बेलडाँगीको झुपडीबाट अमेरिकी आकाशसम्म: शब्या बिष्टको पाइलट यात्रा

अमेरका/कहिल्यै जहाजमा चढ्ने त परै जाओस्, आकाशमा उडेको विमानलाई टाढैबाट हेर्दै सपनामा रमाउने बालिका शब्या बिष्ट आज स्वयं अमेरिकाको आकाशमा पाइलटको रूपमा उडान भरिरहेकी छन्।

सन् २००३ मा नेपालमा जन्मिएकी शब्याका बाबु गोपाल बिष्ट र आमा निरु बिष्ट भुटानमै जन्मिएका थिए। तर १९९० को दशकको सुरुवातमा जातीय नेपालीमाथि भएको ठूलो निष्कासनका कारण उनीहरूलाई देश छोड्न बाध्य बनाइयो। उनीहरूको भेट र विवाह मोरङस्थित बेलडाँगी शरणार्थी शिविरमा भयोको थियो।

शब्याले बेलडाँगी–२ शिविरमै सात वर्षको उमेरसम्म अध्ययन गरिन्। २०१० मा संयुक्त राष्ट्र शरणार्थी उच्चायुक्तको पुनर्स्थापना कार्यक्रमअन्तर्गत उनीहरूको परिवार अमेरिकाको टेनेसी राज्यको न्यासभिलमा पुनर्वास भयो।

दश वर्षपछि—२०२५ मे ९ मा शब्याले मिडल टेनेसी स्टेट युनिभर्सिटीबाट एरोस्पेसमा प्रोफेशनल पाइलट विशेषता सहित स्नातक डिग्री प्राप्त गरिन्। स्नातकसँगै उनले उडान प्रशिक्षकको रूपमा नयाँ पाइलटहरूलाई तालिम दिने काम सुरु गरिन्, जसले उनको आफ्नै सीपलाई पनि अझ निखारिरहेको छ।

यो उपलब्धि भुटानी शरणार्थी समुदायका लागि केवल व्यक्तिगत सफलता मात्र होइन, सम्भवतः विमानन क्षेत्रमा पहिलो महिला पाइलटको रूपमा ऐतिहासिक प्रवेश हो। लामो समय विस्थापन र कठिनाइ भोगेको समुदायका लागि यो गौरवको क्षण हो।

तर यस सफलतामा एउटा भावुक स्मृति पनि जोडिएको छ शब्याका हजुरबुवा गणेशबहादुर बिष्टको, जसको अन्तिम इच्छा नातिनीलाई पाइलट बनेको देख्नु थियो। दुर्भाग्यवश, उनी एक वर्ष अघि नै बिते। निधनअघि उनले आफ्नी श्रीमती चन्द्रा बिष्टलाई स्नातक समारोहमा आफ्नो तर्फबाट उपस्थित रहन आग्रह गरेका थिए। त्यस दिन चन्द्रा बिष्ट, बाबु गोपाल, आमा निरु, र अन्य परिवारजनहरूले शब्याको सफलता प्रत्यक्ष देख्दै गर्व र आँसु सँगै बगाए।

स्नातकको केही महिना अघि मात्र परिवारले पहिलो पटक सँगै विमान यात्रा गरेर ओहायो पुगेको थियो त्यो उडान केवल यात्रा मात्र थिएन, बरु शब्याको भविष्यतर्फको प्रतीकात्मक पाइलो थियो।

आज, बेलडाँगीको धूलो बाटोमा उडेको जहाज हेर्ने सानो बालिका अमेरिकी आकाशमा आफ्नो नियन्त्रणमा रहेको विमान उडाइरहेकी छिन्यो यात्रा उनको मात्र होइन, सम्पूर्ण भुटानी शरणार्थी समुदायको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार