एक अर्ब ४० करोड बिगोसहित अदालतमा मुद्दा दायर १४ किलो सुन प्रकरण
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद भएको घटनाको मुद्दा काठमाडौं जिल्ला अदालतमा दर्ता भएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले सोमबार जिल्ला अदालत काठमाडौंमा सरकारी वकिल कार्यालयमार्फत मुद्दा दर्ता भएको प्रमुख भन्सार अधिकृत मणिराम पौडेलले जानकारी दिए।
गत मंसिर २१ गते भन्सार कार्यालयले फ्लाई दुबईबाट काठमाडौं आएका चन्द्र घलेबाट १४ किलो सुन बरामद गरेको थियो। उनले ज्याकेटभित्र लुकाएर ल्याएका थिए। यसको अनुसन्धानपछि भन्सार कार्यालयले सोमबार १० जनाविरूद्ध मुद्दा दायर गरेको हो।
भन्सार कार्यालयले ८ जनालाई पक्राउ गरेको थियो। दुई जनालाई फरार कायम गरी मुद्दा दायर गरेको हो।
यसको अनुसन्धान गर्न प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो। छानबिन समितिले अनुसन्धान गरी पुस ८ गते नै कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको थियो।
भन्सार कार्यालयले यसमा मिनबहादुर घले, चन्द्र घले, कृष्णकुमार श्रेष्ठ, डनबहादुर गुरूङ र उनकी श्रीमती बिना गुरूङलाई मुख्य प्रतिवादी बनाएको थियो।
चन्द्र र कृष्णकुमारले भरियाको काम गर्थे। डनबहादुरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेटिङ मिलाएर सुन बुझ्ने काम गर्ने गरेको खुलेको हो। यसमा उनकी श्रीमती बिनाको पनि संलग्नता देखिएपछि भन्सार कार्यालयले उनीहरूविरूद्ध पनि मुद्दा दायर गरेको हो।
बिना क्यान्सरकी बिरामी रहेको कारण तारेखमा राखिएको थियो। तर सोमबार अदालतमा उपस्थित नभएपछि उनी र उनका श्रीमान डनबहादुरलाई फरार कायम गरी मुद्दा चलाएको हो।
यस्तै विमानस्थलका कर्मचारी प्लम्बर शेरबहादुर बस्नेत, कार्यालय सहयोगी रमेश देउला, लेकबहादुर तामाङ, एयर कन्डिसनर चलाउने/मर्मत गर्ने राधाकृष्ण श्रेष्ठ र अनिल श्रेष्ठविरूद्ध पनि मुद्दा दायर भएको हो।
उनीहरूलाई सहयोगीको रूपमा कायम गरी मुद्दा दायर गरेको हो।
अनुसन्धानको क्रममा उनीहरूले १३८ किलो सुन विमानस्थलबाट भित्र्याएको खुलेको थियो। भन्सारसँग बयान गर्नेक्रममा उनीहरूले १३८ किलो सुन तस्करी गरेको स्वीकारेको प्रमुख भन्सार अधिकृत मणिराम पौडेलले बताए।
‘हामीसँगको बयानमा उनीहरूले सुन तस्करी गरेको स्वीकारेका छन्। कृष्णकुमारले ९८ किलो, चन्द्र घलेले २६ किलो र मीन घलेले १४ किलो सुन भित्र्याएको स्वीकारेका छन्,’ उनले भने।
१३८ किलोको एक अर्ब ४० करोड रुपैयाँको बिगो मागदाबी गरेको छ। भन्सार ऐन, २०६४ अनुसार उनीहरूलाई कैद सजाय मागदाबी गरेको छ।
उक्त ऐन अनुसार तीन करोडभन्दा बढी सुन तस्करी गरेको मुद्दामा ५ वर्षसम्म कैद सजाय हुनसक्ने प्रावधान छ।
बिगोको हकमा उक्त बिगो असुल गरी त्यतिनै रकम बराबरको जरिवाना पनि मागदाबी गरिएको छ।
भन्सार कार्यालयले यस प्रकरणमा थप अनुसन्धान गर्नुपर्ने भन्दै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई पनि लेखेर पठाउने भएको छ।
क्रिप्टोकरेन्सी, हुण्डी र मानवबेचबिखन जस्ता मुद्दा पनि आकर्षित हुने भन्दै भन्सार कार्यालयले थप अनुसन्धानका लागि सिआइबीलाई पत्र लेख्न लागेको हो।
कृष्णकुमारबाट विभिन्न व्यक्तिका पासपोर्ट, लगायत महत्वपूर्ण कागजातहरू बरामद गरेको थियो। जसले गर्दा मानव बेचबिखनमा पनि संलग्न हुनसक्ने आशंका गरिएको छ।
त्यस्तै यो समूहले दुई जना भारतीय नागरिकको संलग्नतामा तस्करी गरेको खुलेको थियो।
दुबईमा बस्ने अंकित अग्रवाल र गुरू भनिने व्यक्तिमार्फत सुन तस्करी हुँदै आएको खुलेको हो। तर उनीहरूले पनि नक्कली नामको प्रयोग गरी तस्करी गरिरहेको खुलेको हो
यस्तै पक्राउ परेका विमानस्थलका कर्मचारीहरूको हकमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई पनि लेखेर पठाइने अधिकृत पौडेलले बताए।
यो पनि: ‘भरिया’ ले ५ दिराम दिएर दुबईबाट ल्याउँथे सुन, विमानस्थलबाट यसरी निकालिन्थ्यो बाहिर
कसरी हुन्थ्यो दुबई-काठमाडौं-भारत सुन तस्करी?
छानबिन समितिले अहिलेसम्म घटनाका मुख्य व्यक्ति मीनबहादुर घले रहेको जनाएको छ। उनीबाहेक नेपालबाट मुख्य भूमिका निर्वाह गर्ने डनबहादुर (डिबी) गुरूङ छन्।
समितिका संयोजक प्रमुख भन्सार अधिकृत मणिराम पौडेलका अनुसार मीनबहादुरले भारतीय मूलका दुई जना व्यक्तिसँगको मिलेमतोमा दुबईबाट काठमाडौंमा सुन भित्र्याउने गरेको देखिएको छ।
‘गुरू’ भनिने र अर्का अंकित अग्रवाल नामका भारतीय नागरिकले नेपालमा सुन पठाउँथे। उनीहरूको वास्तविक पहिचान भने खुलिसकेको छैन। समितिले मीनबहादुर र अंकितबीच कुराकानी भएको च्याट पाएको छ।
‘अंकित अग्रवाल भन्ने व्यक्तिको नाम पनि गलत भन्ने बुझिएको छ। उनको परिचय थप अनुसन्धानको विषय हो,’ पौडेलले भने।
त्रिभुवन विमानस्थलभित्र मिलाउनुपर्ने सबै ‘सेटिङ’ भने डिबीले गरेको देखिन्छ।
मीनबहादुर र डिबीसँगै ‘सुन भरिया’ चन्द्र र कृष्णकुमारले कयौं पटक दुबई आउजाउ गरिसकेका छन्। पछिल्लो समय मात्रै उनीहरूले १३८ किलो सुन भित्र्याएको देखिएको अधिकृत पौडेलले बताए।
