
झापा, १६ चैत्र / झापाको दमक–बेलडाँगी क्षेत्रमा सम्पन्न साहित्यिक रियालिटी शो ‘मेरो कविता : द रिदम अफ पोयट्री’ सिजन–१ ले नयाँ प्रतिभाहरूलाई राष्ट्रिय स्तरमा चिनाउन सफल भएको छ। प्रतियोगिताको ग्रान्ड फिनाले भव्य रूपमा सम्पन्न हुँदै विजेताहरू घोषणा गरिएको हो।
भारतको सिक्किमबाट सहभागी कवि सोनाम पाल्जोर तामाङले उत्कृष्ट प्रस्तुति दिँदै उपाधि जितेका छन्। उनले नगद ३ लाख रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन्। त्यस्तै, सुनसरीका प्रवेग हाङसोराङ प्रथम उपविजेता बन्दै १ लाख रुपैयाँसहित सम्मानित भए। झापाका टोलीप्रसाद राजवंशी दोस्रो उपविजेता घोषित हुँदै ७५ हजार रुपैयाँ प्राप्त गर्दा फिदिमका शेशे थाम्सुहाङ तेस्रो उपविजेता बनेर ५० हजार रुपैयाँसहित पुरस्कृत भएका छन्।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उनले काठमाडौं केन्द्रित साहित्यिक सोचलाई तोड्दै यस्ता कार्यक्रमहरूले मोफसलका प्रतिभालाई अघि ल्याएको बताए।
यस रियालिटी शोको निर्माण “माई प्लेटफर्म” ले गरेको हो, जसको निर्देशन केवल क्षेत्रीले गरेका थिए भने पवित्रा राई सहायक निर्देशकको भूमिकामा थिइन्। डिजिटल अडिसन मंसिर ९ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपालसहित विभिन्न देशबाट २५० भन्दा बढी कविहरूले सहभागिता जनाएका थिए। विभिन्न चरण पार गर्दै अन्ततः ४ उत्कृष्ट प्रतिस्पर्धी फाइनलमा पुगेका थिए।
निर्णायक मण्डलमा हेमन यात्री, उत्तम तुम्सा लिम्बु, सुमन स्मारिका र अज्ञात ददी रहेका थिए। कार्यक्रममा जिबिएलओ (GBLO) का अध्यक्ष पातलो अन्तरे, कोषाध्यक्ष शेखर कोइराला र बेलडाँगी शिविरका सचिव सञ्चहाङ सुब्बाले शुभकामना मन्तव्य दिएका थिए।
साथै कार्यक्रममा विभिन्न क्षेत्रका कलाकार तथा स्रष्टाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सुमन कुरुम्बाङले गरेका थिए भने स्वागत मन्तव्य मनिकुमार क्षेत्रीले दिएका थिए।
यस कार्यक्रमले नेपाली साहित्यमा नयाँ उर्जाशील प्रतिभाहरूलाई स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याएको आयोजकहरूको विश्वास रहेको छ।



