
ह्यारिसबर्ग, मे २६ — ह्यारिसबर्ग भुटानी समुदायले एक आफ्नै सदस्य बेपत्ता भएको भन्दै खोजीका लागि सार्वजनिक अपिल गरेको छ। समुदायद्वारा आज प्रकाशित गरिएको प्रेस विज्ञप्तिअनुसार, रोहित बराल नामका एक भुटानी युवा गत शुक्रबार, मे १६ तारिख दिउँसो ४ बजे तिर ओहायोको क्लिभल्यान्डस्थित मिडलबर्ग हाइट्समा रहेको आफ्नै दिदीको घरबाट बेपत्ता भएका हुन्।

उनको गाडी उक्त घर नजिकै फेला परेको छ, जहाँ उनका व्यक्तिगत सामान र नियमित रूपमा प्रयोग हुने औषधिहरू समेत भेटिएको जनाइएको छ।
३८ वर्षीय बराल भुटानको सुरेमा जन्मिएका हुन्। उनी १८ वर्षसम्म झापाको गोल्धाप शरणार्थी शिविरमा बसेपछि अमेरिका पुनर्स्थापना भएका थिए। हाल उनी अमेरिकामा स्थायी बसोबास गरिरहेका थिए।
समुदायका अनुसार रोहित बरालका परिवारजन ल्यानकास्टर, पेन्सिल्भेनियामा बसोबास गर्दै आएका छन्।
समुदायले सबैलाई रोहित बरालको खोजीमा सहयोग गर्न आग्रह गर्दै, यदि कसैसँग उनीसम्बन्धी कुनै जानकारी भएमा इच्छाअधिकारीलाई २१६–२३३–७९३८ वा इन्दु बराललाई २१६–९७२–७६६० मा तुरुन्त सम्पर्क गर्न अनुरोध गरेको छ।

4011 पटक हेरिएको 