सन् २०१४ यता मीनबहादुर ३६ पटक दुबई-काठमाडौं आउजाउ गरिसकेका छन्। उनी आफैं समेत भरिया भएर काठमाडौंमा सुन भित्र्याएका छन्।
यस्तै सन् २०१७ यता चन्द्र घले ६० पटक आउजाउ गरिसकेका छन्। अर्का भरिया कृष्णकुमार पनि सन् २०१५ यता ६६ पटक आउजाउ गरिसकेका छन्।
‘उनीहरूले कतिपटक सुन ल्याएको हो भनेर स्वीकार गरेका छन्। त्यसैका आधारमा हामीले सुन कति भित्रियो भन्ने एउटा आकलन गरेका हौं,’ अधिकृत पौडेलले भने, ‘पहिलेपहिले आफ्नै कामले पनि गएको भनेका छन्।’
कृष्णकुमारले छानबिन समितिलाई दिएको बयानअनुसार दुबईको भिसा दिलाउने काम मीनबहादुरले नै गरिदिन्थे। त्यसका लागि उनले दुबईमा रहेका अंकितसँग सम्पर्क गर्थे।
भिसा लागेसँगै कुनै रेस्टुरेन्ट वा बाटोमा बोलाएर मीनबहादुरले त्रिभुवन विमानस्थलमा रहेको अपांगमैत्री शौचालयभित्र रहेको ढोकाको साँचो दिने गरेको कृष्णकुमारको बयानमा उल्लेख छ।
भिसाका कागजात, ५ रियाल/दिराम रकम पनि बुझाउने गरेको अनुसन्धानमा देखिन्छ। त्यो रियाल वा दिराम भने कोडका रूपमा प्रयोग भएको देखिएको छ।
यसरी सुन ल्याउने भरियाले दुबईबाट नेपाल फर्किने दिन, उडानभन्दा केही घन्टा अगाडि मात्र सुन पाउने गरेका थिए।
‘नेपाल फर्किने दिन उडान समयभन्दा तीन-चार घन्टा पहिले दुबईमा अपरिचित व्यक्तिले यो ठाउँमा आउनू भनेर फोन गरेर बोलाउँथे,’ कृष्णकुमारले बयानमा भनेका छन्, ‘त्यहाँ पुगेर मैले नेपालबाट बोकेर लगेको ५ रियाल देखाएपछि १४ किलो सुन उनीहरूले दिन्थे। आधा सुन कम्मरमा भिर्ने मनी पर्समा र आधा झोलामा राखेर प्लेनमा चढ्थेँ।’
कृष्णकुमारले १४ किलोको दरले सात पटक सुन ल्याइसकेको स्वीकार गरेका छन्।
चन्द्र घलेले पनि मीनबहादुरको निर्देशन बमोजिम यसैगरी सुन लिन्थे र ल्याउँथे। चन्द्रले तीनपटक सुन भित्र्याएको स्वीकार गरेका छन्। पहिलो पटक दुई पोका, दोस्रो पटक चार पोका र अहिले ७ पोका सुन लिएर आएको उनले स्वीकार गरेका हुन्।
दुबईमा बस्दासम्म कृष्णकुमार र चन्द्र होटलमा बस्थे। सुन लिइसकेपछि उनीहरू फ्लाई दुबईमार्फत काठमाडौं आउँथे। विमानस्थलबाट ओर्लिनबित्तिकै ती ‘सुन भरिया’ आगमन कक्ष पुग्थे र अध्यागमन डेस्कको अपांगमैत्री शौचालय छिर्थे। त्यहाँभित्र पाइपिङ र प्लम्बिङको प्वाइन्ट छोप्न राखिएको ढोका खोलेर सुन राख्थे।
प्लम्बिङ काम गर्ने शेरबहादुर बस्नेतले उक्त च्याम्बरजस्तो ठाउँको ढोकाको अरू चाबी बनाएका थिए। साँचो बनाउने ठाउँमा लगेर बनाएका ती नक्कली चाबी शेरबहादुरले विमानस्थलमा कार्यालय सहयोगीका रूपमा काम गर्ने रमेश देउला, लेकबहादुर तामाङ र मीनबहादुर समेतलाई उपलब्ध गराउँथे।
