१० करोड ठगी गर्ने पक्राउ विदेश पठाइदिने भन्दै
काठमाडौं : वैदेशिक रोजगारीमा लगिदिने भन्दै १० करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट रकम असुल्दै आएका ललितपुरको कोन्ज्योसोम गाउँपालिका–१ का ४७ वर्षीय लालबहादुर लामालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो। लामालाई प्रहरीले शङ्खमूलबाट पक्राउ गरेको हो ।
कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार काठमाडौंको महाराजगञ्जमा सी स्टार ट्रेनिङ सेन्टर सञ्चालन गरेका लामाले लिथोनिया, क्यानडा, सिंगापुरलगायत देशमा आकर्षक पारिश्रमिकको प्रलोभन दिँदै विभिन्न व्यक्तिसँग रकम असुलेको आरोपमा उनलाई पक्राउ गरिएको हो।
उनले एक व्यक्तिसँग पाँच लाखदेखि १५ लाखसम्म असुलेका थिए। प्रहरीले उनको ट्रेनिङ सेन्टरबाट ९९७ थान राहदानी समेत बरामद गरेको छ । पक्राउ परेका लामालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको प्रहरीले जनाएको छ।