आर्थिक समृद्धि र विकासको नेतृत्व निजी क्षेत्रले गर्नुपर्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक समृद्धि र विकासको नेतृत्व निजी क्षेत्रले गर्नुपर्ने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको ५९औं वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवस २०८१ उद्घाटनमा अध्यक्ष ढकालले उक्त धारणा राखेका हुन् ।

सरकारले अघि सारेको समृद्धिको लक्ष्य पूरा गर्न निजी क्षेत्रले निर्वाध काम गर्न पाउने विषय पहिलो प्राथमिकता हुनुपर्ने उनले बताए । अर्थतन्त्र, विकास र समृद्धिमा राजनीतिक दलहरूको साझा धारणा बनाउनुपर्नेमा उनको जोड थियो ।

‘अर्थतन्त्रलाई कुनै पनि वादले बिथोल्नु हुँदैन । यसलाई सबैभन्दा माथि राख्नुपर्छ । मुलुकमा समृद्धि आउनु भनेको सबैले अवसर पाउनु हो । त्यसका लागि पैसा, वुद्धि, विवेक र सिपको लगानी गर्नुपर्छ,’ अध्यक्ष ढकालले भने, ‘त्योभन्दा पनि पहिले पैसाको लगानी हुनु आवश्यक छ, जसले पछि उत्पादन गर्दा श्रम र सिपको माग गर्ने छ ।’

विगतमा सरकारले चाहिनेभन्दा बढी सतर्कता अपनाउँदा अर्थतन्त्र संकुचन भएको उल्लेख गर्दै उनले त्यतिबेला बजारको माग नियन्त्रण गर्न अपनाइएका नीतिगत निर्णयले बजारलाई अझैसम्म चलायमान हुन नदिएको धारणा उनको छ ।

प्रतिकूलतामा अनुकूलता खोज्दै देशमा केही गर्ने वातावरण सिर्जना गर्नेतर्फ सरकार र निजी क्षेत्र लाग्नुपर्नेमा अध्यक्ष ढकालको जोड छ ।

‘म निराशा होइन, आशा छर्न चाहन्छु । अवस्था सुधारोन्मुख छ । तर, हाम्रा युवाको चाहना पूरा गर्न अहिलेको सुधार पर्याप्त छैन । जबसम्म हामी देशभित्रै मर्यादित र उच्च ज्यालासहित रोजगारीका अवसर सिर्जना गर्न सक्दैनौं, निराशालाई आशामा बदल्न सकिँदैन, अहिले व्याप्त निराशा त्यसैको परिणाम हो,’ उनले भने ।

पछिल्ला दुई वर्षमा भारत, चीन र यूएईमा सम्पन्न चार वटा सम्मेलनको अनुभवबाट विदेशी लगानीकर्ता नेपाल आउन इच्छुक रहेको उल्लेख गर्दै उनले सार्थक प्रयास गर्ने हो भने विदेशी लगानी बढाउन सकिने बताए ।

विश्वव्यापी नयाँ आर्थिक परिवेशले पनि नेपाललाई लाभ दिने संकेत गरेको उल्लेख गर्दै अध्यक्ष ढकालले नेपालका प्रतिष्पर्धी देशको तुलनामा अमेरिकाले नेपालका लागि निकै कम भन्सार दर तोकेकाले नेपालमा लगानी बढ्न सक्ने सम्भावना झन बलियो बनाएको र यसबाट नेपालले लाभ लिन सक्नुपर्ने बताए ।

देशभित्र लगानीकर्ताको मनोबल बढाउन बहस पैरवीसँगै महासंघको पहलमा आन्तरिक पूँजी परिचालनका लागि नेपाल डेभलपमेन्ट कम्पनी स्थापना गरिएको जानकारी दिँदै अध्यक्ष ढकालले यसले मुलुकका ७७ जिल्ला र मुलुक बाहिर छरिएर रहेका साना पूँजी एकत्रित गर्दै ठूला आयोजनामा लगानी अवसर खोलिदिएको बताए ।

पछिल्लो पटक भएका नीतिगत सुधारले सकारात्मक संकेत गरेको उल्लेख गर्दै ढकालले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटलाई सुधारको प्रस्थान बिन्दुका रूपमा ल्याउनुपर्नेमा जोड दिए ।

सरकारले महासंघको आग्रहमा गरेको नयाँ चरणको आर्थिक सुधार र त्यसको आधार तयार पार्न उच्चस्तरीय आयोग गठन, करिब ३५ वटा कानुनमा सुधार, द्विपक्षीय लगानी सम्झौताको खाका तयार तथा उत्पत्तिको प्रमाणपत्रलाई पूर्णअनलाइन बनाउने जस्ता कार्य सकारात्मक भएको बताउँदै सरकारको यो अग्रसरताले अर्थतन्त्रलाई चलायमान बनाउने बताए ।

यद्यपि, देशमा ८६ प्रतिशत रोजगारी सिर्जना गरेको , ८० प्रतिशतभन्दा बढी प्रत्यक्ष र अप्रत्यक्ष राजस्वमा योगदान र ८१ प्रतिशत हिस्सा लगानी गरेको निजी क्षेत्र अझै सम्मानित हुने अवस्था नरहेको बताउँदै उनले निजी क्षेत्रको सुरक्षा, सम्मान र मर्यादाक्रमका विषयमा सरकारको ध्यानाकर्षण गराए ।

‘हामीले सुरक्षाको विषय उठाएका हौं, सम्मानको विषय उठाएका हौं,’ उनले भने, ‘मर्यादाक्रमको विषय उठाएका हौं, यसमा राज्यको कुनै लगानी हुँदैन, मात्र सद्भाव चाहिएको हो ।’

More From Author

Global Contestants Arrive in Kathmandu for Prestigious Nepali Reality Shows “Mero Voice Universe” and “Mero Dance Universe”

क्षेत्राधिकारबाहिर आईपीओको छानबिन र निर्देशन दिँदै लेखा समिति

Leave a Reply

Your email address will not be published. Required fields are marked *