विदेशी लुगा बेच्दाबेच्दै बनाए कोरोना महामारीले मानवीय र आर्थिक क्षति त पुर्‍यायो नै,

विदेशी लुगा बेच्दाबेच्दै बनाए कोरोना महामारीले मानवीय र आर्थिक क्षति त पुर्‍यायो नै,

 

 

 

 

कोरोना महामारीले मानवीय र आर्थिक क्षति त पुर्‍यायो नै, यससँगै केही अवसर पनि सिर्जना गर्‍यो।

अवसरहरूमध्येको एक हो नेपाली ब्रान्डप्रति विश्वास र यसको फैलावट। खासमा पछिल्लो समय अनेक उत्पादनमा नेपाली ब्रान्डले स्थान पाउन थालेको छ। उपभोक्ताहरूले ब्रान्डको नामै लिएर सामान किन्ने गरेका छन्।

उपभोक्तामा आएको यस्तो परिवर्तनले नेपाली उद्यमी उत्साहित भएका छन्। यस्तै व्यवसायीमध्येका एक हुन् सञ्जीव श्रेष्ठ।

‘पहिले नेपाली उत्पादन हो भन्दा बिक्दैन थियो। अहिले खोजीखोजी आउँछन्,’ उनी भन्छन्, ‘अब विदेशमा बनेको हो भन्दा नबिक्ने बनाउनु छ।’

उनी ‘भर्जिन्स’ ब्रान्डको तयारी लुगा उत्पादक हुन्।

काठमाडौंको न्युरोडमा उनको थोक (होलसेल) पसल छ। भर्जिन्समा विशेष गरी पुरूषले लगाउने ज्याकेट, ट्राउजर, सर्ट, टी–सर्ट, कपडा र जिन्स पाइन्ट लगायतका लुगा पाइन्छ।

गुणस्तरमा ध्यान दिने हो भने विदेशी लुगा विस्थापित गर्न सकिन्छ भन्ने उनको विश्वास छ। हालसम्मको व्यावसायिक अनुभवले उनमा यस्तो विश्वास पलाएको हो।

‘नेपालकै लुगा राम्रो हुँदो रहेछ भन्दै ग्राहकले सामान किन्दा आनन्द लाग्छ,’ सञ्जीव भन्छन्, ‘ब्रान्ड भनेको विश्वास हो। ग्राहकलाई विश्वास दिलाउन सकेको छु जस्तो लाग्छ।’

उनले दस वर्षको निरन्तर मेहनतबाट यस्तो विश्वास आर्जन गरेका हुन्। आफ्नो ब्रान्ड अझ विश्वसनीय र बलियो बनाउन लागि पर्ने उनको अठोट छ।

‘आफ्नो उत्पादन उच्च गुणस्तरको छ भनेर ग्राहकलाई विश्वास दिलाउने मेरो ठूलो प्रयास छ। ग्राहकलाई विश्वास नभई ब्रान्ड स्थापित हुँदैन,’ उनले भने।

virgeans-(2)-1703697129.jpg
सञ्जीव काभ्रेको धुलिखेलका स्थायी बासिन्दा हुन्। पाँच जना दाजुभाइमध्येका चौथो। दिदीबहिनी तीन जना छन्।

उनको बाल्यकालमा परिवारको आम्दानीको मुख्य स्रोत कृषि थियो। यसअतिरिक्त आमाबुबा ऊनका स्विटर, मोजा र पञ्जा बुनेर बेच्थे। सञ्जीवले पनि स्कुल पढ्दा आमाबुबाले जस्तै बुनाइ गर्न जाने। फुर्सदमा बुनाइको काममा सघाउँथे पनि।

त्यही समय सञ्जीवका दाइहरूले काठमाडौंमा आयातीत लुगाको होलसेल पसल सुरू गरेका थिए। एसएलसी दिएपछि उनी पनि काठमाडौं आए। दाइहरूलाई व्यापारमा सघाउन थाले। कलेज भर्ना भएर पढाइ पनि सुरू गरे। त्यो बेला दाइहरू चीन, भारत र थाइल्यान्डबाट तयारी पोसाक आयात गरेर बेच्थे।

दाइहरूसँग काम गर्दै र पढ्दै करिब सात वर्ष बित्यो।

सञ्जीवका अनुसार त्यो समय नेपाली तयारी लुगा उत्पादन निकै कम थियो।

‘विदेशी लुगाको तुलनामा नेपालको उत्पादन झन्डै आधा सस्तो हुन्थ्यो। हामी पनि अलिअलि बेच्थ्यौं,’ उनले भने।

त्यही बेला उनले सोचे– नेपालमै तयारी लुगा उत्पादन हुन्छ भने विदेशबाट ल्याएर किन बेच्ने?

उनी आफैं तयारी लुगा उत्पादन गर्ने योजनामा लागे। आमाबुबा र दाइहरूलाई योजना सुनाए। तत्कालीन परिवेशमा दाइहरू सहमत भएनन्। विदेशबाट ल्याएर व्यवसाय चलेकै छ, यहाँ बनाउने झन्झट किन गर्नु भन्ने उनीहरूको तर्क थियो।

दाइहरूसँग सात वर्ष काम गरेको अनुभवका अधारमा उनी एक्लै अघि बढे। नयाँ बजारमा थोरै जग्गा भाडामा लिए। २० वटा सिलाइ मेसिन किने। केही साथीहरू मार्फत कामदार खोजेर तयारी लुगा उत्पादन गर्न थाले।

