
पेन्सिल्भेनिया — अमेरिकामा रहेका नेपाली तथा भुटानी समुदायका स्रष्टाहरूको सहभागितामा एक विशेष सांगीतिक तथा साहित्यिक कार्यक्रम आयोजना हुने भएको छ। GBLO र साहित्य कला संगमको संयुक्त आयोजनामा गीतकार गोविन्द हुमागाईं द्वारा लेखिएको र सिर्जना गरिएको गीत ‘एल्बम एण्ड बुक लञ्च सेरेमोनी’ अप्रिल २५, २०२६ मा पेन्सिल्भेनियाको पाल्मायरा शहरमा सम्पन्न हुने तय भएको छ।
कार्यक्रममा गायक तथा सर्जकहरूको नयाँ एल्बम “बुलाकी–२” र कृति “फूलको आँसु” को औपचारिक विमोचन गरिनेछ। आयोजकका अनुसार यो कार्यक्रम संगीत र साहित्यप्रेमीहरूका लागि विशेष आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ।
कार्यक्रम दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म ४० वेस्ट पाइन स्ट्रिट, पाल्मायरा, पिए १७०७८ मा सञ्चालन हुनेछ। कार्यक्रममा विभिन्न कलाकार, गायक, संगीतकार तथा साहित्यकारहरूको उपस्थिति रहनेछ भने सांगीतिक प्रस्तुति र साहित्यिक अभिव्यक्तिहरू पनि समावेश गरिनेछन्।
साथै कार्यक्रममा नृत्य र कविता वाचन पनि रहनेछ भने प्रत्यक्ष (लाइभ) संगीतसहित प्रस्तुति गरिनेछ, जसले कार्यक्रमलाई अझ आकर्षक बनाउने विश्वास गरिएको छ।
आयोजक संस्थाहरूले यस कार्यक्रममार्फत नेपाली भाषा, साहित्य र संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्य राखेका छन्। साथै, प्रवासमा रहेका नेपाली समुदायबीच सांस्कृतिक एकता मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रममा सहभागी भई नयाँ सिर्जनाहरूको विमोचनसँगै कलाकारहरूको प्रत्यक्ष प्रस्तुति अवलोकन गर्न आयोजकले सबैलाई आमन्त्रण गरेका छन्।



