भूटनीस् अमेरिकेन सकर एसोसिएसन’ द्वारा ‘इन्टर क्याम्प २०२६’ फुटबल प्रतियोगिता आयोजना हुने।

अमेरिका-समुदायमा फुटबलको विकासका निमित्त स्थापना गरिएको यस संस्था द्वारा आगामी अगस्त महिनामा ‘इन्टर क्याम्प २०२६’ फुटबल प्रतियोगिता आयोजना गर्ने घोषणा गरिएको छ। बि.ए.एस.ए. को आयोजनामा अगस्त ७, ८ र ९ तारिख प्रतियोगिता सञ्चालन हुने जनाइएको छ।

यो प्रतियोगिता केवल खेलकुद कार्यक्रम मात्र नभई, समुदायको पुरानो पहिचान, सम्झना र एकतालाई पुनः जीवित राख्ने उद्देश्यसहित आयोजना गर्न लागिएको भूटानी फुटबलका मेरूदण्ड साथै आयोजक समिति सदस्य किरण थापाले बताउनु भयो। विशेषगरी नेपालस्थित शरणार्थी शिविरका दिनहरूमा खेलिने ‘इन्टर–शिविर’ फुटबल प्रतियोगिताको झल्को अमेरिकामा पनि निरन्तरता दिन खोजिएको हो, थापाले थपे।

आयोजक टोलीका सदस्य तथा पूर्व खेलाडी स्याम बानियाका अनुसार, विगतमा शरणार्थी शिविरमा आयोजना हुने यस्ता प्रतियोगिताले समुदायलाई एकताबद्ध बनाउन ठूलो भूमिका खेलेको थियो। अहिले विभिन्न शहरमा छरिएर बस्दै आएका समुदायका सदस्यहरूलाई एउटै स्थानमा ल्याउने उद्देश्यले यो प्रतियोगिता महत्वपूर्ण बन्ने अपेक्षा गरिएको छ।

ओहायोको कोलम्बसस्थित किलबोर्न रन स्पोर्ट्स पार्कमा आयोजना हुने प्रतियोगितामा सातवटा शिविरको प्रतिनिधित्व गर्ने टोलीहरू सहभागी हुनेछन्। प्रतियोगितामा पुरुषतर्फ १६–२९ वर्ष, ३०–३९ वर्ष र ४० वर्षमाथिका उमेर समूहमा खेल हुनेछन् भने महिलातर्फ १६ वर्ष माथिका उमेर समूहलाई समेटिनेछ।

प्रतियोगितामा क्याम्पबाट आएका व्यक्ति तथा उनका सन्तानहरूलाई मात्र सहभागिता दिने व्यवस्था गरिएको छ, जसले ‘इन्टर–शिविर’ को मौलिकता जोगाउने विश्वास आयोजकहरूको छ।

आयोजकका अनुसार यो प्रतियोगितालाई पुरानो पुस्ताको अनुभव र खेल संस्कृतिलाई नयाँ पुस्तासँग जोड्ने पुलका रूपमा लिएको छ। साथै, प्रतियोगिताको पुरस्कार राशी तथा अन्य विवरणहरू क्रमशः सार्वजनिक गरिने जनाइएको छ।

प्रतियोगितासम्बन्धी थप जानकारीका लागि आयोजकहरूले विभिन्न सम्पर्क नम्बर तथा इमेल मार्फत सम्पर्क गर्न अनुरोध गरेका छन्।

समग्रमा, ‘इन्टर क्याम्प फुटबल २०२६’ केवल खेल प्रतियोगिता मात्र नभई, समुदायबीचको सम्बन्ध सुदृढ गर्ने, पहिचान जोगाउने र पुस्ताबीचको दूरी घटाउने महत्वपूर्ण प्रयासका रूपमा हेरिएको छ।

More From Author

भुटानी शरणार्थीहरूको अपिल: सम्मानजनक स्वदेश फिर्तीका लागि सरकारी पहल आवश्यक

गोरखा कम्ब्याट स्पोर्ट्सको भव्य उद्घाटन, युवालाई खेलकुद मार्फत सशक्त बनाउने लक्ष्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *