सिंहदरबारै सुनसान पारेर १० सचिव र १५ सहसचिव विदेश शयरमा

२७ भदौ, काठमाडौं । कुनै पनि सरकारी अधिकारीहरुको विदेश भ्रमण अनुमति नदिन सरकारलाई निर्देशन दिएको निर्वाचन आयोग आफैंले दुई दर्जन उच्च अधिकारीहरुलाई एकैपटक विदेश सयरको सहमति दिएको छ ।

निर्वाचन आयोगका आयुक्त सुधीर शाहको सोर्स लगाएर एउटा सेमिनारमा भाग लिन एकैपटक १० जना सचिव र १५ जना सहसचिव चीन भ्रमणमा निस्किएका हुन् । एउटा सेमिनारमा भाग लिन नेपाल सरकारका १० सचिवलाई निर्वाचन आयोगले सहमति दिएको हो ।

आधा महिनाका लागि १० सचिव र १४ सहसचिवहरु चीन उडेपछि कतिपय मन्त्रालय र विभागहरुको काम नै प्रभावित भएको छ । दशैंको मुखमा सार्वजनिक सरोकारका मन्त्रालय र विभागका अधिकारी समेत चीन भ्रमणमा निस्किएकोमा मन्त्रीहरु नै अचम्मित भएका छन् ।

चीन भ्रमणमा निस्कने सचिवहरुमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका रामकुमार आचार्य, आपूर्ति मन्त्रालयका कृष्ण देवकोटा, राष्ट्रिय योजना आयोगका बिष्णुप्रसाद लम्साल छन् ।

त्यस्तै भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सचिव शम्भु कोइराला, सत्य निरुपण तथा मेलमिलाप आयोगका मणिराम ओझा, बेपत्ता छानविन आयोगका नृपध्वज निरौला र राष्ट्रिय सूचना आयोगकी सचिव यामकुमारी खतिवडा पनि चीन भ्रमणमा छन् ।

सचिव सरहको विशिष्ठ श्रेणीका नायब महान्यायाधिवक्ता वद्रिप्रसाद गौतम, उपमहालेखापरीक्षक रामुप्रसाद डोटेल, पूर्वाञ्चल क्षेत्रीय प्रशासक राजेश्वर मानसिंह पनि चीन भ्रमणमा छन् ।

चीन भ्रमणमा निस्कने १५ जना सहसचिवको टोली आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमार दाहाल, कृषि मन्त्रालयका ईश्वर जिराजल, दामोदर रेग्मी, अर्थ मन्त्रालयकी लीला गड्तौला निरौला, कानुन मन्त्रालयकाा ईश्वर पौडेल र गृह मन्त्रालयका रघुराम विष्ट छन् ।

त्यस्तै शिक्षा मन्त्रालयका टेकनारायाण पाण्डे, लोकसेवा आयोगका खगेन्द्र सुवेदी, सुदर्शन ढकाल, हरिप्रसाद जोशी, अणप्रसाद न्यौपाने, कुलप्रसाद चुडाल पनि सोही टोलीमा छन् ।

More From Author

गौर नगरपालिकामा फोरम र कांग्रेसको गठबन्धन

Talkyo Jawani

Leave a Reply

Your email address will not be published. Required fields are marked *