काठमाडौं । आउँदो सिजनका लागि होटलहरुमा बुकिङ बढ्दै गएपछि पर्यटन व्यवसायीहरु हौसिएका छन् । यसपाली विदेशी पर्यटकको आगमन गत वर्षभन्दा उच्च हुने उनीहरुको अनुमान छ ।
हिमाल चढ्ने उद्देश्य लिएका केही पर्यटक नेपाल आइसकेका छन् । यसले गर्दा होटलहरुमा अकुपेन्सी बढ्दै गएको छ । अन्य क्षेत्रका पर्यटकहरुले भने अहिले धमाधम बुकिङ गरिरहेका छन् ।
‘गत वर्षको भन्दा यसपाली होटलको अकुपेन्सी उच्च छ र बुकिङ पनि उच्च छ,’ होटल व्यवसायी संघका महासचिव बिनायक शाह भन्छन्, ‘गत वर्ष ६० प्रतिशत मात्रै होटल बुकिङ थियो, यसपाली ७५ प्रतिशतसम्म पुग्ने आँकलन छ ।’
अहिले नै होटल अकुपेन्सी ५५ प्रतिशत पुगिसकेको छ । मूख्यत शरद ऋतुका लागि पर्यटकहरु दशै–तिहारको बिचमा आउँछन् ।
सन् २०१२ मा अहिलेसम्मकै सवैभन्दा बढि ८ लाख ३ हजार पर्यटक आएका थिए । यसपालि ९ लाख भन्दा बढि पर्यटक पुग्ने महासचिव शाहको आँकलन छ । सन् १९९८ मा ‘भिजिट नेपाल’ मनाइएको थियो । जतिबेला १० लाख पर्यटक भित्राउने योजना थियो । तर सोचेअनुरुप पर्यटक भित्रेका थिएनन् ।
यसपाली अझै पनि बुकिङ क्यान्सील गर्ने समय भने छ । १२ दिनअघिसम्म बुकिङ क्यान्सिल गरे कुनै जरीवाना लाग्दैन ।
यो सिजनमा बिशेषगरी नेपालमा अमेरीकन, अष्ट्रेलियन तथा क्यानडियनहरु आउने गर्दछन् । चिनीया तथा भारतीय पर्यटक भने हरेक समय नै आउने गर्दछन् । पर्यटन व्यवसायीहरुले नेपाली तथा भारतीय पर्यटकलाई सदाबहार पर्यटकको रुपमा लिने गरेका छन् । पछिल्लो समय चिनीया पर्यटकहरु नेपालमा बढ्दै गएका छन् ।