
भूटानी शरणार्थी शिबिर खुदुनाबारीमा अामा लोकी धिमाल र बाबा रायन धिमालको कोखबाट २००५ मा जन्मेकी विजेता धिमाल (बिजु) नेपाली भाषी साथै अमेरिकी समुदायको गर्वको पात्र बनेकी छिन्। सानैदेखि अामा–बाबाको माया–ममतामा हुर्केकी उनी २०१० जनवरीमा परिवार सहित अमेरिका प्रवासिएकी थिइन्।

अमेरिकामा हुर्कंदै गर्दा उनले आफ्नो सांस्कृतिक मूललाई जोगाउँदै पहिलो पुस्ताको आप्रवासी जीवनलाई सन्तुलनमा राखिन्। शैक्षिक क्षेत्रमा उत्कृष्टता हासिल गर्दै चिकित्सक बन्ने सपना देखेकी बिजुले हाइस्कुलमै अनपेक्षित मोडमा सेनामा प्रवेश गर्ने निर्णय गरिन्।

सन् २०२० मा नौँ कक्षामा पढ्दादेखि नै सेनामा जाने सोच उनको मनमा पलाएको थियो। सुरुमा शंका गरे पनि अभिभावकको प्रोत्साहनपछि उनले ११ कक्षामा पुगेपछि अमेरिकी सेनामा भर्ती हुने ठोस निर्णय गरिन्। दायाँ हात उठाएर सेवा गर्ने शपथ लिँदै उनले अमेरिकी सेनाको वर्दी ओढिन्।

सन् २०२३ को जुन महिनामा बिजु पेन्सिलभेनियाबाट मिसौरी गइन् र बेसिक कम्ब्याट ट्रेनिङ सुरु गरिन्। कठोर तालिमका क्रममा उनले ४५ पाउण्ड बोकेर लामो दूरी हिँड्नु पर्यो, ग्यास च्याम्बर, हतियार तालिम, अवरोध कोर्स, बिहान सबेरै उठ्ने दिनचर्या र निरन्तर अभ्याससँग जुध्नु पर्यो। आँसु र थकानका क्षणहरू भए पनि उनले दृढता र आत्मविश्वासका साथ सबै चुनौती पार गरिन्।

दस हप्ते तालिमपछि अमेरिकी सेनाको सैनिकको रूपमा स्नातक हुँदा बिजुले केवल ब्याज मात्र होइन, जीवनकै महत्वपूर्ण पाठ पनि सिकिन् ।सही ठाउँ, सही समय, सही वर्दी सफलता प्राप्त गर्ने सफलताको साँचो हो।

बिजु नेपाली भाषी र अमेरिकी युवती, सैनिक र विद्वानका रूपमा समुदायको प्रेरणा बनेकी छिन्। उनले युवा पुस्तालाई सन्देश दिएकी छन् ।अनुशासन, विश्वास र कडा मेहनत भए केही पनि असम्भव छैन।

अब उनी आफ्नो अर्को अध्याय तर्फ अघि बढ्दै छिन्। अगस्ट २०२५ देखि उनले डेलावेयर विश्वविद्यालयमा स्नातक अध्ययन सुरु गर्नेछिन् र त्यसपछि मेडिकल कलेजमा प्रवेश गर्ने स्पष्ट लक्ष्य राखेकी छन्।
उनको यात्राले देखाएको छ । सेवा, त्याग र शिक्षा जीवन मात्र होइन, समुदायलाई पनि रूपान्तरण गर्न सक्छ।




