अमेरिकाको नेब्रास्का राज्यमा सम्पन्न ११औँ किरात महाधिवेशन तथा खिबेक्वा–याक्वा सेवा : वार्षिक बैठकदेखि सांस्कृतिक प्रतियोगितासम्म विविध कार्यक्रम भव्य रूपमा सम्पन्न

नेब्रास्का (अमेरिका) — अमेरिकाको नेब्रास्का राज्यमा आयोजित ११औँ किरात महाधिवेशन तथा खिबेक्वा–याक्वा सेवा विभिन्न धार्मिक, सांस्कृतिक, खेलकुद तथा संस्थागत कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न भएको छ। चार दिनसम्म चलेको महाधिवेशनमा अमेरिकाका विभिन्न राज्यबाट आएका किरात समुदायका प्रतिनिधि, धर्मावलम्बी, खेलाडी, कलाकार तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।


महाधिवेशनको पहिलो दिन राष्ट्रिय भलिबल प्रतियोगिता उत्साहपूर्वक सम्पन्न भएको थियो। प्रतियोगिताको उद्घाटन केसीओएका अध्यक्ष आस आङ्देम्बेले महागुरु फाल्गुनन्द, वर्तमान किरात धर्मगुरु आत्मानन्द तथा गुरुआमा पवित्र हाङमाको तस्वीरमा दीप प्रज्वलन तथा माल्यार्पण गरी गर्नुभएको थियो।
पुरुषतर्फ १० टोली र महिलातर्फ ४ टोलीबीच भएको प्रतिस्पर्धामा पुरुषतर्फ किरात कल्चरल सोसाइटी अफ कोलोराडो च्याम्पियन बन्दा किरात कल्चरल सोसाइटी अफ आयोवा उपविजेता बनेको थियो। महिलातर्फ किरात कल्चरल सोसाइटी अफ सिन्सिनटी विजेता तथा किरात कल्चरल सोसाइटी अफ पिट्सबर्ग उपविजेता बन्न सफल भएका थिए। विजेता तथा उपविजेता टोलीलाई नगद पुरस्कार, ट्रफी र पदक प्रदान गरिएको थियो।


महाधिवेशनको दोस्रो दिन ११औँ किरात राष्ट्रिय सम्मेलनको वार्षिक बैठक सम्पन्न भएको थियो। बैठकमा अमेरिकाका विभिन्न राज्यबाट आएका किरात कम्युनिटी अर्गनाइजेसन अफ अमेरिका (केसीओए) का राष्ट्रिय तथा राज्यस्तरीय पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। बैठकमा संस्थाको विगत एक वर्षको गतिविधि, उपलब्धि, चुनौती तथा आगामी कार्ययोजनाबारे विस्तृत समीक्षा तथा छलफल गरिएको थियो।


विभिन्न राज्यका प्रतिनिधिहरूले आफ्नो–आफ्नो क्षेत्रमा सञ्चालन गरिएका सामाजिक, सांस्कृतिक, धार्मिक, शैक्षिक तथा खेलकुदसम्बन्धी कार्यक्रमहरूको प्रतिवेदन प्रस्तुत गर्नुका साथै आय–व्यय र आर्थिक विवरण सार्वजनिक गरेका थिए। संस्थालाई अझ प्रभावकारी, पारदर्शी र सशक्त बनाउने, युवापुस्ताको सहभागिता बढाउने तथा भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षण गर्ने विषयमा विशेष जोड दिइएको थियो।


तेस्रो दिन धार्मिक आस्थालाई केन्द्रमा राखेर विशेष पूजाआजा कार्यक्रम आयोजना गरिएको थियो। पार्क परिसरमा किरात धर्मअनुसार सामूहिक धार्मिक पूजा सम्पन्न भएको थियो, जहाँ विभिन्न राज्यबाट आएका धर्मावलम्बीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। त्यसपछि पारम्परिक साकेला तथा सिल्ली प्रतियोगिता सम्पन्न भएको थियो। प्रतियोगितामा सहभागीहरूले आफ्नो मौलिक सांस्कृतिक पहिचान झल्किने उत्कृष्ट प्रस्तुति दिएका थिए।


