अमेरिकाको एक्रोनमा इन्टर–स्कूल गायन,नृत्य तथा समूह नृत्य प्रतियोगिता, आकर्षक पुरस्कारसहित

एक्रोन-इन्ट्रा फाउन्डेशनले विगत लामो समयदेखि अमेरिकाका विभिन्न सहरहरुमा बालबालिकाका लागि गायन तथा नृत्य कक्षा निःशुल्क सञ्चालन गर्दै आएको छ। यही निरन्तरतामा इन्ट्रा–नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाले २०२५ डिसेम्बर २० र २१ मा ओहायोको एक्रोन सहरमा भव्य इन्टर–स्कूल गायन, नृत्य तथा समूह नृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ।

अध्यक्ष दिल्ली अधिकारीको नेतृत्वमा सम्पन्न हुन लागेको यो कार्यक्रममा इन्ट्रा फाउन्डेशनद्वारा सञ्चालन भएका कक्षाहरूमा अध्ययनरत नेपाली बालबालिकालाई एउटै मञ्चमा ल्याई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरिनेछ। नेपाली कला, संस्कृति र सृजनात्मक अभिव्यक्तिलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिताप्रति विद्यार्थीहरूको उत्साह उच्च रहेको फाउन्डेशनले जनाएको छ।

प्रतियोगितामा सोलो गायन, सोलो नृत्य र समूह नृत्य गरी तीन विधा समावेश गरिएका छन्। विद्यार्थीहरूले आफ्नो क्षमता, मौलिकता तथा प्रस्तुतीकरण प्रदर्शन गर्ने अवसर पाउनेछन्। प्रतियोगितालाई अझ आकर्षक बनाउन पहिलो स्थानलाई ३,००० डलर, दोस्रो स्थानलाई २,००० डलर र तेस्रो स्थानलाई १,००० डलर पुरस्कार प्रदान गरिने घोषणा गरिएको छ।

विद्यालय, अभिभावक तथा विद्यार्थीहरूबीच प्रतियोगिताप्रतिको चासो र उत्साह तीव्र रूपमा बढिरहेको छ। यस कार्यक्रमले बालबालिकामा आत्मविश्वास, सांस्कृतिक पहिचानप्रतिको गर्व तथा स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ। साथै, अमेरिकामा बसोबास गर्ने नेपाली समुदायबीच सांस्कृतिक एकता र समन्वय मजबुत बनाउन पनि कार्यक्रम महत्वपूर्ण ठहरिनेछ।

हाम्रो नेपाली भाषा, संस्कृति, पहिचान र संस्कारलाई पुस्तान्तरण गर्ने मुख्य उद्देश्य रहेको साथै, अध्यक्ष डिल्ली अधिकारीले ईन्ट्रा फाउन्डेशन साथै उहाँको मातहत रहेको सबै कम्पनीको दुई हजार भन्दा बढी कर्मचारीहरूलाई प्रशंसा (Appreciation) प्रदान गर्ने विषयमा इन्ट्रा फाउन्डेशनका संस्कृति विभाग प्रमुख ओम गुरुले जानकारी दिएका छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार