
नेब्रास्का-अमेरिकाको नेब्रास्का राज्यको ओमाहामा आगामी जुन २५ देखि २८, २०२६ सम्म ११औँ किरात राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ। सम्मेलनको आयोजना किरात कम्युनिटी अर्गनाइजेशन अफ अमेरिका इन्क (केसीओए) ले गर्नेछ भने स्थानीय रूपमा किरात कल्चरल सोसाइटी अफ नेब्रास्का इन्क (केसीएसएन) ले आतिथ्यता प्रदान गर्नेछ। यस सम्मेलनमा अमेरिकाका विभिन्न राज्य र सहरबाट केसीओएका शाखाहरूको उपस्थिति रहने आयोजकले जानकारी दिएको छ।

सम्मेलन अन्तर्गत विविध सांस्कृतिक कार्यक्रमहरू सँगै वार्षिक किरात सांस्कृतिक नृत्य प्रतियोगिता पनि आयोजना गरिने जानकारी दिइएको छ। आयोजकका अनुसार यस वर्ष साकेला नृत्य, केलाङ नृत्य तथा किरात सांस्कृतिक नृत्य गरी तीन विधामा प्रतिस्पर्धा हुनेछ।

जुन २७, २०२६ शनिबार वार्षिक खिबेक्वा याक्वा सेवा सम्पन्न भएपछि साकेला र केलाङ नृत्य प्रतियोगिता आयोजना गरिनेछ भने जुन २८ आइतबार किरात सांस्कृतिक नृत्य प्रतियोगिता सञ्चालन गरिने तालिका सार्वजनिक गरिएको छ।
प्रतियोगितामा सहभागिताका लागि दर्ता प्रक्रिया खुला गरिएको छ। तीनै विधाका लागि दर्ताको अन्तिम मिति अप्रिल १९, २०२६ आइतबार राति ११:५९ (पूर्वी समय) सम्म तोकिएको छ।
आयोजक केसीओएले प्रत्येक नृत्य समूहका लागि १०८ अमेरिकी डलर दर्ता शुल्क निर्धारण गरेको जनाएको छ। दर्ता गर्दा सहभागी समूहले गीतको अडियो ट्र्याक र सबै कलाकारहरूको नाम अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। शुल्क चेक वा जेली (जेल) मार्फत बुझाउन सकिने व्यवस्था गरिएको छ।
प्रतियोगिताका लागि केही मापदण्डहरू पनि निर्धारण गरिएका छन्। सबै कलाकारहरूले अनिवार्य रूपमा किराती पोशाक लगाउनु पर्ने छ र प्रस्तुत गरिने गीतहरू किराती संस्कृति झल्किने तथा सामाजिक सन्देशयुक्त हुनुपर्नेछ। एक समूहमा अधिकतम १२ जना सहभागी हुन सक्ने व्यवस्था गरिएको छ।
साकेला र केलाङ नृत्यका लागि अधिकतम ७ मिनेट तथा किरात सांस्कृतिक नृत्यका लागि ५ मिनेट समय तोकिएको छ। साथै, गीत दोहोरिन नपाउने, रिमिक्स गीत प्रयोग गर्न नपाइने र प्रत्येक समूहले आवश्यक सामग्री आफैं व्यवस्थापन गर्नुपर्ने नियम लागू गरिएको छ।
साकेला र केलाङ प्रतियोगितामा आवश्यक परेमा ८० प्रतिशत किरात र २० प्रतिशत गैर–किरात सहभागी समावेश गर्न पाइनेछ भने किरात सांस्कृतिक नृत्य प्रतियोगितामा सहभागी अनिवार्य रूपमा किरात समुदायका नै हुनुपर्नेछ।
प्रतियोगितामा सहभागी सबैलाई डिजिटल प्रमाणपत्र प्रदान गरिनेछ भने उत्कृष्ट टोलीहरूलाई ट्रफी तथा नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। पुरस्कार वितरण सम्मेलनको अन्तिम दिन गरिनेछ।
थप जानकारी तथा दर्ताका लागि इच्छुक समूहहरूले केसीओए (kcoa2016@gmail.com) र केसीएसएन (kcsnnebraska@gmail.com) मा सम्पर्क गर्न सक्नेछन्।



