दश मेगावाटको झापामा सौर्य ऊर्जा

दश मेगावाटको झापामा सौर्य ऊर्जा

 

 

 

झापा  : कोशी प्रदेशमा पहिलो पटक शिवसताक्षी नगरपालिका–४ सालमारामा झापा इनर्जीले निर्माण गरेको सौर्य ऊर्जा परियोजनाले १० मेगावाटको विद्युत् उत्पादन सुरु गरेको छ।

सोलार प्यानलमार्फत फुलफेजमा उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणको बुलुचोक सबस्टेसनमा जोडिएको छ। यहाँबाट उत्पादित बिजुलीको नमूना परीक्षण सकिएर निरन्तर उत्पादन सुरु भइसकेको झापा इनर्जीका प्रबन्ध सञ्चालक सुवास भट्टराईले बताए।

निजी क्षेत्रको सबैभन्दा धेरै क्षमताको विद्युत् उत्पादन गर्न सक्नु कोशी प्रदेशका लागि गौरवको विषय भएको उनको भनाइ छ। चार वर्षअघि सुरु भएको परियोजना रु ८० करोडको लगानीमा २१ बिघा जमिनमा निर्माण गरिएको छ।

करिब ७५ प्रतिशत माछापुच्छ्रे र सिभिल बैंकको वित्तीय साझेदारी रहेको परियोजनामा २५ प्रतिशत सर्वसाधारणको शेयरबाट रकम जुटाएर निर्माण गरिएको उनले जानकारी दिए। पूर्वपश्चिम राजमार्गको दूधे बजारबाट करिब १० किलोमिटर दक्षिण ग्रामीण क्षेत्रमा परियोजनास्थल  छ। आयोजना र प्राधिकरणबीच २०७८ मङ्सिर १२ मै विद्युत् खरिद प्रतियुनिट सात रुपैयाँ ३० पैसाका दरले गर्ने सम्झौता भएको थियो।

झापा निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य लालप्रसाद साँवाको परिकल्पनामा चार वर्षअघि सुरु भएको सौर्य ऊर्जा परियोजनाको शिलान्यास विसं २०७८ मा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले गरेका थिए।

नेपालमा हाल २९ मेगावाट सौर्य विद्युत् उत्पादन भइरहेको र सन् २०३० सम्ममा यसलाई बढाएर एक हजार मेगावाट पुर्‍याउने राष्ट्रिय लक्ष्य रहेको कम्पनीका अध्यक्ष साँवाले बताए। विदेशमा सौर्य ऊर्जाको ठूला परियोजना हेरेपछि आफ्नो मुलुकमा यसको सम्भावना अध्ययन गरेर झापा इनर्जीको स्थापना गरिएको उनले बताए।

उनले मुलुकको आर्थिक समृद्धिका लागि जनसहभागितामा आधारित यस्ता परियोजनाले ठूलो योगदान पुर्‍याउने बताए।

More From Author

आत्मनिर्भर बनेका डम्बर सर पशुपालनबाट

दुई जनाको मृत्यु,‘मिनी ट्रक’ दुर्घटनामा

Leave a Reply

Your email address will not be published. Required fields are marked *