उद्योग स्थापना गर्न २५ लाख रूपैयाँ लगानी भयो।

‘केही पैसा परिवारमा मागेँ। अपुग बैंकबाट ऋण लिएँ,’ उनले भने।

लुगा उत्पादन हुन थाल्यो। दाइहरूकै होलसेल बाट बेच्न थाले।

सञ्जीवका अनुसार पुरूषको लुगाको काम गर्न सजिलो हुन्छ। फेसन छिटोछिटो बदलिँदैन। उनले पुरूषकै लुगा उत्पादन गरे। लुगाको डिजाइन आफैंले गरे।

virgeans-(1)-1703697128.jpg
सुरूमा त उनले विदेशी नै हो भनेर बेचे। बिक्री राम्रै भयो। मासिक पाँच हजार थान लुगा उत्पादन हुन थाल्यो। त्यो क्रम करिब एक वर्ष चल्यो।

आफूले नेपालमै उत्पादन गरेको लुगा विदेशी भनेर बेच्दा उनी आफैंलाई चित्त बुझेन। नेपाली नै हो भनेर बेच्ने उपाय खोजे। अन्ततः उनी आफ्नै ब्रान्ड बनाएर अघि बढ्ने निर्णयमा पुगे।

त्यसैअनुसार ‘भर्जिन्स प्रालि’ नाम राखेर कम्पनी दर्ता गरे। महाबौद्धमा होलसेल पसल राखे। कम्पनीकै नामबाट ब्रान्ड नाम ‘भर्जिन्स’ रोजे।

‘आफैं लुगा उत्पादन गर्ने भएपछि किन विदेशीको ब्रान्डमा बेच्ने भनेर आफ्नै ब्रान्डको ट्याग बनाएर राख्न थालेँ,’ उनले भने।

सुरूआती दिनमा नेपाली उत्पादन हो भनेर बेच्न मुस्किल पर्‍यो। ग्राहकहरूमा नेपालमा बनेको लुगा राम्रो हुँदैन धारणा थियो। तर सञ्जीवले हार मानेनन्। ग्राहकलाई विदेशीभन्दा कुनै पनि अर्थमा कम छैन भनेर विश्वास दिलाउँदै गए।

‘ग्राहकहरू लुगा हेर्थे, मन पराउँथे र कहाँ बनेको हो भनेर सोध्थे। नेपाली हो भनेपछि नकिन्ने भन्थे,’ सञ्जीवले भने, ‘मैले सुरूदेखि नै गुणस्तरमा ध्यान दिएँ। राम्रो मानिएको विदेशी ब्रान्डभन्दा कमको नहुने गरी लुगा बनाएँ।’

उनले कुनै समस्या भए फिर्ता हुन्छ, क्षतिपूर्ति दिन्छु भनेर ग्राहकलाई वचन दिए।

दिन बित्दै जाँदा उनको प्रयास र विश्वासको सकारात्मक परिणाम देखिन थाल्यो। ग्राहकहरू दोहोर्‍याएर आउन थाले। बजारमा माग बढ्न थाल्यो।

नेपाली लुगाको बजार ह्वात्तै बढेको भने कोरोना पछि नै हो। विदेशबाट हुने आयात ह्वात्तै घटेपछि नेपाली उत्पादनले मौका पायो।

‘कोभिडले मानवीय क्षति गरे पनि नेपाली ब्रान्ड चिनाउने अवसर दियो,’ उनी भन्छन्, ‘अहिले त धेरै ग्राहक भर्जिन्स ब्रान्डको लुगा खोज्दै आउँछन्।’

नेपाली उत्पादनको माग बढ्न थालेपछि तयारी पोसाक उत्पादन गर्ने केही व्यवसायीहरू मिलेर नयाँ बानेश्वरमा ‘मल्टी ब्रान्ड स्टोर’ सञ्चालन गरेका छन्। यहाँ भर्जिन्ससहित अन्य नेपाली ब्रान्डका लुगा खुद्रा बिक्री हुन्छ।

भर्जिन्सका लुगाको माग बढेको छ तर सञ्जीव उत्पादन परिमाण बढाइहाल्ने पक्षमा छैनन्।

‘राम्रो तयारी नगरी परिमाण बढाउँदा गुणस्तर खस्किने डर हुन्छ। गुणस्तर खस्कियो भने ब्रान्ड चल्दैन। उत्पादन नबढाए पनि गुणस्तर बढाउँदा लगानी बढ्छ,’ उनी भन्छन्।

हाल उनी वार्षिक औसत एक लाख थान लुगा उत्पादन गर्दैछन्। सबै लुगा नेपाली बजारमै बिक्री हुन्छ। हालसम्म उनको कम्पनीमा कम्तीमा दुई करोड रूपैयाँ लगानी भएको छ। कम्तीमा ३० जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।

भर्जिन्सको उत्पादन कम्पनीकै वेबसाइट, सामाजिक सञ्जाल र अनलाइन बजार दराजबाट पनि बिक्री हुन्छ। कम्पनीले थोक बिक्रेताका लागि देशभर डेलिभरी दिने प्रबन्ध गरेको छ।

लुगा त नेपालमै बन्छ तर कपडा विदेशबाट ल्याउनुपर्दा सञ्जीवको मन खिन्न हुन्छ।

उनी भन्छन्, ‘नेपाली लुगा भनेपछि नेपालमा सिलाउने मात्रै त हो नि भन्ने हुन्छ। तर कति राम्रो सिउने, मुख्य प्रश्न यही हो। कपडा पनि नेपाली नै प्रयोग गर्न पाए खास नेपाली उत्पादन हुने थियो। भविष्यमा गुणस्तरीय नेपाली कपडाबाट तयारी पोसाकको गुणस्तरीय नेपाली ब्रान्ड स्थापित हुन्छ भन्ने विश्वास छ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार