अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिइने र कालिमाटीका भूमिहिन

अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिइने र कालिमाटीका भूमिहिन

सल्यान :

भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबास व्यवस्थापन गर्न कालिमाटी गाउँपालिका-२ को चिसातराबाट जग्गा नापजाँच शुरु भएको हो।

भूमिहिन दलित सुकुम्बासी, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरणका लागि सल्यानको कालिमाटी गाउँपालिकामा जग्गा नापजाँच शुरु भएको छ।

जग्गा नापजाँचका लागि सम्बन्धित व्यक्तिको नागरिकता, उपलब्ध अन्य प्रमाण र निवेदन दर्ताको निस्सासहित उपस्थित भई आफूले भोग गरेको जग्गाको साँध सिमाना देखाई नापी गराउन वडावासीलाई आग्रह गरिएको छ।

आगामी चैतसम्ममा पहिलो चरणको जग्गाधनी पुर्जा वितरण गर्ने लक्ष्यसहित राष्ट्रिय भूमि आयोगसँगको समन्वयमा सम्झौताअनुसार काम अघि बढाइएको गाउँपालिकाका अध्यक्ष दानबहादुर केसीले जानकारी दिए।

उनका अनुसार गाउँपालिकामा २ हजार ७१७ जना भूमिहिन तथा अव्यवस्थित बसोबासीले निवेदन दर्ता गरि कम्प्युटरमा प्रविष्टि भइसकेको छ। पहिलो चरणमा कालिमाटी-२ मा ४४१ जनाको जग्गा नापजाँच हुँदै छ।

यसपछि क्रमशः वडा नम्बर ३, ४, ५, १, ६ र ७ मा नाप नक्साको कार्य गरिने अध्यक्ष केसीले बताए। यसबाट वर्षौंदेखिको जग्गासम्बन्धी समस्या समाधान हुने विश्वास गर्दै उनले वडा स्तर र पालिका स्तरको सहजीकरण समितिले पहिलो चरणका सबै काम सम्पन्न गरिसकेको बताए।

भूमि आयोगसँगको सहकार्यमा नापनक्सा अगाडि बढाएको र चाँडै भूमिसम्बन्धी समस्यामा परेका सबै नागरिकको जग्गाधनी पुर्जाको लागि प्रक्रिया शुरु हुने गाउँपालिकाले जनाएको छ।

वर्षौंदेखि बस्दै आएको जग्गाजमिनको लालपुर्जा नहुँदा सुकुम्बासी जीवन बिताउनुपरेको स्थानीयको गुनासो छ।

बारम्बार लगत संकलन गरेर लगे पनि काम नभएको भन्दै स्थानीयले अब भने भूमि आयोग र गाउँपालिकाको सक्रियता तथा नाप नक्साको कामले जग्गाको लालपुर्जा पाउने आशा पलाएको बताएका छन्।

More From Author

रवि लामिछानेविरूद्ध नेविसंघको उजुरी र प्रदर्शन सहकारी विभागमा

१५ जना घाइते, दार्चुलामा बस दुर्घटना

Leave a Reply

Your email address will not be published. Required fields are marked *