काठमाडौं – भुटानमा करिब ३० वर्ष कष्टकर जेलजीवन भोगेका राजनीतिक बन्दी मधुकर मगरको परिवारसँग पुनर्मिलन भएको छ। झण्डै तीन दशक जेलजीवन भोगेर नेपालको शरणार्थी शिविरमा फर्किन बाध्य पारिएका मगरलाई उनको परिवारले बेलडाँगी शरणार्थी शिविरमै गएर भेटेका हुन्।
सन् १९९२ को फेब्रुअरी महिनामा भुटानमा न्यायका लागि आवाज उठाउँदै राजनीतिक पर्चा बाँड्ने क्रममा मधुकर पक्राउ परेका थिए। त्यसपछि भुटान सरकारले उनलाई कठोर यातना दिँदै चेमगाङ सेन्ट्रल जेलमा राखेको थियो। करिब तीन दशकपछि, सन् २०२३ मा रिहा भएका मगरलाई अमेरिका पुनर्वास भइसकेकी उनकी दुई छोरीले बेलडाँगी शिविरमै पुगेर भेटेका थिए। मगर जेल पर्दा उनका छोरीहरू नाबालिग नै थिए। वर्षौंको प्रतीक्षापछिको भेटमा बुबा मधुकरसँग छोरीहरू भावुक बने।
भुटानको निरङ्कुश शासनविरुद्ध आवाज उठाउँदा जेल परेका मधुकर रिहा भएपछि नेपालको बेलडाँगी शरणार्थी शिविरमा शरण लिएर बसेका छन्। उनको परिवार भने तेस्रो मुलुक पुनर्वास कार्यक्रम अन्तर्गत संयुक्त राज्य अमेरिकामा बस्छ। लामो यात्रा तय गरेर मगरका दुई छोरीहरू पूर्वी नेपालको झापास्थित भुटानी शरणार्थी शिविरमा आफ्ना बुबाको दर्शन गर्न पुगेका थिए। उनीहरूको यो यात्रा बुबाप्रतिको गहिरो र अटल प्रेमको प्रमाण भएको भनी भुटानी राजनीतिक बन्दी रिहाइका लागि अन्तर्राष्ट्रिय अभियानका संयोजक राम कार्कीले बताएका छन्।
राम कार्कीले सामाजिक सञ्जालमा मगरको परिवारसँग पुनर्मिलन भएको तस्बिर साझेदार गर्दै लेखेका छन्, “उनीहरूमा बुबाको रिहाइको भावनात्मक प्रभाव स्पष्ट देखिन्थ्यो, किनभने उनीहरूले अन्ततः लगभग तीन दशकपछि उनलाई अँगालो हाल्ने मौका पाए।”
कार्कीले सन् २०१९ देखि भुटानका जेलमा बन्दी बनाइएकाहरूको तत्काल विना सर्त रिहाइको माग गर्दै आएका छन्। उनले मधुकरलाई शरणार्थी शिविरमा बस्न तथा जीवनयापनका लागि आवश्यक सहयोग जुटाउन पहल गरेका थिए।
भुटानी राजाको निर्दयी व्यवहारका कारण मधुकरजस्ता ३५ जना राजनीतिक बन्दी अझै पनि जेलमा कोचिएका छन्। उनीहरूको रिहाइका लागि कार्की नेतृत्वको अन्तर्राष्ट्रिय अभियानले दबाबमूलक गतिविधि सञ्चालन गर्दै आएको छ। तर, भुटानी सरकारले अहिलेसम्म कुनै चासो देखाएको छैन।

338 पटक हेरिएको 

