
ह्यारिसबर्ग, अगस्ट १ — अमेरिकास्थित हिन्दु धर्म तथा सांस्कृतिक संगठन (ओएचआरसी) को आयोजनामा अगस्ट १ देखि ५ तारिखसम्म शिवलय उद्घाटनको अवसरमा एक विशेष पाँचदिवसीय धार्मिक तथा सांस्कृतिक कार्यक्रम सुरु भएको छ। यो शिवलय नेपालीको पवित्र स्थलबाट ल्याइएको शिवलिङ्ग स्थापना गरेर बनाइएको हो, जुन विश्व इतिहासमै पहिलोपटक अमेरिकामा नेपाली मूलका हिन्दू समुदायले आयोजना गरेको महत्त्वपूर्ण घटना मानिएको छ।

ओएचआरसी का मिडिया संयोजक सी.एम. निरौलाका अनुसार, उद्घाटन कार्यक्रमको पहिलो दिन आज बिहान ९ बजे भव्य कलश यात्राबाट आरम्भ भएको छ। कलश यात्रापछि विविध धार्मिक र सांस्कृतिक कार्यक्रमहरू सञ्चालन हुँदैछन्।

कार्यक्रममा भारतको बनारसबाट विशेष रूपमा आमन्त्रित पण्डित डा. हरि प्रसाद अधिकारीद्वारा शिव महिमा तथा गीतात्मक प्रवचन प्रस्तुत गरिएको छ। साथै, नेपाल, भारत र अमेरिका भरिका पण्डित, पुरोहित, आध्यात्मिक गुरु, समाजसेवी, पत्रकार, राजनैतिक व्यक्तित्व, व्यवसायी तथा अन्य क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको समेत उपस्थितिलाई महत्त्वका साथ हेरिएको छ।

कार्यक्रममा विशेष रूपमा भुटानी समुदाय, ह्यारिसबर्गका लोकल सिनेटर, काउंटी कमिशनर, प्रहरी प्रशासन लगायत अमेरिकी समुदायका प्रतिनिधिहरूले सहभागिता जनाइरहेका छन्, जसले यस कार्यक्रमको बहु-समुदायिक एकता र धार्मिक सहिष्णुतालाई अझ प्रगाढ बनाएको छ।

ओएचआरसी द्वारा आयोजना गरिएको यो ऐतिहासिक शिवलय उद्घाटन कार्यक्रमले हिन्दू धर्मको विश्वव्यापी प्रचारप्रसारमा नयाँ कीर्तिमान स्थापित गर्ने विश्वास गरिएको छ।










343 पटक हेरिएको 

