लुइभिल केन्टकी -हामीले जन्मभूमि छोड्यौं, तर हाम्रो धर्म, आस्था, र संस्कारलाई कहिल्यै छोडेनौं। जहाँ गए पनि, सनातन धर्मको उज्यालो हाम्रो मार्गदर्शक रह्यो। हाम्रा मन्दिरहरूले मात्रै होइन, हाम्रा कर्महरूले पनि हाम्रो पहिचान बोकेका छन्।धर्म केवल पूजा वा मन्त्र जप्ने साधन होइन, यो जीवन जिउने कला हो। सत्य, अहिंसा, सेवा, र प्रेमजस्ता मूल्यहरू नै यसको मूल सार हुन्। घर-आँगन होस् वा परदेश, हाम्रो आस्थाले हामीलाई सधैं संयम, सहिष्णुता, र मानवताको मार्गमा अघि बढ्न प्रेरित गर्छ।जसरी सूर्यले आफ्ना किरणहरू जहाँ पुगे पनि उज्यालो फैलाउँछ, त्यसैगरी हामीले जहाँ गए पनि हाम्रो धर्मको ज्योति मन, वचन, र कर्मले बोक्नु हाम्रो कर्तव्य हो।

धर्म हाम्रो शिरमा मात्र होइन, हाम्रो हृदयमा हुनु आवश्यक छ त्यसैले यो सधैं उज्ज्वल, अडिग, र अमर रहनेछ। भूटानी अमेरिकी हिन्दू समाजले धार्मिक, सांस्कृतिक, र सामुदायिक आवश्यकताहरू पूरा गर्न स्थायी सनातन हिन्दू मन्दिर र अत्याधुनिक सामुदायिक भवन निर्माण गर्ने घोषणा गरेको छ। समाजका पदाधिकारीहरूका अनुसार चार एकड जमीन सुरक्षित गर्ने प्रक्रिया अघि बढाइएको छ।
यस पवित्र कार्यको लागि अनुमानित २० देखि २५ लाख डलरको लागत लाग्नेछ।सन् २०१५ मा स्थापना भएदेखि नै भूटानी अमेरिकी हिन्दू समाजले धार्मिक, भाषिक, र सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। हालसम्म, समुदायका धार्मिक गतिविधिहरू अस्थायी रूपमा भाडामा लिइएका भवनहरूमा सञ्चालन हुँदै आएका थिए। तर, समुदायको निरन्तर वृद्धि र आवश्यकताका कारण स्थायी संरचना निर्माण गर्ने योजना अघि सारिएको हो। यस भव्य योजनाअन्तर्गत ५,००० स्क्वायर फिट क्षेत्रफलमा मन्दिर निर्माण गरिनेछ, जसले भक्तजनहरूलाई आध्यात्मिक रुपमा सशक्त बनाउनुका साथै दैनिक पूजा, भजन, कीर्तन, र प्रसाद सेवाहरू उपलब्ध गराउनेछ।
मन्दिरले ध्यान, आत्म-साक्षरताका पहलहरूलाई प्रवर्द्धन गर्नेछ भने हिन्दू मूल्य र सांस्कृतिक सम्पदालाई भावी पुस्तामा हस्तान्तरण गर्न विशेष भूमिका खेल्नेछ।यसैगरी, १०,००० स्क्वायर फिटको अत्याधुनिक सामुदायिक भवन निर्माण गरिनेछ, जसमा दुई वटा भलिबल कोर्टसहितको सुविधा रहनेछ। यस भवनले समुदायका सदस्यहरूबीच एकता र अन्तरंगता मजबुत बनाउनुका साथै विविध सामाजिक, सांस्कृतिक तथा शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्न मद्दत गर्नुको लागि भूटानी अमेरिकी हिन्दू समाजका कार्यकारी निर्देशक मित्र सुवेदीले अहवान गर्नु भएको छ।
यसले समुदायका आवश्यकताहरू पूरा गर्न स्थायी आधार प्रदान गर्ने विश्वास गरिएको छ।यो परियोजना समुदायका लागि मात्र नभई भावी सन्ततिहरूको धार्मिक तथा सांस्कृतिक जरा बलियो बनाउन महत्त्वपूर्ण हुने बताइएको छ। यस भव्य योजनालाई साकार पार्न समाजले सम्पूर्ण सनातन धर्मावलम्बी, सहयोगी मनहरू, र शुभचिन्तकहरूलाई आ-आफ्नो योगदान दिन आह्वान गरेको छ। आर्थिक सहयोग, श्रमदान, वा अन्य कुनै किसिमको सहायता प्रदान गरेर यस ऐतिहासिक कार्यमा सहभागी हुन सकिनेछ।भूटानी अमेरिकी हिन्दू समाजका पदाधिकारीहरूका अनुसार, यो मन्दिर र सामुदायिक भवन केवल एउटा संरचना मात्र नभई, समुदायका लागि एक ऐतिहासिक धरोहर बन्नेछ।
यसले हाम्रा सन्तानहरूलाई आफ्नो धार्मिक पहिचान बचाइराख्न, सांस्कृतिक मूल्यहरू आत्मसात गर्न, र समुदायलाई अझ सशक्त बनाउन मार्ग प्रशस्त गर्नेछ।समाजले सम्पूर्ण सनातन धर्मावलम्बीहरूलाई यस कार्यमा सहयोग गर्न हार्दिक अनुरोध गर्दै बाबा आमा, दिदीबहिनी, दाजुभाइहरू सबैलाई यो पुण्य कार्यमा तन, मन, धनले हातेमालो गर्न आग्रह गरेको छ। सहयोगका लागि भूटानी अमेरिकी हिन्दू समाजका प्रतिनिधिहरू – लीला मिश्र, टिका अधिकारी, बुद्ध सुवेदी, र तिलक अधिकारीसँग सम्पर्क गर्न सकिन्छ।
सहयोगका लागि सम्पर्क लीला मिश्र – (502) 509-8405टिका अधिकारी – (502) 807-7663बुद्ध सुवेदी – (502) 294-1246तिलक अधिकारी – (502) 407-8153 र हजुरहरुले यहाँ पनि सम्पर्क गर्नु सक्नु हुन्छ सहयोगका लागि: Bhutanese American Hindu Society (DBA: Sanatan Hindu Mandir)5101 Bardstown Road, Louisville, KY 40291Email: info@bahsky.orgयस अभियानलाई सफल बनाउन योगदान दिने सबैप्रति समाजले आभार व्यक्त गर्दै, यो भवन र मन्दिर भावी पुस्ताका लागि एक महत्वपूर्ण धरोहर बन्ने विश्वास व्यक्त गरेको छ।




