीले गरेका हुन्। भिडियोमा बालकलाकार आलोक चौरेली र आयुषा ढकालको आकर्षक अभिनय देख्न सकिन्छ।
लोकप्रिय युवा निर्देशक प्रहील कार्कीले निर्देशन गरेको भिडियोमा दुर–दराजको गाउँबाट उज्ज्वल भविष्यको खोजीमा शहर पसेको एक बालकले भोग्नुपरेको कठोर र चुनौतीपूर्ण यथार्थ प्रस्तुत गरिएको छ। सोही क्रममा आयुषीले आलोकलाई सहजीकरण गर्दै स्कुलसम्म पुर्याइदिने संवेदनशील कथा कलात्मक रुपमा उतारिएको छ। भिडियोले नेपाली समाजमा व्याप्त बाल–परिस्थितिका मुद्दालाई सरल तर शक्तिशाली ढंगले उजागर गरेको छ।
संगीतकार दीपक शर्माले यो गीत आफ्ना पछिल्ला सृजनामध्ये आशा र सामाजिक सन्देश बोकेको महत्वपूर्ण काम बनेको बताए। निश्चल अधिकारीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा काठमाडौँका विभिन्न स्थानमा छायांकन गरिएको छ। छायांकन राजेश घिमिरे र योगेन थापाले गरेका छन् भने सम्पादन माधव वेल्वासेले गरेका छन्।

154 पटक हेरिएको 

