ह्यारिसबर्ग, पेन्सिल्भेनिया । नेपाली भाषी भुटानीहरुको बाक्लो बसोबास रहेको डाउफिन काउन्टीमा अमेरिकाबाट नेपाली भाषी भुटानीलाई देश निकाला गर्ने क्रम रोक्न माग उठेको छ । पेन्सिल्भेनिया राज्यको डाउफिन काउन्टी कमिश्नर जस्टिन डगलसले अमेरिकाबाट नेपाली भाषी भुटानीलाई देश निकाला गर्ने क्रम रोक्न माग उठाएका हुन् ।
कमिशनर डगलसले बुधवारको काउन्टी आयुक्तको बैठकमा ट्रम्प प्रशासनलाई शरणार्थीको रुपमा अमेरिका आएका नेपाली भाषी भुटानीलाई देश निकाला गर्ने काम रोक्न आग्रह गरे । अमेरिकी अध्यागमन र भन्सार प्रवर्तन (आईस) ले हाल सम्म १८ जना नेपाली भाषी भुटानीलाई देश निकाल गरेको छ । त्यस मध्ये चार जना नेपाल प्रहरीको नियन्त्रणमा भए पनि अन्यको अवस्था अज्ञात छ ।
उनले अमेरिकाबाट निकाला गरिएका उक्त मानिसहरु भारत, भुटान हुँदै केही नेपालको जेलमा पुगेको भन्दै चासो राखेका छन्।डगलसले निर्वासित नेपाली भाषी शरणार्थीहरूमध्ये ती कम्तिमा १४ जना बेपत्ता भएको बोर्ड बैठकलाई जानकारी गराएका छन् । उनले पेन्सिलभेनियाका थप नौ जना नेपाली भाषी भुटानीलाई आईसको हिरासतमा राखिएको जानकारी दिए ।
डगलसले अमेरिकाबाट भारतको नयाँ दिल्ली हुँदै भुटान आइपुगेपछि, शरणार्थीहरूलाई नेपालको सीमा नजिकै भारतको एउटा शहरमा लगिएको पनि बोर्ड बैठकमा जानकारी गराए ।डगलसले नेपाल पुगेका नेपाली भाषी भुटानीहरूलाई नेपालले कहिल्यै आफ्नो नागरिक मानेर स्वीकार नगरेको तितो यथार्थ पनि काउन्टी बैठकमा सम्बोधनका क्रममा उल्लेख गरे ।