मीनबहादुरले पाएको साँचो भने भरियालाई दिएर पठाउँथे।
‘शौचालयभित्रको चेम्बरमा राखेर ताला लगाएर जान्थे,’ प्रमुख भन्सार अधिकृत पौडेलले भने, ‘भरिया आएर सुन छाड्यो कि छाडेन भनेर बुझ्ने काम भने शेरबहादुरले गर्थे।’
सुन छाडेपछि चन्द्र वा कृष्णकुमार सामान्य प्रक्रियाबाट निस्किन्थे। त्यसपछि कार्यालय सहयोगी लेकबहादुरले शौचालयबाट सुन निकालेर भिआइपी कक्ष हुँदै माथिल्लो तलामा रहेको अर्को शौचालयमा गएर वरिष्ठ सहायक राधाकृष्णलाई बुझाउँथे। उनलाई सुन आउँदैछ भन्ने जानकारी कार्यालय सहयोगी रमेश देउलाले दिन्थे।
‘ल्याएको सुन लेकबहादुरले लिइसकेपछि मलाई फोन गरेर जानकारी गराउँथे,’ राधाकृष्णले बयानमा भनेका छन्, ‘म विमानस्थल उड्डयन कार्यालय नजिकै रहेको शौचालयमा गएर लेकबहादुरलाई पर्खी बस्थेँ। लेकबहादुरले सुन ल्याएपछि अनिल श्रेष्ठले गोप्य बाटो खोलिदिन्थे।’
राधाकृष्णले उक्त भवनको सबभन्दा माथिल्लो तला हुँदै अन्तर्राष्ट्रिय टर्मिनल भवनबाहिर रहेको शौचालयको छेउमा रहेको सरसफाइ कार्यालय छेउको सिँढी हुँदै सुन बाहिर निकाल्थे। त्यो क्षेत्रमा हाल सिसिटिभीले काम नगरेको अनुसन्धानले देखाएको छ।
यसरी भित्रबाट बाहिरसम्म पुर्याउन विमानस्थलकै कर्मचारी अनिलले सहयोग गरेको भन्सार अधिकृत पौडेलले बताए।
सुन लिएर बाहिर निस्किएका राधाकृष्णलाई रमेश देउला बाहिर मोटरसाइकलमा कुरेर बस्थे।
‘बाहिर निस्केपछि नेपाल राष्ट्र बैंकको एटिएम हुँदै जान्थेँ। रमेश देउला मोटरसाइकलमा पर्खिरहेका हुन्थे। मलाई देखेपछि आउँथे र हामी सुन सम्बन्धित मानिससम्म पुर्याउँथ्यौं,’ राधाकृष्णले आफ्नो बयानमा भनेका छन्।
उनीहरू दुई जनाले कहिले वनकाली त कहिले धुम्बाराही पुगेर डिबी गुरूङलाई सुन बुझाउँथे। डिबीको घर त्यो सुन मीनबहादुरले लिन्थे। त्यसपछि भारतीय नागरिक अंकित अग्रवालले पठाएका व्यक्तिलाई सुन बुझाउने गरेको मीनबहादुरले बताएका छन्।
त्यसरी सुन लिन आउने व्यक्तिहरू को हुन् भन्ने खुलिसकेको छैन। तिनै व्यक्तिबाट मीनबहादुरले ९ लाख रूपैयाँ बुझेको पनि बयानमा भनेका छन्। उक्त रकममध्ये ५ लाख रूपैयाँ डिबीलाई एयरपोर्टको सेटिङ मिलाउन दिएको मीनबहादुरले बताएका छन्। ६० हजार रूपैयाँ भरियालाई दिने र एक-एक लाख डिबी र मीनबहादुरले बाँड्ने गरेको पनि अनुसन्धानमा देखिन्छ। यस्तै बाँकी रकम भने भिसा प्रक्रियामा खर्च भएको देखिएको छ।
यसरी भित्रिने सुन भारतमा पुग्ने भए पनि कुन ठाउँमा कसरी बेचिन्छ भन्ने भन्ने खुलेको छैन।