महिला र विदेशी नागरिकलाई सुन ओसारपोसारमा प्रयोग गर्दै तस्कर

महिला र विदेशी नागरिकलाई सुन ओसारपोसारमा प्रयोग गर्दै तस्कर

 

 

 

काठमाडौं : सुन तस्करहरूले पछिल्लो समय सुन ओसारपोसारमा महिला र विदेशी नागरिकलाई प्रयोग गर्ने गरेका छन्।

मंसिर अन्तिम साता यता अवैध सुन ओसारपोसारमा १४ जना पक्राउ परिसकेका छन्। जसमा ७ जना विदेशी नागरिक रहेका छन् भने नेपालीसहित तीनजना महिला रहेको त्रिभुवन अन्ताराष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयको तथ्यांक छ।

गत मंसिर २१ गते राति फ्लाई दुबईबाट काठमाडौं ओर्लिएका गोरखाका चन्द्रबहादुर घलेलाई १४ किलो सुनसहित भन्सार कार्यालयले नियन्त्रणमा लिएको थियो। त्यसलगत्तै चेकजाँचमा कडाइ गरेको भन्सारले त्यसयता स-साना परिमाणमा ९ पटक गरी १० किलो ३६३ ग्राम सुन बरामद गरिसकेको छ।

उनका अनुसार समातिनेमा ३ जना भारतीय नागरिक रहेका छन् भने दुईजना सुडानी नागरिक छन्। यसैगरी इजिप्ट, चिनियाँ र श्रीलंकाली नागरिक एकएकजना सुन तस्करीको आरोपमा पक्राउ पर्दा ६ जना नेपाली नागरिक छन्।

गत मंसिर २४ गते ६९.०४ ग्राम सुनसहित एक नेपाली समातिए। सोही दिन ६.६६५ ग्राम अवैध सुनसहित दुई सुडानी नागरिक र एक इजिप्टका नागरिक पक्राउ परेका थिए।

यसैगरी मंसिर २५ गते थानकोट नाकाबाट काठमाडौं भित्रिँदै गरेका जीपमा लुकाएर ल्याएको दुई किलो सुनसहित एकजना चिनियाँ नागरिकसहित चारजना समातिए। त्यसको दुई दिनपछि २७ गते १७० ग्राम सुनसहित विमानस्थलबाट एक भारतीय नागरिकलाई पक्राउ गरिएको प्र् वक्ता ढुंगानाले जानकारी दिए।

यसैगरी पुस ८ गते २०९ ग्राम सुनसहित एक नेपाली, पुस ११ गते ६० ग्राम सुनसहित एक नेपाली महिला, पुस १२ गते १३१ ग्राम सुनसहित एक भारतीय र त्यसकै भोलिपल्ट अर्का भारतीय नागरिक ३२८ ग्राम सुनसहित समातिए। पुस २२ गते करिब एक किलो सुनसहित श्रीलंकाली महिला समातिएकी थिइन्।

सुन तस्करीको पछिल्लो तथ्यांकले तस्करले महिला र विदेशी नागरिकलाई प्रयोग गर्ने गरेको पाइएको प्रवक्ता ढुंगानाले बताए। महिलामाथि निगरानी कम हुने र विमानस्थल कक्षमा राम्रोसँग स्वागत गर्ने नेपालको परम्परा भएका कारण पनि महिलालाई तस्करीमा प्रयोग गर्न थालिएको भन्सार कार्यालयको अनुमान छ।

‘१४ किलो सुन समातिएपछि धेरैजसो विदेशी नागरिक समातिएका छन्। जसमा सुडानी, भारतीय, इजिप्ट र श्रीलंकाका नागरिक समातिएका छन्’, प्रवक्ता ढुंगानाले थपे, ‘यो तथ्यांकले नेपालीको हकमा चाहिँ अहिले महिलालाई प्रयोग गर्न थाले कि? भन्ने देखिएको छ। यद्यपि केही केशलाई नियालेर यकिनका साथ भन्न सकिँदैन तर पछिल्लो समय यस्तो पनि तरिका देखिएको छ।’

पछिल्लो तस्करीका प्रकृतिलाई नियाल्दा भन्सारले चेकजाँचका क्रममा कडाइ नगर्ने वर्गका नागरिकलाई अवैध सुन बोकाउने गरेको पाइएको भन्सारको बुझाइ छ। महिला र वृद्ध नागरिकलाई दिइने सहानुभूति र विदेशी नागरिकलाई नेपालमा हार्दिकतापूर्वक गरिने स्वागतको आडमा सुन तस्कर हुने गरेको देखिएको ढुंगानाले बताए।

अवैध रूपमा भित्र्याएको १४ किलो सुन भन्सार कार्यालयले समातेपछि अवैध सुन लगातार समातिएको दाबी गर्दै उनले भन्सारका टोलीसहित सुरक्षाकर्मीले पनि सुन र भरिया समातेको बताए।

More From Author

भण्डारीले पर्वतमा एकसाथ सम्बोधन गर्दै र सभापति देउवासहित कोइराला

चार जनाको मृत्यु छुट्टाछुट्टै सवारी दुर्घटनामा

Leave a Reply

Your email address will not be published. Required fields are marked *