भूटानबाट विस्थापन, स्वदेश फर्कने अधुरो सपना र पुनर्वासपछिको पारिवारिक विखण्डनलाई समेटिएको चलचित्र हेर्न शरणार्थी बस्तीसँगै आसपासका स्थानीय दर्शकहरूको बाक्लो उपस्थिति
१८ कात्तिक २०८३, झापा
तीन दशकभन्दा लामो समयदेखि शरणार्थी जीवन बिताउँदै आएका भूटानी शरणार्थीहरू आफ्नो दुःख, संघर्ष र अधुरो सपनालाई आफैँ चलचित्रमा उतार्न थालेका छन्। भूटानी शरणार्थी कलाकारकै लेखन, निर्देशन, निर्माण तथा अभिनयमा तयार गरिएको लघु चलचित्र ‘देश दुखेको बेला’मंगलबारदेखि झापाको बेलडाँगी शरणार्थी शिविरमा प्रदर्शन सुरु गरिएको हो ।
भूटानबाट विस्थापित भएपछि शरणार्थी शिविरमा बिताउनुपरेको कष्टकर जीवन, जन्मभूमि फर्कन गरिएको लामो संघर्ष र तेस्रो मुलुक पुनर्वासपछि परिवारमा आएको विखण्डनलाई चलचित्रको मुख्य कथावस्तु बनाइएको छ ।
विरेन मगरको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र बेलडाँगी शरणार्थी शिविरस्थित नाटक हलमा औपचारिक कार्यक्रमबीच प्रदर्शन गरिएको हो। चलचित्र हेर्न बेलडाँगी शरणार्थी बस्तीका बासिन्दासँगै आसपासका स्थानीय क्षेत्रबाट समेत दर्शकहरूको बाक्लो उपस्थिति रहेको थियो।

आफ्नै कथा आफैँ भन्न थाले शरणार्थी कलाकार
भूटानी शरणार्थीको विस्थापन, संघर्ष र पीडालाई समेटेर यसअघि पनि विभिन्न चलचित्र निर्माण भएका छन्। तर शरणार्थी समुदायका कलाकारहरू आफैँ लेखन, निर्देशन, निर्माण तथा अभिनयमा सक्रिय भएर आफ्नो कथा प्रस्तुत गर्नु यस चलचित्रको विशेषता रहेको कार्यक्रमका सहभागीहरूले बताएका छन्।
चलचित्र प्रदर्शन कार्यक्रमका प्रमुख अतिथि तथा पत्रकार एवं चलचित्र निर्देशक डिकेश लामाले भूटानी शरणार्थीका विषयमा यसअघि निर्माण भएका चलचित्रहरूको चर्चा गर्दै ‘देश दुखेको बेला’लाई शरणार्थी समुदायको आफ्नै सिर्जनात्मक प्रयासका रूपमा लिनुपर्ने बताउनुभयो।
उहाँका अनुसार भूटानी शरणार्थीको विषयमा ‘ज्वालामुखी’, ‘झुपडीको जिन्दगी’, ‘टुक्रिएको मुटु’ लगायत दर्जनभन्दा बढी चलचित्र निर्माण भइसकेका छन । ‘टुक्रिएको मुटु’का निर्देशकसमेत रहनुभएका लामाले शरणार्थी कलाकारहरू आफैँ निर्माण र अभिनयमा अग्रसर भएर आफ्नो इतिहास प्रस्तुत गर्नु महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो ।
उहाँले शरणार्थी समुदाय आफैँले निर्माण र अभिनय गरेको यो पहिलो चलचित्र भएको दाबी गर्दै अब भूटानी शरणार्थीहरू रंगमञ्च र चलचित्रमार्फत आफ्ना कथा आफैँ प्रस्तुत गर्न सक्षम भएको उल्लेख गर्नुभयो ।
बेलडाँगी बस्ती व्यवस्थापन समितिका सचिव सन्चहाङ सुब्बाले चलचित्रले भूटानी शरणार्थीहरूले लामो समयदेखि भोग्दै आएका दुःख र पीडालाई समाजसामु प्रस्तुत गर्ने प्रयास गरेको बताउनुभयो ।
कलाकारितामा समेत अनुभव हासिल गरिसक्नुभएका सुब्बाले शरणार्थी जीवनका यथार्थ घटनालाई चलचित्रमार्फत प्रस्तुत गर्नु समुदायका लागि महत्वपूर्ण प्रयास भएको उल्लेख गर्नुभयो । उहाँका अनुसार भूटानी शरणार्थीहरूले जन्मभूमि छाड्नुपरेको पीडा, शिविरमा बिताउनुपरेको जीवन र पारिवारिक बिछोडका अनुभवहरू चलचित्रमा समेटिएका छन्।
आफ्नै समुदायका कलाकारहरूले आफ्नो कथा प्रस्तुत गर्दा शरणार्थीहरूले भोगेको वास्तविकता नयाँ पुस्ता र बाहिरी समाजसम्म र्पुयाउन सहयोग पुग्ने सुब्बाको भनाइ छ।
चलचित्र प्रदर्शनमा शरणार्थी शिविरका बासिन्दासँगै आसपासका क्षेत्रबाट पनि उल्लेख्य संख्यामा दर्शकहरू उपस्थित भएका थिए। यसले शरणार्थी समुदायको कथावस्तुप्रति स्थानीय दर्शकहरूको समेत चासो रहेको देखाएको छ।
विस्थापनदेखि पुनर्वासपछिको एक्लोपनसम्म
‘देश दुखेको बेला’ले भूटानबाट विस्थापित भएर पूर्वी नेपालका शरणार्थी शिविरमा पुगेका नेपालीभाषी भूटानीहरूको जीवनका विभिन्न चरणलाई समेटेको छ ।
आफ्नो जन्मभूमि, घरजग्गा र परिचित समाज छाडेर शरणार्थी जीवन बिताउनुपरेको अवस्था चलचित्रमा चित्रण गरिएको छ । भूटान फर्कन चाहने शरणार्थीहरूको प्रयास, स्वदेश फिर्तीको लामो प्रतीक्षा र त्यसक्रममा भोग्नुपरेका कठिनाइलाई पनि चलचित्रमा स्थान दिइएको छ । त्यसैगरी तेस्रो मुलुक पुनर्वासपछि परिवारका सदस्यहरू विभिन्न देशमा छरिनुपर्दा उत्पन्न भएको एक्लोपन, पारिवारिक बिछोड र वृद्धावस्थामा सहाराविहीन हुनुपर्ने अवस्थालाई चलचित्रको महत्वपूर्ण कथावस्तु बनाइएको छ ।
चलचित्रले भूटानी शरणार्थीको समस्यालाई विस्थापनको घटनामा मात्र सीमित नराखी पुनर्वासपछि पनि बाँकी रहेका मानवीय तथा पारिवारिक समस्यासँग जोड्ने प्रयास गरेको छ ।

बेलडाँगीकै कलाकार मुख्य भूमिकामा
विरेन मगरको लेखन तथा निर्देशनमा तयार गरिएको चलचित्रमा बेलडाँगी नाट्य समूहका अध्यक्षसमेत रहनुभएका कलाकार जंग मगरले मुख्य भूमिका निर्वाह गर्नुभएको छ ।
चलचित्रमा भीममाया सुब्बा, जसबहादुर गुरुङ, गणेश धिमाल, धनमाया मगर, सन्जित राई, विमला सुब्बा, शम्भुहाङ राई, धनमान राई र विरेन विश्वलगायत कलाकारले अभिनय गरेका छन् । सेकमरी क्लबको निर्माण सहयोगमा तयार गरिएको चलचित्रमा शरणार्थी समुदायका कलाकारहरूको सक्रिय सहभागिता रहेको छ ।
शरणार्थी शिविरकै कलाकार, अनुभव र सिर्जनशीलतालाई प्रयोग गरेर आफ्नै कथावस्तुमा चलचित्र निर्माण गरिएको हो ।
चलचित्र प्रदर्शनअघि आयोजित औपचारिक कार्यक्रममा नेपाली रंगमञ्च तथा साहित्य क्षेत्रका विभिन्न व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।
बेलडाँगी बस्ती व्यवस्थापन समितिका सचिव सन्चहाङ सुब्बाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकार तथा चलचित्र निर्देशक डिकेश लामा प्रमुख अतिथि रहनुभएको थियो । त्यसैगरी पत्रकार देवेन्द्र भट्टराई, प्राध्यापक तथा साहित्यकार जीवन भट्टराईलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा कदम थिएटर, चुलाचुली थिएटर र शब्द थिएटरसँग आबद्ध कलाकारहरूका साथै अन्य नाट्यकर्मी तथा साहित्यकारहरू पनि सहभागी भएका थिए । चलचित्र हेर्न बेलडाँगी शरणार्थी बस्तीका वृद्धवृद्धा, युवा तथा स्थानीय क्षेत्रका दर्शकहरूको बाक्लो उपस्थिति रहेको थियो। शरणार्थी जीवनकै घटनामा आधारित चलचित्र आफ्नै समुदायका कलाकारहरूले निर्माण गरेर प्रदर्शन गरेको अवसरलाई सहभागीहरूले चासोका साथ हेरेका थिए।


इतिहास जोगाउने माध्यम बन्दै चलचित्र
भूटानी शरणार्थीहरूको समस्या राजनीतिक तथा मानवीय मुद्दाका रूपमा लामो समयदेखि उठ्दै आएको छ। तर समुदायले भोगेका अनुभव, संघर्ष र भावनालाई आफैँ कलात्मक रूपमा प्रस्तुत गर्नु पनि महत्वपूर्ण बन्दै गएको छ । विशेषगरी तेस्रो मुलुक पुनर्वाससँगै विभिन्न देशमा छरिएका नेपालीभाषी भूटानीको नयाँ पुस्तालाई आफ्ना अभिभावकले भोगेको विस्थापन र शरणार्थी जीवनबारे जानकारी गराउन चलचित्र तथा नाटक प्रभावकारी माध्यम बन्न सक्छन् ।
‘देश दुखेको बेला’ले पनि भूटानी शरणार्थीहरूले भोगेका घटनालाई दृश्य र अभिनयमार्फत अभिलेखीकरण गर्ने प्रयास गरेको छ । आफ्नो जन्मभूमि गुमाएर शरणार्थी जीवन बिताउनुपरेको पीडा, स्वदेश फर्कने अधुरो सपना र परिवारबाट टाढा हुनुपरेको अवस्थालाई कथामा समेटिनुले चलचित्रलाई शरणार्थी समुदायको इतिहास र वर्तमानसँग जोडेको छ ।
कुनै समय अरूले निर्माण गरेका चलचित्रमा आफ्ना दुःख र पीडा हेर्ने भूटानी शरणार्थीहरू अहिले आफ्नै कथा आफैँ लेख्न, अभिनय गर्न र पर्दामा उतार्न थालेका छन्। बेलडाँगीमा प्रदर्शन सुरु भएको ‘देश दुखेको बेला’ यही यात्राको एउटा उदाहरण बनेको छ ।



