ओहायो-नेदरल्यान्ड्सस्थित डिस्प्लेस्ट हिमाली मञ्च तथा अमेरिकाको ओहायो राज्यको ग्यालियनस्थित ओएम सेन्टर मा, कार्यक्रम संयोजक दमन्ता प्रधान तथा कोर समूह दलवीर पौडेल, ओमा अधिकारी र चन्द्र राईको सक्रिय समन्वयमा, पूर्व भुटानी शरणार्थी महिला मञ्च (बीआरडब्लुएफ) सदस्यहरूको संयुक्त आयोजनामा बीआरडब्लुएफ पुनर्मिलन तथा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमले नेपालस्थित भुटानी शरणार्थी शिविरमा बिताएका संघर्षपूर्ण दिन, आपसी एकता, सहकार्य, सेवा र समर्पणका अविस्मरणीय क्षणहरूलाई पुनः स्मरण गराएको थियो। विश्वका विभिन्न देशमा पुनःस्थापित भइसकेका पूर्व बीआरडब्लुएफ सदस्यहरू लामो समयपछि एकै स्थानमा भेला भई पुराना साथीहरूसँग भेटघाट गर्दै विगतका अनुभवहरू साटासाट गरेका थिए। कार्यक्रममा सहभागी धेरैजना भावुक बनेका थिए भने शरणार्थी जीवनका अनेकौं स्मृतिहरू फेरि एकपटक ताजा भएका थिए।

शरणार्थी शिविरमा महिला अधिकार, शिक्षा, स्वास्थ्य, सामाजिक सचेतना, महिला सशक्तीकरण तथा समुदायको उत्थानका लागि बीआरडब्लुएफले खेलेको महत्वपूर्ण भूमिकाको विशेष रूपमा स्मरण गरिएको थियो। कठिन परिस्थितिका बीच पनि महिलाहरूले देखाएको नेतृत्व, साहस र समर्पण आज पनि समुदायका लागि प्रेरणाको स्रोत बनेको वक्ताहरूले बताएका थिए।

यस अवसरमा इन्द्रावती क्रिएसन्स ले बीआरडब्लुएफ सदस्य, स्वयंसेवक तथा नेतृत्वकर्ताप्रति हार्दिक आभार व्यक्त गरेको छ। संस्थाले उनीहरूको अमूल्य योगदान र सेवाभावलाई समुदायले सधैं सम्मानपूर्वक स्मरण गर्ने विश्वास व्यक्त गरेको छ।

कार्यक्रममा समुदायप्रति पुर्याएको उल्लेखनीय योगदानको कदरस्वरूप देविका गजमेर, मेनुका नेपाल, इन्द्रावती राई, गरिमा अधिकारी तथा एम्बर सुब्बा लाई विशेष सम्मान गरिएको थियो। सम्मानित व्यक्तित्वहरूलाई समुदायका लागि गरेको दीर्घकालीन सेवा, नेतृत्व र समर्पणको उच्च मूल्यांकन गर्दै सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा सहभागीहरूले बीआरडब्लुएफले शरणार्थी शिविरका कठिन दिनहरूमा महिला तथा समग्र समुदायको जीवनस्तर सुधार गर्न खेलेको भूमिका इतिहासको महत्वपूर्ण अध्याय भएको उल्लेख गर्दै आगामी पुस्ताले पनि त्यस्तो सेवा, एकता र समर्पणबाट प्रेरणा लिनुपर्ने धारणा व्यक्त गरेका थिए।

पुनर्मिलन तथा सम्मान कार्यक्रमले विगतका सम्झनाहरूलाई मात्र पुनर्जीवित नगरी, विश्वभर छरिएर रहेका भुटानी शरणार्थी समुदायबीच आपसी सम्बन्ध, एकता र सामाजिक सद्भावलाई अझ सुदृढ बनाउने महत्वपूर्ण अवसरका रूपमा आफूलाई स्थापित गरेको सहभागीहरूको भनाइ थियो।












