स्क्रान्टनमा गायक जगदिश समालको सम्मानमा विशेष साँझ कार्यक्रम सम्पन्न

भुटानीज कम्युनिटी अफ स्क्रान्टन (BCS) को आयोजनामा प्रख्यात नेपाली गायक जगदिश समालको सम्मानमा विशेष सांगीतिक तथा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। “एन ईभिनिङ व्यूथ जगदिश समाल” शीर्षकमा आयोजित उक्त कार्यक्रम स्क्रान्टनस्थित एभरेष्ट इभेन्ट सेन्टरमा उत्साहपूर्ण वातावरणबीच सम्पन्न भएको हो।

कार्यक्रममा भुटानीज कम्युनिटी अफ स्क्रान्टनका अध्यक्ष कृष्ण राई, उपाध्यक्ष ओम तिम्सिना, कार्यक्रम संयोजक नन्द लगुन, पूर्व अध्यक्ष टेक खड्का लगायत समुदायका वर्तमान तथा पूर्व पदाधिकारीहरू, सदस्यहरू तथा स्क्रान्टन क्षेत्रका विभिन्न व्यावसायीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। सबैको सकृय सहभागिताले कार्यक्रमलाई अझ सफल र स्मरणीय बनाएको थियो।

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएका गायक जगदिश समालले नेपाली गीत–संगीतको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका छन्। उनका गीतहरूमा प्रेम, पीडा, जीवनका यथार्थ र मातृभूमिप्रतिको भावनात्मक लगाव स्पष्ट रूपमा झल्किन्छ। प्रवासमा रहेर पनि नेपाली भाषा, संगीत र संस्कृतिलाई निरन्तरता दिँदै नयाँ पुस्तासम्म पुर्‍याउन उनले खेलेको भूमिका प्रशंसनीय मानिन्छ।

कार्यक्रमका क्रममा गायक समालले आफ्ना चर्चित तथा भावनात्मक गीतहरू प्रस्तुत गर्दा दर्शक–श्रोता मन्त्रमुग्ध बनेका थिए। गीत–संगीतमार्फत उनले दर्शकसँग गहिरो भावनात्मक सम्बन्ध स्थापित गर्दै कार्यक्रमलाई अत्यन्तै जीवित र आत्मीय बनाएका थिए। कार्यक्रममा अध्यक्ष कृष्ण राईले गायक समालको लामो सांगीतिक यात्राको उच्च प्रशंसा गर्दै, प्रवासमा पनि नेपाली कला र संस्कृतिको प्रवर्द्धनमा पुर्‍याएको योगदानका लागी हार्दिक धन्यवाद व्यक्त गरे। साथै, चाँडै नै आफ्नो जन्मभूमि नेपाल फर्किन लाग्नुभएको अवसरमा उहाँको आगामी जीवन, स्वास्थ्य तथा सांगीतिक यात्राका लागि निरन्तर सफलता र शुभकामना व्यक्त गरिएको थियो।

समुदायबीच आपसी एकता, सांस्कृतिक पहिचानको संरक्षण र कलाकारप्रतिको सम्मान भावलाई उजागर गर्ने यस कार्यक्रमले सहभागीहरूमा उत्साह, गौरव र आत्मीयताको गहिरो अनुभूति गराएको थियो। यस्तो कार्यक्रमले प्रवासमा रहेका नेपाली समुदायलाई एकताबद्ध गर्दै नेपाली कला–संस्कृतिलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।

for more photos plz visit

https://www.facebook.com/share/p/17RngRZZay/?mibextid=wwXIfr

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार