झापा ।
कवि, लेखक तथा साहित्यकार सि.एम निरौलाको चिहानबाट चिन्तन विमोचन भएको छ ।

घरदलान साहित्य, बुद्धशान्तिले शनिबार झापाको बुधबारेमा एक कार्यक्रम गरि निरौलाको तेस्रो कृति चिहानबाट चिन्तन विमोचन गरेको हो ।

रामजानकी मन्दिर, बुधबारेको सभाकक्षमा आयोजित कार्यक्रमको अध्यक्षता घरदलान साहित्यका अभियन्ता शिवकुमार पौडेलले गर्नु भएको थियो । कार्यक्रममा प्रमुख आतिथि आख्यानकार पुण्यप्रसाद खरेल रहनुभएको थियो ।

पदम निरौलाले सञ्चालन गर्नु भएको कार्यक्रममा भुटानी शरणार्थी शिविर बेलडाँगीबाट साहित्यकार वीरेन मगर, तीलक राई, दिल भुटानी, पथरीका टीका अधिकारी, अमेरिकी नागरिक (भुटानी) वरिष्ठ साहित्यकार भक्त घिमिरेलाई लगायत ले आतिथ्य ग्रहण गर्नु भएको थियो ।

साहित्यकार एवं अभियान्ता जय भण्डारी स्वागत मन्तव्यबाट सुरू भएको विमोचन कार्यक्रममा प्रमुख अतिथि पुण्यप्रसाद खरेलसमेत मञ्चासिन व्यक्तित्वहरुबाट सिएम निरौलाको तेस्रो तथा पछिल्लो कविता कृति ‘चिहानबाट चिन्तन’को सामुहिक लोकार्पण गरिएको थियो ।

कार्यक्रममा साहित्यकार लक्ष्मीप्रसाद रिजालले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो ।

त्यसपछि कविहरु गीता सुवेदी नेपाल, तिलक राई, दुर्गाप्रसाद सिग्देल, टीका भट्टराई नेपाल, तुलसी निरौला, तुलसीप्रसाद भट्टराई तथा मोक्ष खतिवडाले सद्यलोकार्पित कृतिको एक कविता तथा आफ्नो कविता वाचन गर्नुभयो ।

प्रमुख अतिथि पुण्यप्रसाद खरेल, भक्त घिमिरे, कवि केशव आचार्य, दिल भुटानीले लोकार्पित कृति ‘चिहानबाट चिन्तन’को प्रसङ्गलाई शिरानी हालेर मातृभूमिबाट जबर्जस्ती बर्बर रुपमा खेदिन बाध्य भुटानी नागरिकको पीडा, उनीहरुको मातृभूमि भुटानमै पुनस्र्थापना हुनुपर्ने कुरा आदिका प्रसङ्ग उठाउँदै शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रमको अन्त्यमा कार्यक्रममा उपस्थित सबैप्रति धन्यवाद तथा आभार व्यक्त गर्दै कार्यक्रमका अध्यक्ष शिवकुमार पौडेलले शुभकामनासहित यस कार्यक्रमलाई समापन गर्नुभयो ।