महाधिवेशनको चौथो तथा अन्तिम दिन सांस्कृतिक कार्यक्रम, पारम्परिक नृत्य प्रतियोगिता तथा पुरस्कार वितरण समारोह भव्य रूपमा सम्पन्न भएको थियो। विभिन्न राज्यका सहभागीहरूले आफ्नो मौलिक पोशाक, भाषा, गीत तथा नृत्यमार्फत किरात सभ्यता, संस्कार र सांस्कृतिक सम्पदाको आकर्षक प्रस्तुति दिएका थिए। रंगीन सांस्कृतिक प्रस्तुतिले सम्पूर्ण वातावरणलाई उल्लासमय बनाएको थियो।


समापन समारोहका प्रमुख अतिथि ओमाहा महानगरका मेयर हुनुहुन्थ्यो। उहाँले अमेरिकाका विभिन्न राज्यबाट सहभागी हुन आउनुभएका सम्पूर्ण अतिथि तथा समुदायका सदस्यहरूलाई स्वागत गर्दै यस्ता कार्यक्रमहरूले सांस्कृतिक विविधता, आपसी सद्भाव र समुदायबीचको एकतालाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो।


साकेला प्रतियोगितातर्फ पिट्सबर्गको टोली विजेता बन्न सफल भएको थियो भने सिल्ली प्रतियोगितातर्फ नर्थ डकोटाको टोलीले प्रथम स्थान हासिल गरेको थियो। पारम्परिक सांस्कृतिक नृत्य प्रतियोगितामा पनि विभिन्न राज्यका टोलीहरूले उत्कृष्ट प्रस्तुति दिँदै दर्शकहरूको मन जितेका थिए। विजेता टोलीहरूलाई ट्रफी, पदक तथा पुरस्कार प्रदान गरिएको थियो।


समापन समारोहमा केसीओएका सल्लाहकार बोर्ड सदस्य डीजे खालिङ राई तथा केसीओए नेब्रास्काका अध्यक्ष सूर्य राईलगायत आयोजकहरूले सहभागी सम्पूर्ण टोली, कलाकार, स्वयंसेवक तथा अतिथिहरूप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमले अमेरिकामा रहेका किरात समुदायबीच एकता, भाइचारा, सांस्कृतिक संरक्षण तथा नयाँ पुस्तामा आफ्नो मौलिक पहिचान हस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।


यसै अवसरमा आगामी १२औँ किरात महाधिवेशन तथा खिबेक्वा–याक्वा सेवा अमेरिकाको ओहायो राज्यको एक्रोनमा आयोजना हुने औपचारिक घोषणा पनि गरिएको छ। आगामी महाधिवेशनलाई अझ भव्य, व्यवस्थित र सहभागितामूलक बनाउने प्रतिबद्धतासहित आयोजकहरूले सम्पूर्ण किरात समुदायलाई सक्रिय सहभागिताका लागि आह्वान गरेका छन्।


चार दिनसम्म सञ्चालन भएको ११औँ किरात महाधिवेशन तथा खिबेक्वा–याक्वा सेवाले धार्मिक आस्था, संस्थागत विकास, खेलकुद, संस्कृति र समुदायबीचको सहकार्यलाई एउटै मञ्चमा जोड्दै अमेरिकामा रहेका किरात समुदायको एकता, पहिचान र सांस्कृतिक संरक्षणको सशक्त उदाहरण प्रस्तुत गर्ने बताएका छन्।

More From Author

Resettled Bhutanese Community of Cincinnati (BCC) Honours Senior Journalist Devendra Bhattarai

एम्पायर स्टेट बिल्डिङको चुचुरोमा चढेर प्रेम प्रस्ताव गर्ने दुई जना पक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *