ह्यारिसबर्ग, पेन्सिल्भेनिया – पछिल्लो पटक अवैध आप्रवासीलाई देश निकाला गर्ने ट्रम्प सरकारको नीतिको असर नेपालीभाषी पुर्व भुटानी शरणार्थीमा पनि देखिन थालेको छ । केही दिन यता ८ पुर्व भुटानी शरणार्थीलाई
आप्रवासन तथा भन्सार प्रवर्तन (आईस) ले पक्राउसँगै यो कुरा पुष्टि भएको छ ।
प्राप्त जानकारी अनुसार, पेन्सिल्भेनिया ह्यारिसबर्गमा ६ जना, ओहायो एक्रोनमा १ जना र ओहायो सिनसिनाटीमा १ जना गरी जम्मा ८ जना भुटानी मुलका आप्रवासीहरूलाई आईसले पक्राउ गरेको छ । पक्राउ परेकाहरूलाई डिटेन्सन सेन्टरमा राखेको जानकारी प्राप्त भएको छ ।
सम्बन्धित अधिकारकर्मीहरूका अनुसार, पक्राउ परेकाहरुलाई अमेरिकि सरकारले डिपोर्ट गर्ने तयारी गरिरहेको छ । यसै क्रममा अमेरिकि सरकारले नेपाल र भुटान सरकारलाई सम्पर्क गरेका थियो । तर दुवै देशका सरकरले जिम्मा बुझ्न अस्वीकार गरेको जानकारी प्राप्त भएको छ ।
नेपाल र भुटान दुवै देशका सरकार जिम्मा बुझ्न अस्वीकार गरेपछि उनिहरु डिटेन्सनमा तीन हप्तादेखि अलपत्र परेका छन्।
भुटानी समुदायका अधिकारकर्मीहरू, अधिवक्ताहरू र सामाजिक संस्थाहरूले यस विषयमा गम्भीर चासो व्यक्त गर्दै सम्बन्धित निकायहरूसँग छलफल जारी राखेका छन्।भने, स्थानीय निर्वाचित अधिकारीहरूसँग पनि परामर्श भइरहेको छ।
समुदायका अधिवक्ताहरू र सामाजिक संस्थाहरूले यो घटनाक्रमलाई गम्भीर रूपमा लिँदै, आईसको आक्रामक नीति रोक्न र डिटेन्सनमा रहेका व्यक्तिहरूको रिहाइ सुनिश्चित गर्न आवश्यक सबै कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन्। थप जानकारी केही दिनभित्र आउने अपेक्षा गरिएको छ।

1170 पटक हेरिएको 

