फेरियो ठेकेदार , फेरिएन पुलको अवस्था

फेरियो ठेकेदार, फेरिएन पुलको अवस्था

 

अघिल्लो निर्माण कम्पनीलाई कालोसूचीमा राख्दै ठेक्का तोडेर अर्को कम्पनीलाई निर्माणको जिम्मा दिँदा भैरहवा लुम्बिनी सडक खण्डका तिनाउ र दानव नदीका पुलको निर्माण कार्य समयमै पूरा हुन्छन् भन्नेमा सबै आशावादी थिए।

हुलाकी राजमार्गअन्तर्गत् भैरहवा लुम्बिनी सडक खण्डको तिनाउ र डण्डा नदीका दुईवटा पुल आठ वर्षसम्म पनि पूरा गर्न नसकेपछि त्यतिबेला निर्माणको जिम्मा लिएको पप्पु कन्स्ट्रक्सन र बागमती निर्माण सेवासँग ठेक्का सम्झौता तोडिएको थियो।

कम मूल्यमा ठेक्का सम्झौता गर्ने तर, समयमा निर्माणको काम पूरा नगर्ने कम्पनीको रूपमा पप्पु कन्स्ट्रक्सनले निर्माण क्षेत्रमा बदनामी नै कमाएको छ।

तीन वर्षमा सक्ने गरी २०७१ साल असार २५ गते पप्पु कन्स्ट्रक्सनले ठेक्का सम्झौता गरेका पुलको काम आठ वर्षसम्म आधा पनि पूरा नगरेपछि २०७८ सालमा ठेक्का सम्झौता तोडिएको थियो।

पप्पुसँगको ठेक्का तोडिएपछि २०७८ साल पुस २७ गते रमण रियल होम इन्फोटेक जेभी ललितपुरले दुईवटै पुल निर्माणको जिम्मा लिएको थियो। रमणले पनि बाँकी रहेको काम दुई वर्षमा निर्माण पूरा गर्ने भन्दै ठेक्का सम्झौता गरेको थियो। रमणले सम्झौता गरेको दुई वर्षको अवधि पुस मसान्तमा पूरा हुँदै छ। तर रमणले पनि निर्माण सम्पन्न गर्ने भनेको दुई वर्षमा पचास प्रतिशत पनि काम सम्पन्न भएको छैन।

२०७१ सालमा पप्पु कन्स्ट्रक्सनले तिनाउ नदीको पुलका लागि ६ करोड २ लाख ५६ हजार र दानव नदीको डण्डा पुलको लागि ५ करोड ५६ लाख ८० हजार ११५ रुपैयाँ गरी कुल ११ करोड ५९ साल ३६ हजार ११५ मा ठेक्का सम्झौता गरेको थियो। आठ वर्षमा तिनाउ पुलको करिब ४० प्रतिशत र डण्डा पुलको करिब ३० प्रतिशत मात्र काम गरेको थियो।

तर पप्पुले तिनाउ पुलको तीन करोड १६ लाख ९८ हजार ५५० रुपैयाँ अर्थात् ५३ प्रतिशत र दानव नदीको डण्डा पुल तर्फको दुई करोड ४० लाख १४ हजार ३१७ रुपैयाँ अर्थात् ४३ प्रतिशत भुक्तानी लगेको थियो।

भुक्तानी लगेभन्दा काम थोरै गरेपछि पप्पुले ठेक्का सम्झौता तोड्दा जरिवाना असुल गरेको हुलाकी सडक आयोजनाले बाँकी रहेको काममा ४० प्रतिशत रकम बढाएर रमणसँग ठेक्का सम्झौता गरेको थियो।

दुईवटा पुलको बाँकी रहेको कामलाई २०८० पुस मसान्तभित्रमा सक्नेगरी १० करोड ३० लाख रुपैयाँमा ठेक्का लिएको रमणले पनि निर्माणको कामलाई तदारूकता देखाएको छैन।

हुलाकी सडक आयोजना कपिलवस्तुका इञ्जिनियर युवराज पाण्डेले पछिल्लो पटक ठेक्का लिएको कम्पनीले दुई वर्षको अवधिमा काम पूरा गर्न नसकेको भन्दै म्याद थपको लागि प्रक्रिया अगाडि बढाएको बताए।

‘पुलको लागि बजेटको अभाव नभए पनि निर्माण कम्पनीले नदीजन्य पदार्थको अभावको कारण समयमा काम पूरा गर्न नसकेको भन्दै म्याद थपको प्रक्रिया अगाडी बढाएको छ, आगामी असारसम्म काम पूरा गर्छु भनेको छ,’ उनले भने।

पाण्डेले ठेक्का सम्झौता गर्दा बाँकी रहेको कामको करिब ७० प्रतिशत काम पूरा गरेको बताए। पाण्डेका अनुसार भुक्तानी भने ४५ प्रतिशत हाराहारी लगेको छ। ‘दानव नदीको डण्डा पुलको फाउण्डेसनको काम सबै सकिएको छ, दुईवटा पिलर उठाउने र तीनवटा स्ल्याब ढलान गर्न बाँकी छ, तिनाउको एउटा स्ल्याब बनाउन बाँकी छ,’ उनले भने।

पुलको ६० प्रतिशत काम र खर्च फाउन्डेसन निर्माण गर्दा नै पूरा हुने भएकोले प्रगति नदेखिए पनि बाँकी काम असारसम्म पूरा गर्न सकिने उनले बताए।

भैरहवा हुँदै गौतमबुद्धको जन्मस्थल लुम्बिनी जाने २२ किलोमिटर सडक चार लेनमा फराकिलो र चिरिच्याट्ट बने पनि तिनाउ र दानव नदीमा निर्माणाधीन पुल भने १० वर्षसम्म पनि अलपत्र छन्।

पहिलो कम्पनीसँग ठेक्का तोडेर दोश्रो कम्पनीलाई जिम्मा दिएको पुल निर्माणको कामलाई दोस्रो कम्पनीले पनि तदारूकताका साथ अगाडी नबढाएपछि भैरहवा हुँदै लुम्बिनी जाने यात्रुहरूले सास्ती पाएका छन्।

यात्रुहरूले साँघुरो, कमजोर र पूरानो पुलबाट जोखिमपूर्ण यात्रा गरिरहेका छन्।

साँघुरो, वर्षौं पुरानो र जीर्ण रहेको पुलमा एकतर्फी मात्रै सवारी साधन चल्ने गरेका छन्। जसले गर्दा पुलको वारिपारि सधैं सवारी जाम हुने गरेको छ।.

साँघुरा र जीर्ण पुलमा कति बेला दुर्घटना हुन्छ भन्न सकिँदैन। लुम्बिनीका उद्योगमा जाने कच्चा पदार्थसहितका ठूला सवारी साधनले समेत यही पुल प्रयोग गर्दै जानुपर्ने हुन्छ।

More From Author

उधौलीको शुभकामना व्यक्त गर्दै, मुखिय्मंत्री कार्कीद्धारा , आपसी सद्भाव र एकता सुदृढ हुने विश्वास

बिपी राजमार्गमा घुमाउरो देखिने लाम्चा बाकस!

Leave a Reply

Your email address will not be published. Required fields are marked *