२२ असोज २०८३, बीन्यूज
भारतीय चलचित्र जगतका चर्चित अभिनेता तथा फिल्म निर्माता नाना पाटेकरको निधन भएको छ । ७५ वर्षीय पाटेकरको गोवास्थित आफ्नै निवासमा अस्वस्थ भएपछि अस्पताल लैजाँदै गर्दा निधन भएको भारतीय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । प्रारम्भिक जानकारीअनुसार उहाँको निधन कार्डियाक अरेस्टका कारण भएको हो । अस्पताल स्रोतका अनुसार चिकित्सकहरूले बचाउने प्रयास गरे पनि सफल हुन सकेनन्।

नाना पाटेकरको वास्तविक नाम विश्वनाथ पाटेकर हो । सन् १९५१ मा महाराष्ट्रमा जन्मनुभएका उहाँले मराठी रंगमञ्चबाट अभिनय यात्रा सुरु गर्नुभएको थियो । पछि उहाँले हिन्दी तथा मराठी चलचित्रमा करिब पाँच दशक लामो सक्रिय योगदान दिनुभयो । उहाँको अभिनय यात्रा सन् १९७८ को चलचित्र ‘गमन’ बाट सुरु भएको बताइएको छ ।

तीव्र संवाद अदायगी, गम्भीर अभिनय शैली र चरित्रमा डुबेर प्रस्तुत हुने क्षमताका कारण पाटेकर भारतीय चलचित्र क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल हुनुभयो । ‘परिन्दा’, ‘क्रान्तिवीर’, ‘सलाम बम्बे’, ‘प्रहार’, ‘तिरंगा’, ‘खामोशी’ र ‘वेलकम’ लगायतका चलचित्रमा उहाँको अभिनय विशेष रूपमा स्मरणीय मानिन्छ ।
नाना पाटेकरले अभिनयमा मात्र होइन, लेखन, निर्देशन र सामाजिक कार्यमा पनि सक्रिय भूमिका खेल्नुभयो। उहाँले भारतीय चलचित्र क्षेत्रमा र्पुयाएको योगदानका लागि तीनवटा राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गर्नुभएको थियो। साथै उहाँलाई भारत सरकारले पद्मश्री सम्मानबाट समेत सम्मानित गरेको थियो ।
कठोर स्वभाव, स्पष्ट अभिव्यक्ति र आफ्नै शैलीका कारण पाटेकर पर्दामा मात्र होइन, सार्वजनिक जीवनमा पनि चर्चित हुनुहुन्थ्यो। किसान, ग्रामीण जीवन र सामाजिक सरोकारका विषयमा उहाँले पटक–पटक आवाज उठाउनुभएको थियो ।
उहाँको निधनसँगै भारतीय चलचित्र क्षेत्रले एक सशक्त, मौलिक र प्रभावशाली कलाकार गुमाएको छ। पाटेकरका परिवार, सहकर्मी, चलचित्रकर्मी र प्रशंसकहरू अहिले शोकमा छन्। उहाँका अभिनय, संवाद र सामाजिक चेतनासँग जोडिएका काम भने लामो समयसम्म सम्झनामा रहनेछन् ।




