
मोरङ — जेनजी आन्दोलनका क्रममा विस्थापित भएको सशस्त्र प्रहरीको बेस क्याम्प हालसम्म पुनःस्थापित नहुँदा स्थानीयवासीमा सुरक्षा चिन्ता बढ्दै गएको छ।
उक्त सशस्त्र प्रहरीको बेस क्याम्प हटाइएपछि भुटानी शरणार्थी शिविर तथा आसपासका क्षेत्रमा चोरी, दुलेचोरी (साना चोरी) र लागू औषध कारोबार जस्ता आपराधिक गतिविधि वृद्धि भएको स्थानीयवासीको गुनासो छ। उनीहरूले सुरक्षाको अवस्था कमजोर बन्दै गएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
स्थानीय बासिन्दाका अनुसार सशस्त्र प्रहरीको बेस क्याम्प सञ्चालनमा रहेको समयमा सुरक्षा अवस्था अपेक्षाकृत सुदृढ थियो। तर, क्याम्प विस्थापित भएपछि निगरानी कमजोर भई असामाजिक गतिविधि बढ्न थालेको क्याम्प बासिन्दाहरूको भनाइ छ।
“पहिले प्रहरीको उपस्थितिले ढुक्क महसुस हुन्थ्यो, अहिले चोरी र लागू औषध कारोबार बढेको देखिन्छ,” एक स्थानीयले बताए।
स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालाहरूले पनि सशस्त्र प्रहरीको बेस क्याम्प पुनःस्थापना गर्न आवश्यक पहल भइरहेको बताएका छन्। उनीहरूले दीर्घकालीन शान्ति र सुरक्षा सुनिश्चित गर्न सशस्त्र प्रहरीको उपस्थितिलाई अपरिहार्य ठानेका छन्।
यस विषयमा सम्बन्धित निकायले चाँडो ध्यान दिई सशस्त्र प्रहरीको बेस क्याम्प पुनःस्थापना गर्नुपर्ने माग स्थानीयवासीले राखेका छन्।



