
ह्यारिसबर्ग — क्रियमाण फाउण्डेशनको आयोजनामा ह्यारिसबर्ग प्रिमियर लिग (एचपीएल) २०२६ को ड्राफ्ट डे कार्यक्रम आइतबार, अप्रिल ५ मा डिस्का हलमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा कुल ९६ जना खेलाडीहरूलाई चार टोली—सस्केहाना टाइटन्स, लिबर्टी वारियर्स, ह्यारिसबर्ग थन्डरहक्स र क्यापिटल स्ट्राइकर्स—मा ड्राफ्ट गरिएको थियो, जसले दोस्रो सिजनप्रति खेलाडी र समुदायको उत्साह झन् बढाएको छ।

ड्राफ्ट डे कार्यक्रममा समुदायका विभिन्न प्रतिष्ठित व्यक्तित्वहरूले आ–आफ्नो टोलीको प्रतिनिधित्व गर्दै सक्रिय सहभागिता जनाएका थिए। उनीहरूले खेलाडीहरूलाई शुभकामना दिँदै एचपीएलले युवा प्रतिभा विकास गर्नुका साथै सामुदायिक एकता सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। क्यापिटल स्ट्राइकर्सको तर्फबाट यधु प्रसाद आचार्य र बन्धु अधिकारी, ह्यारिसबर्ग थन्डरहक्सबाट टीका ढुंगाना, सस्केहाना टाइटन्सबाट प्रजित राना र प्रताप मगर तथा लिबर्टी वारियर्सबाट विनय लुइटेल, रोबिन गुरुङ र युराज कोइरालाले टोली प्रतिनिधित्व गरेका थिए।

ड्राफ्ट डेपछि अप्रिल १२ मा सम्पन्न क्याप्टेन मिटिङमार्फत प्रत्येक टोलीले आफ्नो नेतृत्व चयन गरेको छ। क्यापिटल स्ट्राइकर्सको कप्तान तारा कौशिक र उपकप्तान सागर राई चयन भएका छन् भने सस्केहाना टाइटन्सको कप्तान कैलाश मगर र उपकप्तान सागर आचार्य बनेका छन्। त्यस्तै, लिबर्टी वारियर्सको कप्तान नारायण गौतम र उपकप्तान भगत भण्डारी चयन हुँदा ह्यारिसबर्ग थन्डरहक्सको कप्तान अनिल न्यौपाने र उपकप्तान तारा अधिकारी रहेका छन्।

कार्यक्रमका क्रममा सार्वजनिक स्वास्थ्य कार्यक्रम निर्देशक लीला चम्लागाईंले #PlayForLife अभियान अन्तर्गत मानसिक स्वास्थ्य, डिप्रेसन तथा आत्महत्या सम्बन्धी विषयमा सचेतनामूलक प्रस्तुति दिँदै “९८८” लाई “९११” जत्तिकै सहज रूपमा सम्झन र प्रयोग गर्न सकिने बनाउनुपर्नेमा जोड दिनुभयो। यसले खेलकुदसँगै सामाजिक उत्तरदायित्वप्रति पनि लिगको प्रतिबद्धता देखाएको छ।
यसै अवसरमा ह्यारिसबर्ग प्रिमियर लिगका व्यवस्थापक सुक तामाङले ह्यारिसबर्ग क्रिकेट एलायन्सका पुराना तथा नयाँ सदस्यहरूको निरन्तर साथ र समर्थनप्रति आभार व्यक्त गर्दै दोस्रो सिजनलाई अझ सफल बनाउन सबैको सक्रिय भूमिका आवश्यक रहेको बताए। उनले खेलाडीहरूलाई स्वयंसेवकका रूपमा व्यवस्थापनमा सहभागी भई लिगलाई थप सशक्त बनाउन आग्रह पनि गरे।
क्रियमाण फाउण्डेशनका प्रमुख कार्यकारी अधिकृत तथा अध्यक्ष भरत तिम्सिनाले ह्यारिसबर्ग प्रिमियर लिग स्थानीय खेलकुद प्रवर्द्धन, युवा खेलाडीहरूलाई अवसर प्रदान गर्ने र समुदायभित्र एकता मजबुत बनाउने उद्देश्यसहित सञ्चालन गरिएको उल्लेख गर्दै यसले दीर्घकालीन सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा दोस्रो सिजनका मुख्य प्रायोजक गोल्डेन होम केयर एलएलसीलाई विशेष धन्यवाद दिइएको थियो भने कार्यक्रम स्थल उपलब्ध गराएकोमा सेन्सी रन राईप्रति आयोजकले आभार व्यक्त गरेका थिए। आयोजकका अनुसार क्रिकेट मैदानको अभावका कारण स्थानीय खेलाडीहरूले अभ्यासमा कठिनाइ भोग्दै आएका छन्, र एचपीएलले सबै खेलाडीलाई एउटै प्लेटफर्ममा ल्याएर अनुभव आदानप्रदान तथा सीप विकास गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
ड्राफ्ट डे सफलतापूर्वक सम्पन्न भएसँगै ह्यारिसबर्ग प्रिमियर लिग २०२६ का खेलहरू अप्रिल २० देखि लिङ्गल पार्क क्रिकेट मैदानमा सुरु हुनेछन्, जसले दोस्रो सिजनलाई थप प्रतिस्पर्धात्मक र रोमाञ्चक बनाउने विश्वास लिइएको छ।



