
अमेरिका-मानव अन्तरिक्ष इतिहासमा करिब पाँच दशकपछि चन्द्रमातर्फ गरिएको महत्वपूर्ण यात्रा अन्तर्गत नासाको आर्टेमिस–२ अभियान सफलतापूर्वक सम्पन्न भएको छ। १० दिनसम्म चन्द्रमाको परिक्रमा गरेर फर्किएको चार जना अन्तरिक्ष यात्री बोकेको ओरायन क्रु क्याप्सुल प्रशान्त महासागरमा सुरक्षित रूपमा अवतरण गरेको नासाले जनाएको छ।
अमेरिकी नौसेनाको हेलिकप्टरबाट खिचिएका दृश्यहरूमा सान डिएगो नजिकै समुद्रमा तैरिरहेको क्याप्सुल देखिन्छ, जहाँ उद्धार टोली तीव्र गतिका डुङ्गामार्फत घटनास्थलतर्फ अघि बढिरहेका छन्।
यस ऐतिहासिक अभियानको नेतृत्व कमाण्डर रीड वाइजम्यानले गरेका थिए। चालक दलमा पाइलट भिक्टर ग्लोभर, मिशन विशेषज्ञ क्रिस्टिना कोच तथा क्यानडियन अन्तरिक्ष एजेन्सीका जेरेमी ह्यान्सन सहभागी थिए।
डिसेम्बर १९७० मा भएको एपोलो १७ अभियानपछि चन्द्रमाको यात्रा पूरा गरेर सुरक्षित रूपमा पृथ्वी फर्किने यी पहिलो मानव बनेका छन्। अवतरणपछि कमाण्डर वाइजम्यानले सबै सदस्यहरू सुरक्षित र स्वस्थ रहेको जानकारी दिएका छन्।
हाल अन्तरिक्ष यात्रीहरूलाई क्याप्सुलबाट बाहिर निकाल्नुअघि आवश्यक प्राविधिक प्रक्रिया पूरा गर्ने काम भइरहेको छ, जसमा ओरायनको विद्युत प्रणाली बन्द गर्ने लगायतका सुरक्षात्मक कदम समावेश छन्। नौसेनाको टोलीले क्याप्सुल वरिपरि विशेष इन्फ्लेटेबल प्लेटफर्म तयार गरेर उद्धार प्रक्रिया अघि बढाइरहेको छ।
यस सफलतासँगै नासाले आगामी सन् २०२७ मा तय गरिएको आर्टेमिस–३ अभियानको तयारी तीव्र बनाउने भएको छ। उक्त अभियानमार्फत चन्द्रमामा दीर्घकालीन उपस्थिति कायम गर्ने र भविष्यमा मंगल ग्रहसम्म मानव यात्राको मार्ग प्रशस्त गर्ने लक्ष्य राखिएको छ।



