काठमाडौं । गत मङ्गलबार काठमाडौँको वसन्तपुर क्षेत्रमा हजारौँको भिडले इन्द्रजात्रा मनाइरहँदा नेपालमा आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर बिदा हुन लागेकी युरोपियन युनियनकी राजदूत रिन्चे टिरिन्क भने आफ्नो लाजिम्पाटस्थित कार्यालयमै बसेर गत वर्षको इन्द्रजात्रामा आफूलाई कुमारी रथ तान्न निम्त्याइएको कुरा सम्झँदै थिइन् ।
युनियनको कुटनीतिक सेवा सुरु गर्नुअघि मानवशास्त्रीका रूपमा काम गरेकी टिरिन्कले नेपाल बसुन्जेल यहाँको समाज, सभ्यता र संस्कृतिलाई राम्रैसँग नियालेकी छिन् । नेपालको मुख्य दातृ निकायको आवासीय प्रतिनिधिका रूपमा उनी यहाँ बस्दा धेरैजसो समय समाचारहरूमा चर्चामै रहिन् । सामाजिक सञ्जाल तथा पत्रपत्रिका मार्फत् आफूलाई लागेको कुरा बताउन हतार नगर्ने स्वाभावका कारण यी राजदूत कतिपय सन्दर्भमा विवादमा पनि परिन् । तर, समग्रमा भने उनलाई नेपाल बसाइ रमाइलो र सफल लागेको छ । किन त ? अनलाइनखबरकर्मी दिवाकर प्याकुरेलले राजदूत टिरिन्कसँग गरेको कुराकानी :
महामहिमज्यू, समग्रमा नेपाल बसाइ कस्तो रहृयो ?
म नेपाल बसेको ठ्याक्कै चार वर्ष पूरा हुन लागेको छ । युरोपियन एक्स्टर्नल एक्सन सर्भिस (इइएएस्)ले मलाई राजदूतका रूपमा नियुक्त गरेपछि मैले १७ सेप्टेम्बर २०१३ मा आफ्नो कार्य सुरु गरेकी थिएँ । राजदूतका रूपमा यो मेरो पहिलो कार्यकाल हो । त्यसअघिका नौ वर्ष म इइएएस्कै मुख्यालयमा कार्यरत थिएँ । तर, त्यहाँ रहँदा पनि मैले नेपाललाई नजिकबाट नियालेकी थिएँ र बेलाबेला काठमाडौँ आएकी थिएँ ।
त्यसैले नेपाल बसाइ सजिलै भयो । यहाँका सहकर्मी र आम जनता मित्रवत् र खुला छन् । तर, अलि पछि भने धेरै असहज अवस्था पनि आयो । सुरुमा भूकम्पको महाविपत्ति, त्यसपछि नाकाबन्दीको सकस ।
म चाहान्थेँ मेरै कार्यकालमा नेपाल युरोपियन युनियनको नागरिक उड्डयन सुरक्षा सूचीबाट हटोस् र नेपाली विमानहरूले पनि युरोपेली आकाश प्रयोग गर्न पाऊन् । तर, त्यो सम्भव भएन
तर, मेरो कार्यकालमा नेपालमा धेरै सकारात्मक घटना भए । म आएको दुई महिनापछि संविधानसभाको दोस्रो चुनाव भयो । निर्वाचनको पर्यवेक्षणका लागि युरोपियन युनियनले एउटा ठूलै टोली खटाएको थियो । मैले त्यसको नेतृत्व गरें । नेपाल सरकार र तत्कालीन विद्रोहीबीच भएको विस्तृत शान्ति सम्झौताको कार्यान्वयनमा सहयोग पुगोस् भनेर हामी दातृ निकायले सरकारलाई नेपाल शान्ति कोष स्थापना गर्न लगायौँ र युरोपियन युनियनका तर्फबाट मैले त्यसको दातृ समूहको नेतृत्व गरेँ ।
म खुसी छु कि मेरो कार्यकाल सकिन लाग्दा नेपालले नयाँ संविधान पाइसकेको छ । संविधान कार्यान्वयनको पहिलो खुटि्कलाका रूपमा सबै तहमा निर्वाचनहरू सम्पन्न हुने क्रममा छन् । नेपाल दिगो लोकतान्त्रिक राष्ट्र बन्ने क्रममा छ । यस हिसाबले हेर्दा मेरो कार्यकाल पूर्ण र सन्तोषजनक भएको छ ।
त्यसो भने तपाईँले गर्न चाहेर पनि नसकेका कुनै काम बाँकी छैनन् ?
त्यसो पनि होइन । म चाहान्थेँ मेरै कार्यकालमा नेपाल युरोपियन युनियनको नागरिक उड्डयन सुरक्षा सूचीबाट हटोस् र नेपाली विमानहरूले पनि युरोपेली आकाश प्रयोग गर्न पाऊन् । तर, त्यो सम्भव भएन । हुन त नेपालको नागरिक उड्डयन प्राधिकरणले सुरक्षा व्यवस्थामा धेरै सुधार ल्याएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)ले त यसलाई स्वागत पनि गरिसकेको छ । आगामी नोभेम्बरमा युरोपियन उड्यन सुरक्षा निकायको पनि बैठक बस्दै छ र यसले नेपाललाई कालोसूचीबाट हटाउने आशा गर्न सकिन्छ ।
व्यक्तिगत कुरा गर्ने हो भने मलाई त नेपाल खोतल्न पुगेकै छैन । हुन त म सोलुखुम्बु, मुस्ताङ्, अन्नपूर्ण क्षेत्र, बर्दिया लगायतका पर्यटकीय स्थलहरू गइसकेकी छु । तर, अझै घुम्न मन छ । तर, मेरो ‘स्वार्थी’ असन्तुष्टिको अहिले कुरा नगरौँ होला ।