क्रियमाण फाउण्डेशनको प्रथम वार्षिकोत्सवः ह्यारीसबर्ग प्रिमियर लिग खेलाडी ड्राफ्ट डे संगै सम्पन्न


ह्यारीसबर्ग, पेन्सिल्भेनिया । क्रियमाण फाउण्डेशनकोे पहिलो वार्षिकोत्सव ह्यारीसबर्ग प्रिमियर लिग (एचपिएल) खेलाडी ड्राफ्ट डे संगै भव्य रुपमा सम्पन्न भएको छ । स्थापना भएदेखि नै समाज कल्याण, मानसिक स्वास्थ्य, र सांस्कृतिक संरक्षणमा केन्द्रीत विभिन्न महत्वपूर्ण कार्यक्रमहरू सञ्चालन गर्दै आएको फाउण्डेशनको पहिलो वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको हो । 


फाउण्डेशनको पहिलो वर्ष सामाजिक परिवर्तनका विभिन्न महत्वपूर्ण पहलहरूमार्फत सफल रहेको बताईएको छ । एचपिएलको आयोजनाले युवाहरूलाई खेलकुदमा संलग्न गराउँदै मानसिक स्वास्थ्य जस्ता संवेदनशील विषयहरूमा ध्यानाकर्षण गराएको छ । फाउण्डेशनले भविष्यमा अझ प्रभावकारी कार्यक्रमहरू ल्याउने प्रतिबद्धता जनाएको छ ।


क्रियमाण फाउण्डेशनले नेपाली भाषी समुदायमा मानसिक स्वास्थ्य सचेतना, सांस्कृतिक संरक्षण, र पुस्तागत सम्बन्धलाई सुदृढ बनाउन सङ्गालो नामक रिडिङ फर रिजिलियन्स एक विशेष कथा वाचन प्रतियोगिता, तिहार पर्वलाई एकता र उपचारको सन्देशसहित मनाउने अभियान, मातृत्व पछिको मानसिक स्वास्थ्य समस्यालाई समुदायमा खुला छलफलको माध्यमबाट सम्बोधन गर्न दियो नामक पोस्टपार्टम डिप्रेसन प्रति सचेतना अभियान कार्यक्रम सञ्चालन गरेको थियो ।


त्यस्तै फाउण्डेशनले समुदायमा सकारात्मक प्रभाव पार्ने व्यक्तिहरू, संस्थाहरू, तथा अभियानहरूको योगदानलाई सम्मान गर्ने अभियान अन्तरगत कम्युनिटी केयर स्पटलाइट, पालतू जनावरहरूको जिम्मेवार संरक्षण र मानव–जनावर सम्बन्धमा चेतना जगाउने उद्देश्यले कुकुर तिहारको अवसरमा  उद्धार गरिएका कुकुरहरूलाई सम्मान गरेको थियो । 


त्यस्तै अनुसन्धानलाई समुदायसँग जोड्ने उद्देश्यले फ्रम क्यूरियोसिटी टु कन्क्लूजन संवादमूलक कार्यक्रम र महिला नेतृत्व, संस्कृति, मानसिक स्वास्थ्य, र सृजनात्मकता सम्बन्धी विषयमा महिलाहरूले अगुवाईमा अन्तर्राष्ट्रिय महिला दिवस समारोह समेत फाउण्डेशनले गरेको थियो । 


एचपिएल केवल क्रिकेट लिग मात्र नभएर समुदायलाई एकजुट गर्ने अभियान हो । यसले युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्दै आएको छ । फाउण्डेशनले खेलकुदलाई सामाजिक परिवर्तनको माध्यम बनाउने,मानसिक स्वास्थ्य तथा आत्महत्या रोकथाम सम्बन्धी सचेतना फैलाउने, खेल भावना, अनुशासन, र नेतृत्वद्वारा युवाहरूलाई सक्षम बनाउने उद्देश्य लिएको जनाएको छ । 


एचपिएल ह्यारीसबर्ग क्रिकेट एलायन्स एतसिए को सहकार्यमा सञ्चालन भइरहेको छ । यो समूहले स्थानीय भुटानी–नेपाली क्रिकेट खेलाडीहरूलाई संगठित गर्दै, प्रतियोगिता तथा खेलकुद विकासमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।  प्ले फर लाईफ अभियानमार्फत, आत्महत्या रोकथाम तथा मानसिक स्वास्थ्य संरक्षणका लागि खेलकुदलाई प्रभावकारी माध्यमको रूपमा प्रयोग गरिँदैछ ।


कार्यक्रममा बोल्दै फाउण्डेशनका अध्यक्ष भरत तिम्सिनाले फाउण्डेशन स्थापना गर्नुको उद्देश्य प्रष्ट्याउँदै भने,“हाम्रो समुदायमा मानसिक स्वास्थ्य समस्याहरू पहिलेदेखि नै छन् । भूटानी अमेरिकीहरूको आत्महत्या दर राष्ट्रिय औसतभन्दा दोब्बर छ । हामीले यस्ता समस्यालाई गम्भीर रूपमा लिएर समाधान खोज्नुपर्छ।


उनी थप्छन्,“हाम्रो पहिचान, हाम्रो संस्कृति बचाउन र एकअर्कालाई सहयोग गर्न, हामीले समाजसेवामा लाग्नुपर्छ । एचपिएल जस्ता अभियानहरूले खेलकुदमार्फत युवाहरूलाई मानसिक रूपमा सशक्त बनाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ । हामी सबै मिलेर यी समस्याहरूलाई सम्बोधन गर्नुपर्छ । फाउण्डेशन यही उद्देश्यले स्थापना गरिएको हो।


एचपिएलका प्रबन्धकले क्रिकेट समुदायका लागि यो लिगको महत्त्व दर्शाउँदै भने,“ ह्यारिसबर्ग प्रिमियर लिगले स्थानीय युवा क्रिकेट खेलाडीहरूलाई प्रतिस्पर्धात्मक वातावरणमा खेल्ने अवसर प्रदान गरिरहेको छ । साथै, यसले मानसिक स्वास्थ्य सचेतनाका लागि खेलकुदलाई प्रभावकारी माध्यम बनाउँदैछ । यो लिग सफल बनाउन सबै खेलाडीहरूको सहयोग आवश्यक छ ।


कार्यक्रममा समाजसेवी रत्न गुरुङ, समाजसेवी तथा संगीतकार अमल थुलुङ राई, ग्लोबल तेक्वान्दो एकेडेमी का सञ्चालक प्रकाश ढुंगाना, वरिष्ठ भूटानी नेपाली क्रिकेटर प्रजीत राणा, समाजसेवी र व्यवसायी नेत्र आचार्य, लेखक तथा साहित्यकार जेएन दाहाल, क्रिकेटप्रेमी तथा एचपिएलका समर्थनकर्ता विनय लुइँटेल  लगायत उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति रहेको थियो । उपस्थित समाजसेवी, व्यवसायी, प्रशिक्षक, तथा क्रिकेटप्रेमीहरूले एचपिएलको सफलताको लागि शुभकामना व्यक्त गरे ।

More From Author

भगवान रामको जन्म जयन्तीको अवसर पारेर रामनवमी व्रत सुरु

अमेरिकाबाट नेपाली भाषी भुटानीलाई देश निकाला गर्ने क्रम रोक्न माग

Leave a Reply

Your email address will not be published. Required fields are marked *