चार दलबीच छलफल पहिले सत्ता गठबन्धनका त्यसपछि एमालेसँग
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता गर्ने दिन नजिकिएका बेला सत्ता गठबन्धनले पहिले आन्तरिक रूपमा र लगत्तै प्रमुख प्रतिपक्षी नेकपा (एमाले) सँग छलफल गर्ने भएका छन्।
सत्ता गठबन्धनका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एकीकृत समाजवादीबीच बुधबार अपराह्न ३ बजे बालुवाटारमा छलफल हुने भएको छ। बुधबार बिहान बालुवाटारमै कांग्रेस र माओवादीका शीर्ष नेताबीच करिब आधा घन्टा छलफल भएको थियो।
कांग्रेसका तर्फबाट छलफलमा सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेता रमेश लेखक तथा माओवादीबाट अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुनबीच छलफल भएको हो।
सत्ता गठबन्धनका चार दलसँग छलफल गरेपछि बुधबार अपराह्न ५ बजे बालुवाटारमा एमालेसँग छलफल हुनेछ। कांग्रेसका महामन्त्री गगन थापाले आज सत्ता सठबन्धनका दलहरू र एमालेबीच छलफल हुन लागेको सेतोपाटीलाई बताए।
सत्ता गठबन्धनबीच माघ ११ मा हुने चुनावका लागि सिट बाँडफाँटका विषयमा छलफल हुन लागेको हो।
एमालेले पनि सिट बाँडफाँटमा चासो राखेको विषय कांग्रेस-माओवादी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेकोले एमालेसँग छलफल गर्न लागिएको स्रोतको भनाइ छ।
‘गठबन्धन बैठक सकिएलगत्तै प्रधानमन्त्री र सभापति देउवाले प्रमुख प्रतिपक्षी दलका नेता ओलीसँग छलफल गर्ने कार्यक्रम छ,’ स्रोतले भन्यो।
यससँगै शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नेलगायत विषयमा पनि छलफल गर्ने तयारी दलहरूको छ।