११औँ किरात महाधिवेशन तथा खिबेक्वा–याक्वा सेवा अन्तर्गत राष्ट्रिय भलिबल प्रतियोगिता सम्पन्न, कोलोराडो र सिन्सिनटी च्याम्पियन

नेब्रास्का-अमेरिकाको नेब्रास्का राज्यस्थित एल्खोर्नमा आयोजित ११औँ किरात महाधिवेशन तथा खिबेक्वा–याक्वा सेवा अन्तर्गतको राष्ट्रिय भलिबल प्रतियोगिता भव्य र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। प्रतियोगिताको उद्घाटन किरात कम्युनिटी अर्गनाइजेसन अफ अमेरिका (केसीओए) का अध्यक्ष आस आङ्देम्बेले महागुरु फाल्गुनन्द, वर्तमान किरात धर्मगुरु आत्मानन्द तथा गुरुआमा पवित्र हाङमाको तस्वीरमा दीप प्रज्वलन तथा माल्यार्पण गरी गर्नुभएको थियो।

प्रतियोगितामा पुरुषतर्फ १० टोली र महिलातर्फ ४ टोलीले सहभागिता जनाएका थिए। पुरुषतर्फ किरात कल्चरल सोसाइटी अफ युटा, आयोवा, मिनेसोटा, सिन्सिनटी, एक्रोन, साउथ डकोटा, ओरेगन, कोलोराडो, नेब्रास्का तथा ह्यारिसबर्गका टोलीहरूबीच प्रतिस्पर्धा भएको थियो भने महिलातर्फ किरात कल्चरल सोसाइटी अफ आयोवा, एक्रोन, पिट्सबर्ग र सिन्सिनटीका टोलीहरूले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिताभर विभिन्न राज्यबाट आएका खेलाडीहरूले उत्कृष्ट खेल प्रदर्शन गर्दै खेल भावना, अनुशासन र आपसी एकताको सन्देश दिएका थिए।

रोमाञ्चक प्रतिस्पर्धापछि पुरुषतर्फ किरात कल्चरल सोसाइटी अफ कोलोराडोले उपाधि जित्न सफल भयो भने किरात कल्चरल सोसाइटी अफ आयोवा उपविजेतामा सीमित रह्यो। त्यसैगरी महिलातर्फ किरात कल्चरल सोसाइटी अफ सिन्सिनटी विजेता बन्दा किरात कल्चरल सोसाइटी अफ पिट्सबर्ग उपविजेता बनेको थियो। विजेता तथा उपविजेता टोलीहरूलाई नगद पुरस्कार, ट्रफी तथा पदक प्रदान गरिएको थियो।

प्रतियोगिताको समापन समारोहमा केसीओएका सल्लाहकार बोर्ड सदस्य डीजे खालिङ राई साथै (केसीओए) नेब्रास्काका अध्यक्ष सूर्य राईले सहभागी सम्पूर्ण टोलीलाई शुभकामना व्यक्त गर्दै विजेता तथा उपविजेता टोलीलाई नगद पुरस्कार, ट्रफी र पदक वितरण गर्नुभएको थियो। उहाँले खेलकुदले अमेरिकामा रहेका किरात समुदायबीच आपसी सद्भाव, मित्रता र एकतालाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो।

प्रतियोगितिका सम्पूर्ण खेलहरू नेब्रास्काको एल्खोर्नस्थित २१०१५ कम्बरल्यान्ड ड्राइभ, एल्खोर्न, नेब्रास्का ६८०२२ मा सम्पन्न भएका थिए। आयोजकका अनुसार प्रतियोगिताले देशका विभिन्न राज्यमा रहेका किरात समुदायलाई एउटै मञ्चमा जोड्दै खेलकुदमार्फत सम्बन्ध विस्तार, सांस्कृतिक एकता र भाइचाराको भावना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएको छ।

Click this link to see more pictures

More From Author

पहिलो बाबा ब्याडमिन्टन प्रतियोगिता सफलतापूर्वक सम्पन्न, ९९ खेलाडीको सहभागिता; आठ विधाका विजेता घोषित

बीआरडब्लुएफ पुनर्मिलन तथा सम्मान कार्यक्रम सम्पन्न, शरणार्थी शिविरका अविस्मरणीय सम्झनाहरू पुनः ताजा

Leave a Reply

Your email address will not be published. Required fields are marked *