
ह्यारिसबर्ग, पेनसिल्भेनिया — अमेरिका स्थित गुरुङ समुदायको छाता संगठन युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिका (UGSA) ले २०२६ जनवरी ३ तारिखका दिन ग्रान्ड तमु ल्होसार भव्य रूपमा मनाउने भएको छ। नयाँ वर्षको शुभारम्भसँगै गुरुङ समुदायलाई एक ठाउँमा जोड्ने उद्देश्यले आयोजना गरिने यो कार्यक्रम ह्यारिसबर्ग स्थित 2701 N Third Street, Harrisburg, PA 17110 मा बिहान १०:०० बजे बाट सुरु हुने जनाइएको छ।
यस वर्ष तमु ल्होसारले “सर्प वर्गलाई बिदाइ गर्दै “घोडा वर्गलाई स्वागत गर्ने सांस्कृतिक यात्रालाई विशेष रूपमा प्रस्तुत गर्नेछ। गुरुङ समुदायले वर्ष परिवर्तनसँगै प्रकृति, समय र संस्कृतिप्रति कृतज्ञता व्यक्त गर्दै यो पर्व मनाउने परम्परा कायम राख्दै आएको छ।
यस कार्यक्रमको मुख्य आयोजक अमेरिका गुरुङ समाज, इन्क. (UGSA) रहनेछ भने, गुरुङ कम्युनिटी अफ ग्रेटर कार्लाइल, पेन्सिल्भेनिया र गुरुङ कम्युनिटी अफ ह्यारिसबर्ग, पेन्सिल्भेनिया ले होस्ट को भूमिका निर्वाह गर्नेछन्। आयोजक समितिका अनुसार यो कार्यक्रमले अमेरिकामा बसोबास गर्ने गुरुङ समुदायबीच सांस्कृतिक सम्बन्ध बढाउने, नयाँ पुस्तालाई आफ्नो मौलिक पहिचानबारे अभिमान दिलाउने र सामुदायिक ऐक्यबद्धता बलियो बनाउने लक्ष्य लिएको छ।
कार्यक्रममा परम्परागत गुरुङ नृत्य, सांस्कृतिक पहिरनहरूको प्रदर्शनी, ल्होसार विशेष शुभकामना आदान–प्रदान, अतिथिहरूको सम्मान तथा सामुदायिक भोज जस्ता विविध कार्यक्रमहरू समेटिने सम्भावना छ। साथै, उपस्थित समुदायलाई गुरुङ जातीय परम्परा र चालचलनबारे थप जान्ने अवसर प्रदान गर्ने तयारी भइरहेको आयोजकले जनाएका छन्।
अमेरिकामा बसोबास गर्ने गुरुङ तथा अन्य जातीय समुदाय, संस्कृति प्रेमीहरूलाई समेत कार्यक्रममा सहभागी भई गुरुङ संस्कृतिको संरक्षण, प्रसार र समुदायको एकता प्रदर्शन गर्न आयोजकले हार्दिक आह्वान गरेको छ। जनवरी २ मा आयोजना हुने विशेष कार्यक्रममा विभिन्न प्रकारका खेलकुद गतिविधिहरू, रोचक प्रतिस्पर्धाहरू, गुरुङ समुदायको संस्कृति झल्काउने गुरुङ चलचित्रको प्रदर्शन तथा चर्चित कलाकारहरूको आकर्षक प्रस्तुति सहित मनमोहक रोदी साँझको आयोजना गरिनेछ। यस कार्यक्रम मार्फत समुदायबीच एकता, सहभागिता र सांस्कृतिक पहिचान प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ।
यसैबीच, UGSA ले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कठिन परिस्थितिमा परेका व्यक्तिहरूलाई सहयोग गर्ने उद्देश्यले निरन्तर रूपमा मानवीय सहायता प्रदान गर्दै आएको छ। संस्थाले आवश्यकता भएकाहरूलाई आर्थिक, सामग्री तथा सामाजिक समर्थन उपलब्ध गराउँदै समुदाय उत्थान र मानवीय सेवामा आफ्नो सक्रिय भूमिका निभाइरहेको छ।

27 पटक हेरिएको 

