केन्टकी स्टेट रिप्रेजेन्टेटिभ (डिस्ट्रिक्ट ३०) का लागि मित्र सुबेदी पुनः उम्मेदवार

केन्टकी — केन्टकी राज्यका सम्मानित समुदाय अगुवा तथा सामाजिक अभियन्ता मित्र सुबेदीले स्टेट रिप्रेजेन्टेटिभ (डिस्ट्रिक्ट ३०) पदका लागि पुनः उम्मेदवारी दिनुभएको छ। उहाँको उम्मेदवारीलाई २५ वर्षभन्दा बढी समयसम्म उक्त जिल्ला प्रतिनिधित्व गर्नुभएका अनुभवी डेमोक्रेटिक नेता टम बर्चको खुला समर्थन प्राप्त भएको छ, जसलाई राजनीतिक वृत्तमा अत्यन्त महत्वपूर्ण रूपमा हेरिएको छ।

अघिल्लो निर्वाचनमा मित्र सुबेदी वर्तमान पदाधिकारीसँग केवल ५० मतको अत्यन्तै सानो अन्तरले पराजित हुनुभएको थियो। सो परिणामले उहाँप्रति जनताको व्यापक विश्वास, समर्थन र आगामी निर्वाचनमा जित हासिल गर्न सक्ने बलियो आधार रहेको स्पष्ट संकेत दिएको छ। यस पटक उहाँ अझ व्यवस्थित, जनमुखी र परिणाममुखी अभियानका साथ मैदानमा उत्रिनुभएको छ।

डेमोक्रेटिक प्राथमिक निर्वाचन सन् २०२६ मे १९ मा हुने तय भएको छ। सुबेदीको अभियान पूर्ण रूपमा जनआधारित र जनसहभागितामूलक भएकाले आर्थिक संकलन (fundraising) एक प्रमुख चुनौतीका रूपमा देखिएको छ। अभियानलाई थप प्रभावकारी र सशक्त बनाउन समुदायका सदस्यहरू, शुभेच्छुकहरू तथा समर्थकहरूलाई आर्थिक, नैतिक र स्वयंसेवी रूपमा सहयोग गर्न आग्रह गरिएको छ।

मित्र सुबेदीको उम्मेदवारीले केन्टकीमा बसोबास गर्ने भुटानी, नेपाली समुदाय मात्र नभई सम्पूर्ण आप्रवासी, अल्पसंख्यक र श्रमिक वर्गका आवाज, आशा र समान प्रतिनिधित्वको चाहनालाई प्रतिनिधित्व गर्ने विश्वास गरिएको छ। उहाँले शिक्षा, स्वास्थ्य सेवा, आवास, श्रम अधिकार, सामाजिक न्याय र समावेशी नीतिलाई आफ्नो अभियानको प्रमुख एजेन्डा बनाउँदै आउनुभएको छ।

समुदायका अगुवाहरूले मित्रा सुबेदीको नेतृत्वले केन्टकीको राजनीतिक संरचनामा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा व्यक्त गर्दै उहाँलाई सफल अभियान तथा आगामी निर्वाचनमा विजयको हार्दिक शुभकामना दिएका छन्।

अभियानलाई सहयोग गर्न लिंक:
https://secure.actblue.com/donate/elect-mitra-subedi-as-state-representative-1

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार